मकवानपुर । ३४ वर्षीया शरिस्मा बिश्वकर्माको दैनिकी एकाएक फेरिएको छ । झण्डै आधा दशक जापान बसेर नेपाल फर्केकी शरिस्मा अहिले चटपटे पसलमा रमाएकी छिन् ।
मकवानपुर जिल्ला मनहरी गाउँपालिका ३ हाँडीखोला घर भएकी उनी हेटौंडा ४ मा सटर भाडामा लिएर चटपटे, पानी पुरी र चिया बेच्छिन् । केही बाध्यता केही खुसी, धेरै भोगाइ, केही सिकाइले भरिएको छ उनको जीवन । जीवनको ३ दशक बित्न नपाउँदै उनी एकल महिला महिला भएकी छिन् ।
उनको साथमा छिन् ८ वर्षीया छोरी । श्रीमानसँगको खटपटकै कारण उनले सपनाको शहर जापानको बसाइ छोड्नु पर्यो । पारिवारीक सम्बन्ध बलियो बनाउन नेपाल आएइन् तर सम्बन्ध बलियो बनेन, बरु सदाको लागि टुट्यो । सम्बन्ध टुटे पनि उनले हिम्मत टुटाइनन्, र सुरु गरिन् सानो लगानीको पसल । जसले आज शरिस्मालाई बाच्ने आधार खडा गरेको छ ।
सन् २०१७ मा जापान गएकी शरिस्माले उतै रहदा नेपाली केटासँग विवाह गरिन, विवाहको २ वर्षपछि छोरीलाई जन्म दिइन ।
तर, श्रीमानसँगको सम्बन्ध सदाझै प्रेमिल भएन । अर्कोको देशमा खटपट बैवाहिक सम्बन्धमा रहन समस्या भएपछि उनीहरु डेढवर्षको अन्तरालमा नेपाल फर्किए । पछिल्लो समय श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी उनीले सानो लगानीमा ठुलो खुसी खोजिरहेकी छिन् । “जापानमा कमाएको केही पैसा श्रीमानको परिवारमा फस्यो, केही अन्य व्यापारमा फस्यो, अब यहाँ सानो लगानी गरेको छु, राम्रै छ” उनी भन्छिन् “सानो लगानी गर्दा, फसियो भने पनि थोरै पैसा फस्छ, मलाई यसमा राम्रै बचत बसेको पनि छ ।”
सुरुमा उनले यहाँ चिया, बिस्कुट, चाउचाउ राखेकी थिइन् । सत्यको धर्म सत्य टिकाउनुमा हुन्छ भनेझै उनले आफ्नो पसललाई व्यवस्थित बनाउन अर्को अवसर पाइन, व्यवसायिक तालिम लिने । हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशनको आयोजनामा भएको व्यवसायिक तालिममा उनी सहभागी भइन् ।
जहाँ उनले आफ्नो व्यवसायिक सफलता पाउनको लागि धेरै टिप्सहरु पाइन् । “त्यसपछि मैले यहाँ खाजामा चटपटे, पानी पुरी पनि थप गरेकी हुँ” उनी भन्छिन् “माग बुझेर काम गर्दा सफल हुने रहेछ ।” उनी अहिले एक पटकमा १०/१२ हजारको सामग्री राख्छिन् । उनी भन्छिन् “पसलबाट सन्तोषजनक नै बचत छ ।”
भनिन्छ “समस्या एक्लै आउँदैन, यसले समाधान पनि सँगै ल्याएकै हुन्छ, बस पहिचान गर्ने क्षमतामा भर पर्छ ।” अहिले आर्थिक मन्दीको मारमा परेको चर्चा सर्वत्र सुनिन्छ । कतिपय अवस्थामा व्यक्तिहरुले डिप्रेसन तथा आत्महत्याका कारणलाई समेत आर्थिक मन्दीकै कारण जोड्ने गरिन्छ । तर यसबारे यथार्थ खोज तथा अनुसन्धान भएको छैन ।
आर्थिक मन्दीको मारमा पनि त जीवन धान्न पर्यो, बालबालिका पढाउँनै पर्यो, समस्यासँग भागेर जीवन रहन्न । युवा पुस्तामा निराशा बढ्दै गर्दा मकवानपुरका केही युवाहरु निशारालाई फालेर उद्यममा लागेका छन् । उद्यमको लागि ठुलै लगानी र तडक भडक पनि चाहिदैन भन्ने सुझबुझ देखिन्छ उनीहरुमा ।
सानो लगानीबाट पर्याप्त आन्दानी गर्न सकिन्छ भन्ने अर्को उदाहरणीय पात्र हुन् हेटौंडा १२ कि ४५ वर्षीया लक्ष्मी लामा । आर्थिक अभावको कारण आफ्नो परिवार धान्न धौ धौ थियो । श्रीमान्को मृत्युपछि सबै जिम्मेवारी आफ्नो एकल काँधमा पर्यो, उनी पनि शरिस्मासँगै हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशनको तालिममा सहभागी भइन् । यसबाट मासिक १५ देखि १७ हजारसम्म बचत बस्ने गरेको उनी बताउँछिन् । “टोलमा बस्ति पातलो छ, बजारजस्तो भएको भए धेरै गर्न सकिन्थ्यो होला” उनी भन्छिन । लक्ष्मीले आफ्नो घर नजिकैको स्कुलमा क्यान्टिन पनि सञ्चालन गर्छिन । तर, त्यहाँबाट आफूलार्ई दुख गरेजस्तो आम्दानी नभएको उनी बताउँछिन् ।
