प्रजनन स्वास्थ्यकालागि पत्रकार महासंघ मकवानपुरद्वारा कोष स्थापना
Tags: No Comments
मकवानपुर । पत्रकारिता क्षेत्रमा संलग्न पत्रकार महिलाहरुको लागि नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोष सुरु गरेको छ । महासंघले बिहीबारबाट औपचारिक रूपमा यो कार्यको शुभारम्भ गरेको हो।
महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य उपचार र सुरक्षित सुत्केरी प्रवर्द्धनका लागि सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषको हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो । कोषका लागि उपमहानगरपालिकाले ५ लाख रुपैयाँ अनुदान व्यवस्था गरेसँगै कोषको शुभारम्भ गरिएको हो ।
नगर प्रमुख लामाले महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरीका लागि महासंघले यस्तो कोष स्थापना गर्नु प्रशंसनीय भएको बताइन् । उनले उपमहानगर महिलाको विषयमा निकै संवेदनशील रहेको उल्लेख गर्दै यो कोषले महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । उनले कार्यक्रमकैबीच कोषमा व्यक्तिगत रुपमासमेत १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिन् ।
यसैगरी उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले महिला पत्रकारहरूका लागि यो कोष सञ्चालन गर्नु ऐतिहासिक कदम भएको धारणा राखे । राज्यले महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको सन्दर्भलाई जोड्दै उनले उपमहानगरपालिका पत्रकारका सबै खालको हितमा सहयोग गर्न सधैं तयार रहेको बताए । उपप्रमुख बानियाँले पनि व्यक्तिगत तर्फबाट कोषमा १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
त्यसैगरी, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र ब्रोडकस्टिङ एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईंले पनि कोषमा १०/१० हजार रुपैयाँ सहयोगको घोषणा गरे । कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट र पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष सम्झना कार्कीले २/२ हजार रुपैयाँ सहयोग गरे ।
यसका साथै महासंघ मकवानपुर शाखाको कार्यसमितिबाट ११ हजार संकलन गरी कोषमा राखिएको छ । कोषले मकवानपुरका महिला पत्रकारहरूको प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ मकवानपुरको तर्फबाट पत्रकार महासंघका लागि महिनावरी प्याड, सुत्केरी महिला पत्रकारका लागि खाद्य सामग्री प्रदान गरिएको थियो । सहयोगी मन नेपालले पनि महासंघलाई ब्लड प्रेस नाप्ने उपकरण सहयोग गर्नुका साथै प्रत्यक सुत्केरी पत्रकारलाई ५ लिटर तेल सहयोग गर्ने घोषणा गरेको छ ।
साथै महासंघले बिहीबार तीज विशेष कार्यक्रम समेत आयोजना गरेको अध्यक्ष बालकृष्ण अधिकारीले बताए ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक ताराप्रसाद पाण्डेले वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) र लेखा परीक्षण ऐन, २०७५ को दफा १९ को उपदफा (४) बमोजिम महालेखापरीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०८०/०८१ को आर्थिक कारोबारको लेखापरीक्षण गरी तयार गरिएको बागमती प्रदेशको “सातौं वार्षिक प्रतिवेदन, २०८२” पेश गरेका हुन् ।
