मकवानपुर। राष्ट्रिय युवा कविता उत्सव–२०८१ अन्तरगत भएकाे खुला कविता प्रतियोगितामा संजोग बस्याल कास्की प्रथम भएकाे छ । मकवानपुरकाे हेटौंडामा शनिबार भएकाे खुला कविता प्रतियोगितामा बस्यालकाे ‘सावधान’ शिर्षककाे कविताले प्रथम स्थान हासिल गरेकाे हाे ।
प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित प्रतियोगितामा प्रथम भएका बस्यालले ४० हजार रुपैंयाकाे पुरस्कार प्राप्त गरे । यसैगरी प्रतियोगितामा कास्कीका कवि सुदर्शन पौडेलकाे कविता घर नफर्किएको छोराको सम्झनामाले द्वितीय भएकाे छ । पौडेलले ३० हजार रुपैंया हात पारे । उदयपुरकी सुमी पोखरेलकाे समयदर्शक यन्त्रको पर्दा नियाल्दा तृतीय भयो । कवि पोखरेल तृतीय हुँदै २० हजार रुपैंया हात पारिन् । प्रतियोगितामा कवि महेश कठायतले सान्त्वना पुरस्कार प्राप्त गरे । बझाङका कवि कठायतकाे देश शिर्षककाे कविता सान्त्वना हुदै १० हजार रुपैंया प्राप्त गरे ।
खुला कविता प्रतियोगिताकाे लागि देशभरबाट २ सय २३ कविता प्राप्त भएका थिए । प्राप्त कविता मध्ये मूल्याङ्कन समितिले उत्कृष्ट २० कविता छनोट गरि नामावली सार्वजनिक गरेकाे थियाे । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित राष्ट्रिय युवा कविता उत्सव २०८१ मा उत्कृष्ट २० वटा कविता स्वयं कवि उपस्थित भई वाचन गरिएकाे थियाे ।
उत्कृष्ट २० मा पर्न सफल कविता र कविहरूको नामावली वर्णानुक्रमानुसार प्रकाशन गरिएको थियाे । प्रतियोगितामा विजेता कवि तथा कविताका अलावाका उत्कृष्ट २० मा अग्रिमा शिवाकोटी मकवानपुरकाे रित्तिदैछ ‘देश’, अभिषेक ओझा बाराकाे ‘विसंवाद’, कुष्मा लौडारी मकवानपुरकाे ‘डिजिटल संसारको मायाजाल’, तारानाथ पराजुली पर्वतकाे ‘पागल प्रकृतिप्रेमीको बयान’, दीपिन सिंजापति दैलेखकाे ‘आकाङ्क्षा’, प्रदीप कोइराला तनहुँकाे ‘म’, बाबुराम श्रेष्ठ यात्री सिन्धुलीकाे ‘आमा, देश र माटो’, भरत थापा धनकुटाकाे ‘हर्कमाया दर्जी र झन्डाको व्यापार’, भीमप्रसाद खतिवडा अनुराग दोलखाकाे ‘जीवन एक पाठशाला’ शिर्षककाे कविता छानिएकाे थियाे ।
यसैगरी रञ्जिता अधिकारी धादिङकाे ‘परिवर्तन लेख्ने हातहरु’, राजु झल्लु प्रसाद धादिङकाे ‘खिया’, रुपा ढुङ्गेल मकवानपुरकाे ‘म शिक्षा मन्त्री भए’, सिजन श्रेष्ठ संखुवासभाकाे ‘उर्वशी’, सुन्दर शिरिष सिन्धुपाल्चोककाे ‘जहाज चढ्न मन छैन आमा’, सुबास सजल मकवानपुरकाे ‘डरलाग्दो अन्त्य मानव सभ्यताको’,सुमित्रा सुमी नुवाकाेटकाे ‘बुद्ध आऊ’ शिर्षकका कविता छनोटमा परेकाे थियाे ।
युवालाई उद्यम व्यवसाय गर्न प्रोत्साहित गर्नुपर्छः मन्त्री महर्जन
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्ने बताएका छन् । प्रदेश युवा परिषद्ले हेटौंडामा आयोजना गरेको ‘राष्ट्रिय युवा कविता उत्सव २०८१’ को उद्घाटन गर्दै मन्त्री महर्जनले यस्तो बताएका हुन् ।
युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप उपलब्ध गराउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनले बताए । ‘आफू खेलकुद क्षेत्रबाट आएकोले युवाहरुको भावना र मर्म बुझ्छु, विषयगत ज्ञान पनि छ तर, म मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको थियो जुन युवाका लागि पर्याप्त छैन’ उनले भने । हामीले युवाहरुको क्षेत्रमा उल्लेख्य काम गर्न सकिरहेका छैनौँ । फलस्वरुप युवाहरुलाई स्वदेशमा टिकाउनै मुस्किल भएकाे उनले जानकारी दिए ।
त्यसैगरी परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवाहरुलाई नेतृत्व, व्यक्तित्व विकाससँगै रचनात्मक, सिपमुलक तालिमसँग जोड्न सहयोग समन्वय गरिने बताए । उनले भने ‘सकारात्मक सोचसँगै कार्यसँग जनसंख्याकाे ४३ प्रतिशत युवा जनशक्तिलाई जोड्न सके विद्यमानमा रहेका धेरै समस्या समाधान हुनेछ ।’
कवि मोमिलाका एकल कविता वाचन
‘राष्ट्रिय युवा कविता उत्सव २०८१’ मा साहित्यकार मोमिला जोशीका कविता सुनिए । कवि मोमिलाले आफ्ना १० वटा कविता प्रस्तुत गरेकी थिइन् । कविले भाव समर्पण, प्रेम, पीडा, प्यास र पानी, सूर्य समय, एउटा लालीगुराँस हराएको बेला, मात्र एउटा हाँगा काटिने, दोभन प्रहारबाट, नगरबधुको वक्तव्य, हिउँदको प्रथम वर्षात्, उकालोमा मेरो तस्बिर, तिमी र म, भीमसेन थापाको सुसाइड नोट शिर्षकको कविता सुनाएकी थिइन् ।
राष्ट्रिय युवा कविता उत्सवका अवसरमा पुस्तक प्रदर्शनी समेत गरिएको थियाे । किताबघर हेटौंडाले पुस्तक प्रदर्शनीकाे व्यवस्थापन गरेकाे थियाे ।