चटपटे पसलको लागि उनी सबै सामग्री घरैमा जुटाउँछिन् । “पसलबाट अखाद्य सामग्री राखेर बनायो भने विक्री पनि हुँदैन, धेरै जसो सामग्री आफैंले बनाउँछु” उनी भन्छिन् “आफ्नै तोरीको छोप, बारीको बन्दा, खुर्सानी, केराउलगायत सामग्री आफैं बनाउँछिन् । “सुरुमा त मैले ३ हजार लगानी गरेको हो” लक्ष्मी भन्छिन् “आफ्नो लगानी अनुसार धेरै राम्रो फाइदा छ, अब स्कुलको क्यान्टिन पनि छाडेर यसैलाई बढी समय दिने बारे सोच्दैछु ।”
हेटौंडा १९ सान्ननिटारकी २९ वर्षिया रश्मी गौतमलाई अब बाँच्ने रहर जागेको छ । जीवनको २ दश पार गर्दैगर्दा श्रीमानबाट एक्लिएकी उनी एक छोराकी आमा समेत हुन् । उनको देब्रे हात राम्रोसँग चल्दैन । श्रीमानले अर्को विवाह गरेपछि जीवनसँगै निराश थिइन् ।
“आफूखुसी विवाह गरें, श्रीमानबाट पनि विवाह गरेको २ वर्षपछि नै धोका भयो, माइतीले साथ नदिएको भए र आफूलाई व्यवसायिक सिपको लागि उर्जा नपाएको भए म कहाँ हुन्थे होला” उनी भन्छिन् “केही गरेर बाचुँ भन्ने उत्साह सानो व्यवसायले दिएको छ ।”
लक्ष्मी र शरिस्मा जस्तै उनी पनि अहिले आफ्नै घरमा चटपटे, पानीपुरीको व्यवसाय गरेर छोराको लागि पढाइ खर्च जुटाइरहेकी छिन् । “बस्ति पातलो छ,धेरै व्यापार त हुँदैन तर मलाई यहीबाट केही गर्न सक्छु भन्ने लागेको छ, विस्तारै होला ।” उनले १३ हजार लगानीमा चटपटे पसल सुरु गरेकी हुन् । जहाँ उनले दैनिक १ हजार ३ सय रुपैयासम्मको चटपटे बेच्छिन् । “यतिञ्जेल अरुको खुसीको लागि आफ्नो ख्याल गरिन्, न्यायको लागि लड्दै समय गयो, अब आफ्नै खुसीको लागि सोच्छु, पसलबाट खुसी छु” रश्मी भन्छिन् । विवाह भएको नौ वर्षसम्म न विहे दर्ता गर्न सकिन् न त नागरिकता नै बनाउन सकिन् । नागरिकता नभएका कारण कुनै दर्तावाल व्यवसाय गर्न पाएकी छैनन् ।
हेटौंडा ३ बसामाडी कि ३९ वर्षीया मिरा गौतमले पनि घरमा चटपटे र फलफूलको व्यापार सुरु गरेकी छिन् । फलफूलमा पनि केरामा उनको प्राथमिकतामा छ । दैनिक ५ देखि ९ सयसम्मको व्यापार गर्छिन । “काँचो केरा ल्याएर आफैं पकाउँछु, बेच्दा राम्रो नाफा बस्छ” उनले भनिन् “लगानी धेरै चाहिदैन, नाफा बसेकै छ ।”
युवाहरु स्वदेशमा बाँच्नै नसकिने भन्दै विदेशीने क्रम जारी छ, तर सानो सानो लगानीमा पनि जीवनमा सफलता पाउन सकिन्छ भन्ने उदाहरण हुन् यि युवाहरु । बागमती प्रदेशको युवालाई स्वरोगार बनाउने लक्ष्यका साथ प्रदेश युवा परिषदले विभिन्न सिपमुलक तालिम दिंदै आएको छ । जसलाई तालिम पछि व्यवहारमा समेत उतार्ने हो भने जीवनको गुजारा चल्ने मात्रै हैन, व्यवसायिक सफलता पाउन सकिने परिषदमा कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई बताउँछन् ।
चौलागाईका अनुसार हरेक युवा सिप युक्त, युवा बनाउने लक्ष्यका साथ बागमती प्रदेश युवा परिषदले गत आर्थिक वर्षमामात्रै ५ हजार युवालाई स्वरोजगार बनाउने तालिम दिएको छ । “सिप सिक्ने, स्वरोगार बन्ने स्वावलम्वी बन्ने अभियान चलाएको हौं, साथै सिप परीक्षण गर्ने र सिपको व्यवसायिक सुनिश्चितता गर्ने समेतको काममा हामीले सहयोग गर्दै आएका छौं” कार्र्यकारी उपाध्यक्ष चौलागाईले भने ।