नेपालको संविधानको धारा २४१ र लेखापरीक्षण ऐन, २०७५ मा संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय, पूर्ण स्वामित्व भएका संगठित संस्था वा निकायको लेखा कानुनवमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी महालेखापरीक्षकवाट लेखापरीक्षण हुने व्यवस्था छ ।
प्रतिवेदनमा एकीकृत वित्तीय विवरणमा राय, लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणमा देखिएका बेरुजुको स्थिति, लेखापरीक्षणबाट देखिएका प्रमुख व्यहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति र भविष्यमा गर्नुपर्ने सुधार समावेश गरिएको महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक पाण्डेले बताए ।
यस वर्ष सूचकका आधारमा जोखिम विश्लेषण गरी निकायहरूलाई उच्च र न्यून जोखिममा वर्गीकरण गरिएको पाण्डेले बताए। उनका अनुसार उच्च जोखिमयुक्त निकायको विस्तृतरूपमा स्थलगत र न्यून जोखिमयुक्त निकायको प्रमाणित वित्तीय प्रतिवेदन र आन्तरिक लेखापरीक्षण प्रतिवेदनका आधारमा लेखापरीक्षण गरिएको छ ।
यो वर्ष प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेश सरकारका मन्त्रालय र मातहतका सरकारी कार्यालय तथा समिति र अन्य संस्थासमेत २१४ निकायको ८२ अर्ब ८२ करोड ३५ ताख ८१ हजारको लेखापरीक्षण सम्पन्न भई ८५ करोड १७ लाख ८२ हजार बेरुजु कायम भएको छ पाण्डेले बताए । कुल लेखापरीक्षण अंकको तुलनामा बेरुजु १.० ३ प्रतिशत रहेको छ ।
‘अञ्जिला’ दुःख, संघर्षसँगै सफलताकाे कथा
Tags: No Comments
महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनका आरोह अवरोहमा आधारित नेपाली चलचित्र हो ‘अञ्जिला’ । गत २९ फागुन फागु पूर्णिमाकाे दिन बिहीबारबाट देश भर प्रदर्शनमा आएको छ । ४ चैत्र शुक्रबार, २०७८ मा राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर फिल्म ‘अञ्जिला’ बनाउने घोषणा गरिएको थियाे ।
फिल्मकाे शीर्ष भूमिकामा एञ्जिला आफैले अभिनय गरेकी छिन् । उनीसँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठलगायत कलाकारको जिवन्त अभिनय छ । फिल्मले दुर्गम जन्मथलोबाट व्यवसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी काठमाडौं आएकाे तथा संघर्षपूर्ण कथा चित्रण छ । केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा प्रेमकुमार श्रेष्ठ र केन्द्र लिम्बू निर्माता छन् ।
अञ्जिलामा एउटा वियोगान्तक गित समावेश छ । रात किन हुन्छ हुजुर दिन किन हुन्छ? थाहा छैन जिन्दगी कठिन हुन्छ…. । यस गीतकाे भावले फिल्मकाे कथाका वियोगान्तक क्षणलाई एकै पटक बाेलेकाे झैं लाग्छ । फुटबलर एन्जिलाकाे कथालाई निर्देशक मिलनले पर्दामा उतार्ने जमर्काे गरे । सफलता भित्र दुःख र वेदना अझ बढी सशक्त भएर आएकाे छ । जसकाे प्रभाव फिल्मकाे सुरुदेखि अन्त्यसम्म छाइ रहन्छ । त्यसो त मिलनले निर्देशन गरेका प्रायः फिल्मले दर्शककाे मनबाट टाढा जादैनन् । मन छुन्छन् ।
खेलकुदमा हुने भनेकाे हार र जितकाे दुई पाटाे मात्रै हाे । बाँकी अभाव र दुःखका कथा यस्ता हुन्छन्, जो देखिदैनन्, कतै लेखिदैनन् भनिए पनि सुनिदैंन । जब दुःख र अभावले सफलताकाे बाटो पहिल्याउँछ त्यस्ले बढी महत्व पाउँछ जीवनमा छुन्छ पनि । अञ्जिलामा दुःख अभाव संघर्ष र सफलतालाई एकैसाथ प्रस्तुत गरेर मन जितेका छन् ।
कथा यसरी अगाडी बढेकाे छ