शरिस्मा, रश्मी, मिराहरु यस्तो तालिमका उत्पादन हुन् । जो रोजगारीको लागि भौतारीएका छैनन्, सानो लगानीबाट परिवार राम्रौ हाँकेका छन् ।
स्थानीय सरकारलगायत विभिन्न निकायहरुले विभिन्न सिपको तालिम दिन्छन, तर तालिमले मात्रै व्यवसायको मेलोमेसो नपाउने धेरै छन् । “हामीले उक्त तालिमको सिपलाई कसरी दैनानुदिन व्यवसाय सञ्चालनमा उतार्ने भन्ने पनि सिकाउँछौ” हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशन कोषध्यक्ष स्वस्तिका बानियाँ भन्छिन् । “समय, लगानी र नाफाको हिसाब मिलाएर काम गर्न व्यवसायिक योजनाको कुराहरु सिकाउँदा उहाँहरुलाई काममा सहजता र राम्रो उपलब्धि हुने रहेछ” बानियाँले भनिन् ।
साना व्यवसाय भन्ने वित्तिकै धेरैजसोले चटपटे,पानीपुरीजस्ता व्यवसाय रोजेको भेटिएपछि आफूहरुले त्यो खाजालाई स्वास्थकर बनाउनको लागि पनि सिप सिकाउने गरेको बानियाँ बताउँछिन् । चटपटे, पानी पुरी जस्तो खाजामा हाइजेनिक बनाउनको लागि चुक अमिलोको सट्टामा गाउँघरमै पाइने इमिलीको अचार, फ्रेस कागती राख्ने, बन्दा, काँक्रो, चना, टमाटर, मुला, गाजार राखेर हाइजेनिक बनाउनको लागि आफूहरुले सुझाव दिने गरेको उनी बताउँछिन् । “अजिनो मोटा त खानै हुदैन, चाउचाउ पनि विस्तारै हटाउँदै जान प्रेरित गर्ने गरेका छौ, ति अखाद्य कुराहरु राखेर मात्रै स्वाद मिठो हुने हैन, हाइजेनिक खाजा पाउने भएपछि व्यापार उसै बढ्छ” उनले भनिन् ।
सिप सिकाएर आत्मानिर्भर बनाउने काममा हेडम्वा डेभलवमेन्टले प्रदेश युवा परिषदसँग समन्वय गर्दै आएको छ । यसै अन्तरगत २० जनालाई काठको ठेकी बनाउने तालिम र ४० जना थोरै लगानीमा सञ्चालन गर्न सकिने साना व्यवसाय प्रवद्धनको लागि सिप विकास तालिम प्रदान गरेको बानियाँले बताइन् । उनीहरु सबैजना सिपलाई जीउने आधारको रुपमा प्रयोग गरिरहेका छन् । आर्थिक रुपमा पछाडी परेकाहरुलाई व्यवसायिक सिप सिकाएर आत्मानिर्भर बनाउने युवा परिषदको समेत लक्ष्य रहको चौलागाईंले बताए ।
मकवानपुर । आज (२१ भदौ), आजैबाट चेपाङको न्वागी पर्व सुरु भएको छ । पर्वको अवसरमा बागमती प्रदेशको ३ जिल्ला र गण्डकी प्रदेशको ३ जिल्लाका चेपाङहरु गोरखा जिल्लामा भेला हुँदै छन् ।
यसपटक संयुक्त रुपमा गोरखा जिल्लामा यो पर्व मनाउने तयारी पुरा भएका छ । २१ भदौबाट सुरु हुने यो पर्व २२ गते मुख्य रुपमा मनाइन्छ ।बागमती प्रदेशको मकवानपुर, चितवन र धादिङमा रहेका चेपाङहरु गण्डकी प्रदेशको गोरखा, तनहुँ र लमजुङ जिल्लाका चेपाङले सामुहिक रुपमा पर्व मनाउन लागेका हुन् । गत वर्ष बागमतीका ३ जिल्लाका चेपाङहरुले धादिङ जिल्लाको गजुरी गाउँपालिकामा भेला भएर सयुक्त रुपमा पर्व मनाएका थिए । यसपालि भने २ वटा प्रदेशवासीले एकै थलोमा भेला भएर पर्व मनाउन लागेका हुन् ।
यस पटक गण्डकी प्रदेशको गोरखा जिल्ला, गण्डकी गाउँपालिका ६ मा रहेको तुमनडाँडा माविको प्राङ्गणमा सामुहिक रुपमा न्वागी मनाउन लागिएको हो । सामुहिक पर्व मनाउँदाको सम्पूर्ण खर्च गाउँपालिकाले नै व्यवहोर्ने तयारी भएको चेपाङ अगुवा तथा पूर्व साभासद् गोविन्दराम चेपाङले बताए । सामुहिक पर्व मनाउनको लागि लगभग ८ देखि १० लाख खर्च अनुमान गरिएको थियो । गतवर्ष पनि धादिङको गजुरी गाउँपालिकाले ८ लाख खर्च व्यहोरेको थियो ।
तुमनडाँडा माविको प्राङ्गणमा भेला हुने छन् भने चेपाङ केन्द्रीय समितिले आयोजनाको अन्य पाटो हेर्ने तयारी भएको छ । यहाँ झण्डै १ हजार ५ सयको हाराहारीमा चेपाङहरुको उपस्थिती रहने छ । स्थानीय मगर, गुरुङ समुदायहरुको पनि उपस्थिती हुने बताइएको छ । पर्व मनाउनको लागि भोज र पूजा सामग्रीको जोहो भइसकेको छ । सामुहिक भोजमा मासु भात खाइनेछ । यसको लागि चामल र मासुको लागि राँगो र सुङगुरको तयारी भएको छ । पूजाको लािग फलफूलमा काँक्रो, अमिलो गाभा मकै आदि आदिको तयारी भएको छ ।
सामुहिक पूजामा सहभागी प्राय सबैले ढ्याङग्रो ठोक्ने चेपाङ अगुवा तथा पूर्व साभासद् चेपाङले बताए । उनका अनुसार पूजामा कम्तिमा ७ जना झाक्री (पाण्दे) पुरेतको पनि व्यावस्था हुँदैछ । उनका अनुसार पर्व मनाउनकै लागि ६ वटा जिल्लाबाट कम्तिमा एक हजार जना चेपाङको उपस्थिती रहने छ । चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिने गरेको छ । यद्यपि यसवर्ष न्वागीको मुख्य दिन शानिबार परेको छ ।
यो वर्ष नयाँ अन्नबाली, फलफूल पाकेपछि विशेष पूजा गर्दै प्रकृतिलाई चढाएरमात्रै आफूले खाने गरिन्छ । यो चेपाङ समुदायको लागि नयाँ वर्ष पनि हो । केही वर्षयता नेपाल चेपाङ संघको पहलमा २२ भदौलाई छोनाम राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यो दिन चेपा·हरुले घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् ।
आपसी भातृत्व र मित्रताको पर्वको रुपमा समेत लिइने पर्वमा चेपाङहरुले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । सांस्कृतिक रूपमा चेपाङ चेपुवामा परेको बताउँदै आएता पनि यो पर्वको विशेष महत्व दिने गरेको मकवानपुरका चेपाङ अगुवा तथा पूर्व साभासद् गोविन्दराम चेपाङले बताए ।
गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री (पान्दे) हरुले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका अलावा अन्य मानिसहरु भने सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । यो दिन उनीहरुले कुखुराका बली समेत दिने गर्छन् ।
२१ गते साँझबाट ढ्याङग्रो फलाक्न सुरु गरिन्छ । सामान्यत जनैपूर्णिमाको दिनदेखि पान्देले ढ्याङ्ग्रो फलाक्ने कार्य सुरु हुन्छ । चेपाङ समुदायमा रहेका ७२ गोत्रहरुको भदौ महिनाको विभिन्न तिथिमा ढ्याङ्ग्रो ठोक्ने पूजा सुरु हुन्छ । २१ गते साँझबाट सुरु हुने ढ्याङग्रो ठोक्ने काम भने न्वागी सुरु भएको विशेष सूचक मानिन्छ ।
दिउँसोदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्री (पान्दे) द्वारा पितृ पुजा रातभरि भोलीपल्ट विहान ‘बारना’ गरेर चाड समापन गरिन्छ । मकवानपुर जिल्लामा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा मात्रै चेपाङको बसोबास रहेको छ ।
नेपालमा मकवानपुर, धादिङ, चितवनलगायत २६ जिल्लामा चेपाङको बसोवास छ । वि.स २०७८ को जनगणना अनुसार नेपालमा ८४ हजार ३ सय ६४ ले जना चेपाङ छन् । जातिगत हिसाबले जिल्लामा १३ औं स्थानमा चेपाङ जातिको बसोबास रहेको छ । यसैबीच यो पर्वको अवसरमा मकवानपुरको मनहरी गाउँपालिकाले भने २१ गते पनि सार्वजनिक बिदा दिएको थियो ।
भड्कीलो बन्दै न्वागी
विभिन्न पर्वहरु भड्कीलो र खर्चिलो बन्दै आएको गुनासाहरु एकातिर सुन्ने गरीन्छ भने, अर्कोतिर समयको माग भएको दाबि सुन्ने गरिन्छ । जातीय पर्वको महत्व घरघरमै हुन्छ तर सामुहिक पर्वको नामम विभिन्न स्थानमा भेला भएर पर्व मनाउने परिपाटीको कारण न्वागी पनि सर्वसाधारणको पहुँचबाट बाहिरीदै छ ।