यो कथा एउटा सफल फुटबलरको हो । त्यो भन्दा बढी उनकाे वेदनाकाे दुःखकाे । साथमा उनीसँगै पिडा र दुःखमा छिन उनकाे आमा । कथाका पात्र अञ्जिला जो निरन्तर डटिरहन्छिन, खटिरहिन्छिन कर्मसंग सफलताकाे लागि, फुटबलर बन्ने सपनासँगै । रत लखेटिइरहिन् केही थान प्रश्नसँग ।
मनमै गाठाे परेर बसेकाे दुःखका कथाको सुरुवात उनको बाल्यकालबाट गरिएकाे छ । पाँचथर घर भएका अञ्जिलाका बुवा फौजी हुन्छन् । डुलिरहने पल्टने नियतिले उनलाई जिल्लाकै विकट क्षेत्र फाक्तेब पुर्याउँछ । जहाँ उनको भेट अञ्जिलाको आमासँग हुन्छ । दुवै जना छोटो समयमा एक अर्काको प्रेम परेपछि दुवैले भागी बिवाह गर्छन् । दोस्रो सन्तानको रुपमा अञ्जिलाको जन्म त्यही फाक्तेबमा हुन्छ । लगत्तै उनका बुवाले र ईलाम झर्ने निर्णय लिन्छन् । इलाम रहँदै एन्जिला स्थानीय स्कुलमा पढ्दै टालोकाे बल बनाएर साथीहरुसँग खेल्दै आफ्नाे फुटबलर बन्ने इच्छा जताउन थाल्छिन् । अञ्जिलाकाे आमा भाडा घरमा पसलमा चलाउँछिन् । गाउँकै अर्काे पुरुषले अञ्जिलाकाे खेल प्रेम देखेर जुत्ता ल्याइदिन्छन् ।
एक दिन लडेर खुट्टामा चोट आएपछि ती पुरुष पात्रकाे सहयोगमा अस्पताल पुर्याइन्छ । अस्पतालमा २ दिन बसेर घर फर्किन नपाउँदै ती पुरुष पात्रकाे श्रीमतिकाे कुरमा लागेर अञ्जिलाकाे बुबाले आमालाई आरोप लगाउँछन् । झगडा मिलाउन बसेकाे पञ्चायतमा समेत निकास ननिस्किए पछि ती पुरुष पात्रले अञ्जलीलाई बाेकेर अघि लाग्छन् । अनी अञ्जिलाकाे आमा दाजुलाई डाेर्याएर उनकाे पछि लाग्छन् ।
अञ्जिलाकाे बुबाले अर्काे श्रीमति ल्याए पछि बुबाले घर छाेडेर निस्कन्छन् । आफ्नै बाबुकाे तेसपछि अत्तोपत्तो हुँदैन । यता अस्पताल पुर्याउने पात्रकाे घरमा पछि लागेर गएका अञ्जिलाका आमा र उनीहरुले दुःख पाउन छोड्दैनन् । गोल खेल्न नदिने यि बुबाले समेत अनेक गर्छन् । घरमा थाहै नदिई गेममा छनौट हुदाँ भएकाे खुसी जव स्कुलमा शिक्षकले परीक्षा फि समेत बुझाउन र नबुझाएर परीक्षा दिन नपाउने र फुटबलमा भाग लिन नपाउने भन्छन् अनि इच्छा मार्ने निधाेमा पुग्छन् । खेल्दै गरेकाे बुट लगाउने जर्सी समेत आगोमा जलाउँदा उनले करिब हार खाइसकेकी हुन्छिन् ।
आमाकाे सपना छोरीलाई ठुलो मान्छे भएकाे हेर्ने रहर समेत रहरै हुने हाे की भनेर एक साझँ छोरीलाई काठमाडौं टाढाकाे साइनाे पर्ने दिदीकाे घरमा पठाउने सुनाउँदा उनलाई इच्छा पुरा हुने आश पलाउँछ । तर जब उनी काठमाडौं भनेकाे स्थानमा पुग्छन् उनकाे फुटबलर वन्ने सपनालाई सबैले खिसी मात्रै गर्दैन हासोकाे पात्र बनाउँछन् । त्यहाँ पनि आफ्नो सपना पुरा नहुने देखेपछि ओतलागेकाे घर छाेडेर इलाम निसक्ने बाहानामा सडकमा निस्किन्छन् ।
त्यसपछि र त्यस अघि अञ्जिलाले के के गर्छिन् कति दुःख पाउँछिन र संघर्ष गर्छिन् र सफलता हात पार्छिन त्याे थाहा पाउन अञ्जिला फिल्म हेर्नै पर्छ ।
फिल्मले के सन्देश दिन्छ?
फिल्ममा प्रशंगबस आउने केही सस्ता वाक्यले दिक्क बनाउँदैन । विकट गाउँघरमा अझै पनि खेलकुद प्राथमिकता पर्दैन । परे पनि कतिपय अभिभावकले नखेल्न दवाव नै दिन्छन् । खेल खेलेर केही दुर्घटना भइहाल्यो भने जिन्दगी बर्बाद हुने उनीहरुकाे तर्कलाई सन्तान प्रतिकाे ममताकाे रुपमा देखाइएकाे छ । तर सन्तानकाे वेहद इच्छालाई बुझ्ने आमाकाे खासै भूमिका परिवारमा नहुँदा आइपर्ने समस्या फिल्ममा देख्न सकिन्छ ।