चेपाङ संघ गाउँ कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीहरुमा नेतृत्व गरिरहेका अगुवाहरुले नै सामूहिक पर्वलाई प्राथमिकता दिंदै गर्दा न्यून जीवनस्तर बाँचिरहेका चेपाङहरुले भने पर्व मनाउनै समस्या भोग्दै आएको चमेली चेपाङले बताइन् ।
घरघरमै पनि आफ्नो गच्छे अनुसार पर्व मनाउन र पर्वको मर्म बचाइराख्न आफूहरु लागि परेको ३४ वर्षिय रविना प्रजाले बताउँछिन् । “सामूहिक रुपमा मनाउने कार्यक्रममा सबैको सहभागीता संभव छैन, आफ्नो परम्परा त आफूले घरैमा मनाएर बचाउँने हो, हामी घरघर मै क्षमता अनुसार मनाउँछौ” रविनाले भनिन् ।
नेपाल सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । सूचीकृत आदिवासीमध्ये चेपाङ अति सिमान्तकृत समुदायमा पर्छ । चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृंखला वरिपरिको रैथाने वासिन्दा मानिन्छन् ।
चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । भूमिसँग अति निकट सम्बन्ध रहेको चेपाङ जातिभित्र माटोको बनोटको आधारमा उनीहरूको थर, उपथरहरूको वर्गीकरण भएको पाइन्छ ।
जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भीरपहरा आदिको नाम चेपाङ भाषाबाटै राख्छन् । चेपाङ जातिको चिनारी (२०६७) पुस्तकमा उल्लेख भए अनुसार बागमती प्रदेशको चितवन र धादिङको सिमानामा रहेको कान्द्राङगढी र चितवनको उपरदाङगढी चेपाङ वंशको ऐतिहासिक थलो हो ।
खास गरेर दामनदेखि पश्चिम त्रिशूलीसम्मका पर्वतको उत्तर र दक्षिण पाटो भिरालो पाखा, जंगल र नदीतिर प्रायःजसो फैलिएर बसेको क्षेत्र हो । इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास छ ।
चेपाङ बाहुल्य जिल्लामध्ये सबैभन्दा धेरै चितवनमा छन् यहाँ कुल जनसंख्यामामा चेपाङको संख्या सातौं स्थानमा छ ।
मकवानपुर । पानी जीवनको आधार हो । पानीसँग जोडिएको जिन्दगानीमा पानीकै चर्चा भने कम हुने गर्छ । संघीय व्यवस्थाता अघि मकवानपुरको हेटौंडामा पिउने पानीको चरम सभाव थियो । पिउने पानीकै अभावमा कष्टकर दैनिकी जिइरहेका हेटौंडाबासी दिनहुँजसो खानेपानी कार्यलयमा रित्ता गाग्रा र बाल्टीन बोकेर धर्ना बस्दथे । कर्मचारीहरु कहिले आन्दोलन/धर्नामा आएकाहरुलाई फेस गर्दै केही भन्दै थुम्थुम्याएर पठाउँथे । धेरैजसो त साम्ने नै पर्दनथे । धार्नामा आएका उपभोक्ता नारा लगाउँथेः “काकाकुल हेटौंडा, पानी दे पानी दे ।”
अब अवस्था फेरिएको छ । उबेलाको अवस्था बयान अब ‘कथा’ जस्ता लाग्छन् । २०७० जेठ ८ गतेअघि र त्यसपछिको समय अहिले अवलोकन आनन्दनुभुती हुने बताउँछन् कर्मचारीहरु नै । पानीमा चरम समस्या भोग्दै आएका हेटौंडेली पानीमा अब समृद्ध बनेका छन् । अहिले केही नयाँ बस्तिहरुमा बाहेक हर घरमा २४ घण्टा पानी आउँछ । नयाँ बस्तिहरुमा खानेपानीको योजनाहरु विस्तार हुँदै आएका छन् ।
“गर्दा हुने रहेछ” अध्यक्ष प्रताप विष्ट भन्छन् “बोर्ड र उपभोक्ताको सहकार्यले नै यो संभव भएको हो ।” १० वर्षको अन्तरालमा हेटौंडाको बस्तिमा जनसङ्ख्या दोब्बरले बढेको छ । तर पानीको समस्या छैन ।
उबेला ८ हजार ५३७ वटा धारामा पानी पु-याउन सकिएको थिएन, अहिले २७ हजार ६२१ वटा धारामा सहजै पानी पु-याइएको छ । उबेला दैनिक सरदर ५९ लाख लिटर पानी उत्पादन गर्ने नेपाल खानेपानी संस्थान हेटौंडालाई पानीको समस्या विकराल थियो । अहिले दैनिक ३ करोड ५७ लाख लिटर पानी उत्पादन गर्ने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले पु-याइरहेको छ ।
पानीको समस्या समधान गर्दै घरघरमा धारा वितरण र पानीको स्रोत खोजिमा निरन्तर लागि परेको हेटौंडा खानेपानी बोर्डले गत आर्थिक वर्षमामात्रै एक करोड लिटरभन्दा बढी पानीको व्यवस्था भएको छ । वि.स. २०८० यतामात्रै एक करोड बढी लिटर खानेपानी व्यवस्था भएपछि उपमहानगरबासीलाई सहज भएको छ ।
समबेल, डिपबोरिङ र गाभिएका उपभोक्ता समितिबाट १ करोड लिटर खानेपानी थप भएको हेटौंडा खानेपानी बोर्डले जानकारी दिएको छ । सामरी समबेलबाट ६० लाख लिटर, मैदा टोलको समबेलबाट १५ लाख लिटर, लामसुरे डिपबोरिङबाट १२ लाख लिटर र उपभोक्ता समिति हस्तान्तरण भई थपिएको खानेपानी १४ लाख १७ हजार लिटर गरी एक करोड १ लाख १७ हजार लिटर खानेपानी थपिएको बोर्ड अध्यक्ष प्रताप विष्टले जानकारी दिए । हेटौंडामा दैनिक ३ करोड ४० लाख लिटर पानीको माग छ ।
हाल हेटौंडाको मुख्य नगरक्षेत्रभित्र २४ सै घण्टा पानी वितरण गर्न बोर्ड सफल भएको अध्यक्ष विष्ट बताउँछन् । हेटौंडा उपमहानगरभित्रको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र १४ को पूरै भूभाग, वडा नम्बर १, ३ र १७ को केही भूभाग र वडा नम्बर १५, १६, १८ र १९ को ७०.५ प्रतिशत भूभागमा बसोबास गर्ने १ लाख ६० हजार नगरबासीलाई ३ करोड ५७ लाख लिटर खानेपानी वितरण गरिरहेको बोर्डले जनाएको छ । नगरक्षेत्रको वडा नम्बर ११, १२ र १३ मा उपभोक्ता समितिबाट खानेपानीको सेवाप्रवाह हुँदै आएको छ ।
हेटौंडा खानेपानी बोर्डले ७० को दशकमा खानेपानी व्यवस्थापनमा उल्लेख्य सुधार गरेको हो । खानेपानी संस्थान हुँदा दैनिक ५५ देखि ६० लाख लिटरसम्म आपूर्ति हुन्थ्यो । खानेपानीको माग भने दैनिक १ करोड लिटरभन्दा बढी थियो ।
संस्थान हस्तान्तरण भएर बोर्ड बनेपछि २०७० यताका १० वर्षको अवधिमा भने हेटौंडाको खानेपानी आपूर्तिमा कायापलट भएको छ । ८ जेठ २०७० मा नेपाल खानेपानी संस्थान हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको थियो । नगरक्षेत्रभित्र बसोबास गर्ने नगरवासीलाई स्वच्छ र सर्वसुलभ किसिमबाट गुणस्तरीय रुपमा एउटै शुल्कमा खानेपानी उपलब्ध गराउनु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको उद्देश्य रहेको अध्यक्ष विष्टले बताए ।
बोर्ड सञ्चालनमा आएदेखि हालसम्म बोर्डमा १६ वटा उपभोक्ता समिति हस्तान्तरण तथा सेवाक्षेत्र विस्तार गर्दा ११ हजार धारा संख्यामा वृद्धि भएको छ । हेटौंडा उपमहानगरपालिकाले नगरबासीलाई राहत दिने उद्देश्यले न्यूनतम खानेपानी महशुलमा १० हजार लिटरसम्म खपतमा छुटको व्यवस्था गरेसँगै खानेपानी बोर्डमा उपभोक्ता समिति हस्तान्तरण हुने क्रम बढेको छ ।
बोर्डले हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरी सेवाक्षेत्रमा सुधार गर्दै नयाँ क्षेत्रमा नयाँ आयोजनाको थालनी गरिरहेको बोर्डका आर्थिक प्रशासन प्रमुखसमेत रहेका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उल्लेख गरिएका योजना पूरा भइसकेका छन् । नगरक्षेत्रभित्र वडा नम्बर ४, ५, ६, ७, १४ र १५ मा करिब ५४ लाख ७४ हजारको लागतमा २३ हजार ४ सय मिटर पाइपलाइन विस्तारकार्य वोलपत्रको माध्यमबाट सम्पन्न गरिएको न्यौपानेले बताए । विभिन्न साइजको करिब १ लाख ४ हजार मिटर १ करोड १८ लाख बराबरको पाइप बोलपत्रको माध्यमबाट खरिद गरिएको छ ।