फिल्म हेरिरहँदा कहि कतै दिक्क लाग्दैन । कथामा आफैं बगेजस्तो लाग्छ, अभाव झेलेर हुर्किएकाहरुले आफ्नै जिवनसँग मेल खाएकाे सम्झन्छन् । अझ त्यस्तै प्रकृतिकाे दुःख संघर्ष गरेर आएका छौं भने कथासँगै आखाँ भिजेकाे थाहै पाइदैन। कतै दुःखका दृष्यमा कतै सफलताकाे दृश्यहरुमा ।
फिल्ममा आमाले अञ्जिलालाई काठमाडौं पठाउनु अघि केही प्रतियाेगितामा भाग लिएर उत्कृष्ट प्रदर्शन गरिएकाे, त्यो अवसरका कथामा समेटिएर आएकाे छैन् । फिल्मलाई अञ्जिलाकाे जीवनमा आधारित रहेर बनाइएकाे भए पनि पटकथालाई अली फरक ढंगले प्रस्तुत गरिएकाे छ ।
महिलाले केही गर्न सक्छन् भन्ने देखाउन खाेजिएकाे छ । आमाकाे हौसला र आत्मबलले आफ्नाे लक्ष्य भेट्न सकिने सन्देश समेत दिएकाे छ । आमाले गरेको बलिदान, त्याग र समर्पणलाई निर्देशकले मिहिन ढंगले उतार्न सफल भएका छन् । गाउँघरमा पुरुष र महिलाकाे समान हैसियत नहुँदा परिवारमा पर्ने पिडालाई मिहिन ढंगले केलाइएकाे छ । जब सफलता मिल्छ तब खुसी आफैं प्राप्त हुने सत्यलाई समेत कथमा लुकाइएकाे छैन ।
फिल्ममा उनकाे जीवनमा आधारित रहेर कथा बनाइएकाे छ । सबै जीवनी फिल्ममा उतार्न सकिदैन् पनि । कथाले कतिपय व्यक्तिगत कुरालाई नछोएकै राम्राे मानेका छन् कथाकार र निर्देशकले यस्तै बुझ्न सकिन्छ । तर घरायसी समस्याका बावजुत उनले फुटबलकाे लागि गरेकाे संघर्षले फिल्मकाे कथालाई अब्बल बनाएकाे छ ।
एन्जिलाकै गृहजिल्ला इलामकाे आइतबारे, झापा र काठमाडौंमा फिल्मको छायांकन गरिएको छ । खेलाडीका लागि मात्रै नभएर विविध कारणले आफ्ना सपना पुरा नहुनेहरुले यो फिल्म हेर्नै पर्छ । दुुखःका पहाड जत्रो भए पनि छिचोल्ने आफैंले हो । संघर्षको मैदानमा लड्ने हो भाग्ने होइन । मेहेनत, धैर्यता र इच्छाशक्ति भए जीवनको जस्तोसुकै परिस्थितिको सामना गर्न सकिन्छ भन्ने अञ्जिलाबाट लिन सकिन्छ ।
फिल्म केबल मनोरञ्जनकाे लागि मात्रै होइन् फिल्मका कथाबाट केही बुझ्न र सिक्न सकियो भने त्याे फिल्मकाे सफलता हाे । यो अञ्जिलामा पाउन सकिन्छ ।
मकवानपुर । वर्षौदेखि जग्गाको पुर्जा माग गर्दै आएका मकवानपुर मनहरी ४ का वनकरिया समुदायले सरकारसँग आफूहरु थाकेको गुनसो गरेका छन् । वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले वनकरिया जाति भूमी पुजक भएर पनि जग्गा नपाएपछि सरकारसँग संघर्ष गर्दागर्दै थाकेको बताइन् ।
२०६२ सालमा २० बर्षको लागि दिइएको कागजको समय २०८२ बैशाखमा सकिदै छ । त्यसपछि आफूहरुको वासस्थान कहाँ भन्ने टुङ्गो नभएपछि उनीहरुमा निराशा सँगै आक्रोशित छन् । “वनले हामीलाई पक्कै हटाउँछ, अनि हामी कहाँ जाने ?” सन्तोषिले भनिन् ।
“मैले साबुन उत्पादन गर्ने सीप सिकेको थिएँ । जानेको सीपको प्रयोग गरेर व्यवसायी बनौं न त भन्दा लालपुर्जा नभएर प्यान दर्ता गर्न पाइनँ” उनले भनिन् । व्यवसाय दर्ता गर्न नपाएपछि काम नै तीन महिना रोकिएको उनले बताइन् । स्थानीय वडाध्यक्ष प्रकाश थापाले आफ्नो जग्गा राखेर उद्योग दर्ता गर्ने वातावरण मिलाइदिएपछि उनले उद्योग दर्ता गरेर काम गर्दै आएकी छिन्। “सधैं हामी यसरी नै कतिञ्जेल चल्ने ?” उनले प्रश्न गरिन् ।
स्थानीय संगिता वनकरियाले आफ्नो समुदायको लागि भत्ता होइन,जग्गा र रोजगारी चाहिएको बताइन्। जग्गाको पुर्जा र रोजगारी भए सरकारले आफूहरुलाई भत्ता नदिएपनि त्यो भन्दा बढी हुने उनले बताइन् । “सरकारले बालबालिकालाई १० कक्षासम्म निःशुल्क पढाइदिएको छ भन्छन्, तर हाम्रो बालबालिकाको महिनैपिच्छे शुल्क बुझाइरहेका छौं” उनले भनिन् “यसको लागि हामीले कस्लाई भन्नुपर्ने हो ?” महिनाको ४ हजार रुपैंया भत्ता ३÷३ महिनाको अन्तरमा प्राप्त हुदाँ त्यसले उपचार गर्न, खान र बालबच्चा पढाउन निकै समस्या भएको उनले बताइन् ।