२०८१ असार मसान्तसम्म पानी महसुल, जरिवाना, नयाँ धारा जडान, थप पाइप तथा फिटिङ, मिटर जडान मर्मत, नामसारी, निवेदन तथा अन्य दस्तुर र बैंक व्याज गरी वार्षिक कुल लक्ष्यको तुलनामा आन्तरिक आयतर्फ १०२.७५ प्रतिशत अर्थात १५ करोड ४ लाख ३६ हजार रुपैयाँ संकलन गरेको बाेर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकाेटाले बताए ।
गत आर्थिक वर्षमै हेटौंडा–८ मैदाटोलमा सशस्त्र प्रहरी बलको कम्पाउण्डभित्र समबेल, मकवानपुरगढी गाउपालिका–४ स्थित सामरीपुल नजिकै प्रतिदिन ६० लाख लिटर पानी उत्पादन क्षमताको समवेल निर्माण, हेटौंडा–१६ हटियामा शक्तिखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत रहेको खानेपानीको स्रोत, पानी भण्डारण टंकी सहित ५५७ वटा धारा बोर्डमा हस्तान्तरण गरियो ।
शक्तिखोलामा पानीको स्रोत पर्याप्त भएकाले सेही पानी हटियाको चिसापानीमा ल्याएर वडा नम्बर १५, १६, १७ र १८ सम्म वितरण गर्न सकिने सम्भावना देखिएको बोर्डका अध्यक्ष विष्ट बताउँछन् ।
हेटौंडा–१७ हटिया चिसापानीमा २०८० कार्तिक १६ गतेदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएर नियमित महसुल संकलन, नयाँ धारा जडानलगायत आवश्यक मर्मतसम्भार कार्य शाखा कार्यालय मार्फत गराउदै आइरहेको र यो क्षेत्रका सेवाग्राहीलाई चिसापानीमा शाखा कार्यालय स्थापना भएपछि धेरै सहज भएको बोर्डका सूचना अधिकारी न्यौपाने बताए ।
उपमहानगरको कार्यालय अगाडि र हेटौंडा–१ स्थित जिम पार्कमा सार्वजनिक धारा निर्माण गरिएको छ । बोर्डको सेवाक्षेत्रभित्र करिब १९ हजार मिटर पाइपलाइन सुधार तथा विस्तारको लागि बोलपत्रको माध्यमबाट टफ विल्डर्स एण्ड सप्लायर्स, चन्द्रागिरि, काठमाडौंले कार्य सम्पन्न गरेको सूचना अधिकारी न्यौपानेले बताए ।
संघीय सरकारको खानेपानी विभागबाट सिमलटार, रातोमाटे, हटिया परियोजनाअन्तर्गत करिब ८४ करोड रुपैयाँको डीपीआर तयार भई खानेपानी मन्त्रालयबाट स्रोत सुनिश्चताको लागि अर्थ मन्त्रालयमा पेश भएमा हालसम्म स्रोत सुनिश्चता नभएको सूचनाअधिकारी न्यौपानेले बताए ।
पानी परीक्षण प्रयोगशालाको भौतिक पूर्वाधार स्तरोन्नति गर्ने, बोर्ड अन्तर्गत रहेका खानेपानीका पूर्वाधारको सुधार र विस्तारको कार्य, खानेपानीका स्रोतको सुरक्षा एवम् संरक्षण कार्य, बोर्डको सेवाक्षेत्रभित्र २ स्थानमा डिप ट्यूवेल निर्माण, पानी पुनर्भरण (रिचार्ज) पोखरी स्थानीय तह र सामुदायिक वनसँगको सहकार्यमा निर्माण कार्य गरिएको बोर्डको भनाइ छ ।
रिचार्ज पोखरी बनाउन समस्या
सुख्खा मौसममा पानीको उत्पादन नै कम भएपछि बोर्डलाई पानी वितरणमा समस्या आउँछ । भविष्यमा यही समस्या विकराल नहोस् भनेर बोर्डले विभिन्न सामुदायिक वन र समुदायस्तरमा रिजार्च पोखरी बनाउने योजना बनाएको दशक समय बित्न लाग्यो तर हालसम्म एउटै रिचार्ज पोखरी (पानी पुनर्भरण) बनाउन सकेको छैन ।
रिचार्ज पोखरी निर्माण गर्दा वर्षाको पानी पोखरीमा जम्मा हुन्छ, त्यही जमिनमा सोसिन्छ र त्यो पानी जरुवा/कुवाको रुपमा अन्यत्र प्राप्त गर्न सकिन्छ । जमिनमै यो प्राकृतिक फिल्टर समेत हुन्छ । रिचार्ज पोखरीको उपयोगिता यतिमै सिमित छैन, यो डिप बोरि·को लागि मुल स्रोत पनि हो ।