यसैगरी स्थानीय राम वनकरियाले आफूहरु बसोबास गर्ने स्थानमा बाटोको पनि असुविधा रहेको बताए । बाटो पनि छैन । बर्षामा खोलाको बाटो हिड्नै सकिदैनँ, बालबालिकाहरुलाई विद्यालय पुग्न मुस्किल छ, भएको कच्चीबाटोमा बर्षभरी गाडि चल्ने व्यवस्था मिलाइदिन पर्यो” उनले भने “स्थानीय सरकार र प्रदेश सरकारले हाम्रो समस्यामा पनि ध्यान दिनुपर्यो।”
यस्तै अर्का स्थानीय बिष्णुबहादु प्रजाले विद्यालय टाढा रहेको कारण वनकरिया बालबालिकाहरुको पढाइ छुट्ने गरेको बताए । “निकुञ्जका कारण बस्न पनि निकै समस्या भइरहेको उनले बताए । आर्मीहरु घर घेर्न आउँछन्, यो समस्याबाट हामीले कहिले मुक्ति पाउने ?” उनले भने ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापमा रहेको वनकरिया वस्तिमा संवादको लागि पुगेका प्रदेश सभा सदस्यसँग उनीहरुले आफूहरुको पीडा सरकारले वर्षौदेखि सम्बोधन नगरेको गुनासो गरे ।
बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापती आनन्द कुमार श्रेष्ठ, पूर्व मन्त्री तथा बागमती प्रदेशसभाका सदस्य कुमारी मुक्तान, प्रदेशसभाका सदस्यहरु समिता खड्गी, सुना परियार, गिरबहादुर तामाङले उनीहरुको समस्या सुनेका थिए । समस्या सुनेर मात्रै फर्कने नभइ समाधानको पहल आफूहरुले गर्ने आश्वासन दिएका छन् ।
कार्यक्रममा युएनडिपिका नीति तथा कार्यक्रम समर्थन व्युरो उपसहायक प्रशाशक र उपनिर्देशक डाक्टर फ्रान्सिन पिकअपले
वनकरिया समुदायका समस्याहरु सांसदहरु र आफुले बुझेको बताए । अब नीति निर्माण तहमा काम गर्नेमा आफूले विश्वास लिएको बताए ।
लोपोन्मुख जाती वनकारिया समुदायको समस्याका बिषयमा बागमती प्रदेश सभा र प्रदेश सभाको समिति मार्फत समाधान गर्ने प्रतिवद्धता जनाइएको छ । वनकरिया समुदायका विविध सवालहरुमा जनप्रतिनिधि र जनताबीच अन्तरसंवाद कार्यक्रममा सहभागी प्रदेश सांसदहरुले
वनकरिया समुदायको न्यायका लागि पहलकदमी चाल्ने प्रतिवद्धता गरेका छन् ।
निकुञ्ज क्षेत्रको जमिनमा बसोबास गर्दै आएका वनकरिया समुदायलाई जग्गा धनी पुर्जा उपलब्ध गराइदिन गरेका उनीहरुको मागको सम्बोधन गर्दै प्रदेश सभा सांसद तथा प्रदेश समितिका सभापति र सदस्यहरुले उनीहरुको न्यायका लागि सदन र समितिमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
सभापति आनन्द श्रेष्ठले वनकरियाबीचमा आफू पहिलो पटक उपस्थित भएको बताउँदै उनीहरुको न्यानको लागि आफूले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने बताए।वनकरिया समुदायको हक अधिकारको लागि सम्वन्धित क्षेत्रको जनप्रतिनिधि नै सक्रिय हुनुपर्ने बताए ।
“प्रदेश सभाको समितिको तर्फबाट गर्नुपर्ने कामलाई हामीले हेरिहरेका छौ” उनले भनें । यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य तथा प्रदेशको पूर्व मन्त्री कुमारी मोक्तानले यस बस्तीमा यो भन्दा धेरै समस्या रहेको स्मरण गरिन् ।
यस समुदायमा यो भन्दा पहिला धेरै समस्या थियो, उनले भनिन् “पछिल्लो समय वनकरियालाई विभिन्न सेवा सुविधाहरु उपलब्ध गराएको छ, जग्गा प्राप्तीको लागि पनि निकै प्रयत्न गरिरहेको छ,प्रदेश सरकारले जमिनको बिषयमा बोल्न सक्छ ।” तर संघको अधिनमा भएकोले अपनत्व लिन नसकिने उनले बताइन् ।
यता, सार्वजनिक लेखा समिति सदस्य गिर बहादुर तामाङले वनरिया बस्तीको संरक्षण र अधिकारको लागि आफ्नो समितिमा आवाज उठाउँने र सदनबाट कानुन बनाउने बताइन् । अर्थ समितिकी सदस्य सुना परियारले वनरिया समुदायको पीडा सुनेको भन्दा आफनै आँखाले देख्दा निकै दुखदायी रहेको बताइन्।
यसअघि वनकरिया जातीको बिषयमा सदन र समितिमा कहिल्यै अवाज नउठाएको स्वीकार गर्दै उनले भनिन् “यसअघि यसरी बुझ्ने मौका पाइएको थिएन,अब वनकरियाको दुख बुझ्ने मौका पायौ, पक्कै पनि सदनमा कुरा उठाउनेछु ।” यस्तै, शिक्षा स्वास्थ्य तथा कृषि समिति सदस्य समिता खड्कीले वनकरिया समुदायका हितका लागि यसअघि केही नगरे पनि आगामी दिनमा यस समुदायको अधिकारको लागि सधैं आवाज उठाउने बताइन् ।
मकवानपुरगढी सञ्चार प्रा.लि. हेटौंडा २ को आयोजना, नर्बेजियन दुतावास काठमाडौं तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को सहकार्यमा वनकरिया समुदायका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसम्वाद कार्यक्रम गरिएको हो ।
मकवानपुर । ३४ वर्षीया शरिस्मा बिश्वकर्माको दैनिकी एकाएक फेरिएको छ । झण्डै आधा दशक जापान बसेर नेपाल फर्केकी शरिस्मा अहिले चटपटे पसलमा रमाएकी छिन् ।
मकवानपुर जिल्ला मनहरी गाउँपालिका ३ हाँडीखोला घर भएकी उनी हेटौंडा ४ मा सटर भाडामा लिएर चटपटे, पानी पुरी र चिया बेच्छिन् । केही बाध्यता केही खुसी, धेरै भोगाइ, केही सिकाइले भरिएको छ उनको जीवन । जीवनको ३ दशक बित्न नपाउँदै उनी एकल महिला महिला भएकी छिन् ।
उनको साथमा छिन् ८ वर्षीया छोरी । श्रीमानसँगको खटपटकै कारण उनले सपनाको शहर जापानको बसाइ छोड्नु पर्यो । पारिवारीक सम्बन्ध बलियो बनाउन नेपाल आएइन् तर सम्बन्ध बलियो बनेन, बरु सदाको लागि टुट्यो । सम्बन्ध टुटे पनि उनले हिम्मत टुटाइनन्, र सुरु गरिन् सानो लगानीको पसल । जसले आज शरिस्मालाई बाच्ने आधार खडा गरेको छ ।
सन् २०१७ मा जापान गएकी शरिस्माले उतै रहदा नेपाली केटासँग विवाह गरिन, विवाहको २ वर्षपछि छोरीलाई जन्म दिइन ।
तर, श्रीमानसँगको सम्बन्ध सदाझै प्रेमिल भएन । अर्कोको देशमा खटपट बैवाहिक सम्बन्धमा रहन समस्या भएपछि उनीहरु डेढवर्षको अन्तरालमा नेपाल फर्किए । पछिल्लो समय श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी उनीले सानो लगानीमा ठुलो खुसी खोजिरहेकी छिन् । “जापानमा कमाएको केही पैसा श्रीमानको परिवारमा फस्यो, केही अन्य व्यापारमा फस्यो, अब यहाँ सानो लगानी गरेको छु, राम्रै छ” उनी भन्छिन् “सानो लगानी गर्दा, फसियो भने पनि थोरै पैसा फस्छ, मलाई यसमा राम्रै बचत बसेको पनि छ ।”
सुरुमा उनले यहाँ चिया, बिस्कुट, चाउचाउ राखेकी थिइन् । सत्यको धर्म सत्य टिकाउनुमा हुन्छ भनेझै उनले आफ्नो पसललाई व्यवस्थित बनाउन अर्को अवसर पाइन, व्यवसायिक तालिम लिने । हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशनको आयोजनामा भएको व्यवसायिक तालिममा उनी सहभागी भइन् ।
जहाँ उनले आफ्नो व्यवसायिक सफलता पाउनको लागि धेरै टिप्सहरु पाइन् । “त्यसपछि मैले यहाँ खाजामा चटपटे, पानी पुरी पनि थप गरेकी हुँ” उनी भन्छिन् “माग बुझेर काम गर्दा सफल हुने रहेछ ।” उनी अहिले एक पटकमा १०/१२ हजारको सामग्री राख्छिन् । उनी भन्छिन् “पसलबाट सन्तोषजनक नै बचत छ ।”
भनिन्छ “समस्या एक्लै आउँदैन, यसले समाधान पनि सँगै ल्याएकै हुन्छ, बस पहिचान गर्ने क्षमतामा भर पर्छ ।” अहिले आर्थिक मन्दीको मारमा परेको चर्चा सर्वत्र सुनिन्छ । कतिपय अवस्थामा व्यक्तिहरुले डिप्रेसन तथा आत्महत्याका कारणलाई समेत आर्थिक मन्दीकै कारण जोड्ने गरिन्छ । तर यसबारे यथार्थ खोज तथा अनुसन्धान भएको छैन ।
आर्थिक मन्दीको मारमा पनि त जीवन धान्न पर्यो, बालबालिका पढाउँनै पर्यो, समस्यासँग भागेर जीवन रहन्न । युवा पुस्तामा निराशा बढ्दै गर्दा मकवानपुरका केही युवाहरु निशारालाई फालेर उद्यममा लागेका छन् । उद्यमको लागि ठुलै लगानी र तडक भडक पनि चाहिदैन भन्ने सुझबुझ देखिन्छ उनीहरुमा ।
सानो लगानीबाट पर्याप्त आन्दानी गर्न सकिन्छ भन्ने अर्को उदाहरणीय पात्र हुन् हेटौंडा १२ कि ४५ वर्षीया लक्ष्मी लामा । आर्थिक अभावको कारण आफ्नो परिवार धान्न धौ धौ थियो । श्रीमान्को मृत्युपछि सबै जिम्मेवारी आफ्नो एकल काँधमा पर्यो, उनी पनि शरिस्मासँगै हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशनको तालिममा सहभागी भइन् । यसबाट मासिक १५ देखि १७ हजारसम्म बचत बस्ने गरेको उनी बताउँछिन् । “टोलमा बस्ति पातलो छ, बजारजस्तो भएको भए धेरै गर्न सकिन्थ्यो होला” उनी भन्छिन । लक्ष्मीले आफ्नो घर नजिकैको स्कुलमा क्यान्टिन पनि सञ्चालन गर्छिन । तर, त्यहाँबाट आफूलार्ई दुख गरेजस्तो आम्दानी नभएको उनी बताउँछिन् ।
चटपटे पसलको लागि उनी सबै सामग्री घरैमा जुटाउँछिन् । “पसलबाट अखाद्य सामग्री राखेर बनायो भने विक्री पनि हुँदैन, धेरै जसो सामग्री आफैंले बनाउँछु” उनी भन्छिन् “आफ्नै तोरीको छोप, बारीको बन्दा, खुर्सानी, केराउलगायत सामग्री आफैं बनाउँछिन् । “सुरुमा त मैले ३ हजार लगानी गरेको हो” लक्ष्मी भन्छिन् “आफ्नो लगानी अनुसार धेरै राम्रो फाइदा छ, अब स्कुलको क्यान्टिन पनि छाडेर यसैलाई बढी समय दिने बारे सोच्दैछु ।”
हेटौंडा १९ सान्ननिटारकी २९ वर्षिया रश्मी गौतमलाई अब बाँच्ने रहर जागेको छ । जीवनको २ दश पार गर्दैगर्दा श्रीमानबाट एक्लिएकी उनी एक छोराकी आमा समेत हुन् । उनको देब्रे हात राम्रोसँग चल्दैन । श्रीमानले अर्को विवाह गरेपछि जीवनसँगै निराश थिइन् ।
“आफूखुसी विवाह गरें, श्रीमानबाट पनि विवाह गरेको २ वर्षपछि नै धोका भयो, माइतीले साथ नदिएको भए र आफूलाई व्यवसायिक सिपको लागि उर्जा नपाएको भए म कहाँ हुन्थे होला” उनी भन्छिन् “केही गरेर बाचुँ भन्ने उत्साह सानो व्यवसायले दिएको छ ।”
लक्ष्मी र शरिस्मा जस्तै उनी पनि अहिले आफ्नै घरमा चटपटे, पानीपुरीको व्यवसाय गरेर छोराको लागि पढाइ खर्च जुटाइरहेकी छिन् । “बस्ति पातलो छ,धेरै व्यापार त हुँदैन तर मलाई यहीबाट केही गर्न सक्छु भन्ने लागेको छ, विस्तारै होला ।” उनले १३ हजार लगानीमा चटपटे पसल सुरु गरेकी हुन् । जहाँ उनले दैनिक १ हजार ३ सय रुपैयासम्मको चटपटे बेच्छिन् । “यतिञ्जेल अरुको खुसीको लागि आफ्नो ख्याल गरिन्, न्यायको लागि लड्दै समय गयो, अब आफ्नै खुसीको लागि सोच्छु, पसलबाट खुसी छु” रश्मी भन्छिन् । विवाह भएको नौ वर्षसम्म न विहे दर्ता गर्न सकिन् न त नागरिकता नै बनाउन सकिन् । नागरिकता नभएका कारण कुनै दर्तावाल व्यवसाय गर्न पाएकी छैनन् ।
हेटौंडा ३ बसामाडी कि ३९ वर्षीया मिरा गौतमले पनि घरमा चटपटे र फलफूलको व्यापार सुरु गरेकी छिन् । फलफूलमा पनि केरामा उनको प्राथमिकतामा छ । दैनिक ५ देखि ९ सयसम्मको व्यापार गर्छिन । “काँचो केरा ल्याएर आफैं पकाउँछु, बेच्दा राम्रो नाफा बस्छ” उनले भनिन् “लगानी धेरै चाहिदैन, नाफा बसेकै छ ।”
युवाहरु स्वदेशमा बाँच्नै नसकिने भन्दै विदेशीने क्रम जारी छ, तर सानो सानो लगानीमा पनि जीवनमा सफलता पाउन सकिन्छ भन्ने उदाहरण हुन् यि युवाहरु । बागमती प्रदेशको युवालाई स्वरोगार बनाउने लक्ष्यका साथ प्रदेश युवा परिषदले विभिन्न सिपमुलक तालिम दिंदै आएको छ । जसलाई तालिम पछि व्यवहारमा समेत उतार्ने हो भने जीवनको गुजारा चल्ने मात्रै हैन, व्यवसायिक सफलता पाउन सकिने परिषदमा कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई बताउँछन् ।
चौलागाईका अनुसार हरेक युवा सिप युक्त, युवा बनाउने लक्ष्यका साथ बागमती प्रदेश युवा परिषदले गत आर्थिक वर्षमामात्रै ५ हजार युवालाई स्वरोजगार बनाउने तालिम दिएको छ । “सिप सिक्ने, स्वरोगार बन्ने स्वावलम्वी बन्ने अभियान चलाएको हौं, साथै सिप परीक्षण गर्ने र सिपको व्यवसायिक सुनिश्चितता गर्ने समेतको काममा हामीले सहयोग गर्दै आएका छौं” कार्र्यकारी उपाध्यक्ष चौलागाईले भने ।
शरिस्मा, रश्मी, मिराहरु यस्तो तालिमका उत्पादन हुन् । जो रोजगारीको लागि भौतारीएका छैनन्, सानो लगानीबाट परिवार राम्रौ हाँकेका छन् ।
स्थानीय सरकारलगायत विभिन्न निकायहरुले विभिन्न सिपको तालिम दिन्छन, तर तालिमले मात्रै व्यवसायको मेलोमेसो नपाउने धेरै छन् । “हामीले उक्त तालिमको सिपलाई कसरी दैनानुदिन व्यवसाय सञ्चालनमा उतार्ने भन्ने पनि सिकाउँछौ” हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशन कोषध्यक्ष स्वस्तिका बानियाँ भन्छिन् । “समय, लगानी र नाफाको हिसाब मिलाएर काम गर्न व्यवसायिक योजनाको कुराहरु सिकाउँदा उहाँहरुलाई काममा सहजता र राम्रो उपलब्धि हुने रहेछ” बानियाँले भनिन् ।
साना व्यवसाय भन्ने वित्तिकै धेरैजसोले चटपटे,पानीपुरीजस्ता व्यवसाय रोजेको भेटिएपछि आफूहरुले त्यो खाजालाई स्वास्थकर बनाउनको लागि पनि सिप सिकाउने गरेको बानियाँ बताउँछिन् । चटपटे, पानी पुरी जस्तो खाजामा हाइजेनिक बनाउनको लागि चुक अमिलोको सट्टामा गाउँघरमै पाइने इमिलीको अचार, फ्रेस कागती राख्ने, बन्दा, काँक्रो, चना, टमाटर, मुला, गाजार राखेर हाइजेनिक बनाउनको लागि आफूहरुले सुझाव दिने गरेको उनी बताउँछिन् । “अजिनो मोटा त खानै हुदैन, चाउचाउ पनि विस्तारै हटाउँदै जान प्रेरित गर्ने गरेका छौ, ति अखाद्य कुराहरु राखेर मात्रै स्वाद मिठो हुने हैन, हाइजेनिक खाजा पाउने भएपछि व्यापार उसै बढ्छ” उनले भनिन् ।
सिप सिकाएर आत्मानिर्भर बनाउने काममा हेडम्वा डेभलवमेन्टले प्रदेश युवा परिषदसँग समन्वय गर्दै आएको छ । यसै अन्तरगत २० जनालाई काठको ठेकी बनाउने तालिम र ४० जना थोरै लगानीमा सञ्चालन गर्न सकिने साना व्यवसाय प्रवद्धनको लागि सिप विकास तालिम प्रदान गरेको बानियाँले बताइन् । उनीहरु सबैजना सिपलाई जीउने आधारको रुपमा प्रयोग गरिरहेका छन् । आर्थिक रुपमा पछाडी परेकाहरुलाई व्यवसायिक सिप सिकाएर आत्मानिर्भर बनाउने युवा परिषदको समेत लक्ष्य रहको चौलागाईंले बताए ।