रिचार्ज पोखरीको निर्माणले वन्य जन्तुलको लागि पानी पिउने स्थल पनि बन्न बक्छ । तर यसको व्यवस्थापनमा वन विभाग नै सकारात्मक हुन सकेको छैन, जसले पोखरी निर्माणमा बाधा सिर्जना गरेको छ । वनक्षेत्रमा निर्माण गरिने रिचार्ज पोखरीहरु बन्यजन्तुको पानी पिउने सुविधासँगै पानीमा डुबेर मर्न सक्ने संभावना पनि हुन्छ । यसमा त्यही अनुसारको सुरक्षाबार अनिवार्य हुन्छ । यसै गरी समुदाय स्तरमा बनाइने रिचार्ज पोखरीमा पनि बालबालिकाको सुरक्षा चुनौती हुन्छ । विभिन्न चुनौतीलाई मध्यनजर गर्दै रिचार्ज पोखरी निर्माणमा कदम अघि बढाउन नसकेपछि बोर्ड आफ्नो लक्ष्यमा पछि परेको अध्यक्ष विष्टले स्वीकार गरे ।
रिचार्ज पोखरीकै अभावमा खानेपानी बोर्डले विगतमा सञ्चालनमा ल्याएको डिप बोरिङबाट पानी नै प्राप्त हुन छाडेको उनले बताए । “केही बोरिङ्बाट तानेको पानीले त्यही खपत हुने विद्युत महसुसलमात्रै तिर्न पुगेको छ” विष्टले भने “जमिन नै सुख्खा भएपछि कहाँबाट पानी आउनु ।”
उनका अनुसार बोर्डले ३ वर्ष अघि हरेक वर्ष ५/५ वटा रिचार्ज पोखरी बनाउने लक्ष्य लिएको थियो तर यो हालसम्म पुरा हुन सकेको छैन ।
६४ लाख अग्रिम भुक्तानी, आर्थिक पाटोमा सक्षम बन्दै बोर्ड
हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड आर्थिक पाटोमा पनि सक्षम बन्दै आएको छ । गत आर्थिक वर्षमा १९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । बोर्डले ग्राहकबाट पानी महसुल संकलनलगायत समग्र आन्तरिक आम्दानी लक्ष्यअनुसार संकलन गर्न सफल भएको हो ।
२०८१ असार मसान्तसम्म पानी महसुल, जरिवाना, नयाँ धारा जडान, थप पाइप तथा फिटिङ, मिटर जडान मर्मत, नामसारी, निवेदन तथा अन्य दस्तुर र बैंक व्याज गरी वार्षिक कुल लक्ष्यको तुलनामा आन्तरिक आयतर्फ १०२.७५ प्रतिशत अर्थात १५ करोड ४ लाख ३६ हजार रुपैयाँ संकलन गरेको छ ।
बोर्डले बाह्य आम्दानीतर्फ हेटौंडा उपमहानगर र मकवानपुरगढी गाउँपालिकासँगको सहकार्यअन्तर्गत १ करोड ७९ लाख ९४ हजार रुपैयाँ प्राप्त गरेको बोर्डका अध्यक्ष प्रताप विष्टले बताएका छन् । बोर्डको बैंक २ करोड ३२ लाख रुपैयाँ मौज्दात छ ।
गत आर्थिक वर्ष ०८०/८१ को असार मसान्तसम्मको बिलिङ रकम १३ करोड ९७ लाख रुपैयाँमध्ये १३ करोड ५८ लाख २५ हजार अर्थात ९७.२२५ पानी महशुल उठाउन बोर्ड सफल भएको सूचना अधिकारी न्यौपानेले बताए । आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा पानी महसुल बक्यौता रकम ३९ लाख ४२ हजार रुपैयाँ रहेकोमा र ग्राहकबाट ६४ लाख ५७ हजार रुपैयाँ अग्रिम महसुल भुक्तानी भएको न्यौपानेले बताए ।
बोर्डको खर्चतर्फ ०८०/८१ मा कार्यालय संचालनतर्फ ५ करोड ७६ लाख ३६ हजार रुपैयाँ र सेवा संचालनतर्फ ३ करोड ८७ लाख १ रुपैयाँ भएको बाेर्डका कार्यकारी निर्देशक सापकाेटाले बताए ।
महिनावारी महिलाकाे मात्रै सवाल हैन
Tags: No Comments
मकवानपुर । विवेक पोखरेल २५ वर्षको भए, उनी सानो छँंदाको धेरै मध्ये नमिठो यादमा ताजै छ उनको आमा महिनावारी हुँदाको घटना । जब आमा महिनावारी हुनुहुन्थ्यो, भान्साको जिम्मेवारी आमाबाट बुबा अथवा दिदीलाई सर्दथ्यो, तर आमालाई फुर्सद हैन झनै कामको ‘प्रेसर’ हुन्थ्यो ।
आमा घरभान्साबाट पन्छिएर खेत खन्नु, मल बोक्नुहुन्थ्यो र घाँस दाउराको बडेबडे भारी बोक्नुहुन्थ्यो । महिनावारीको ५ दिन आमालाई अन्य २५ दिनभन्दा कष्टकर हुनेगरेको आभाष विवेकले बुझ्ने भएपछि गरे ।
“हामी (पुरुषहरु) ले उहाँहरुलाई सहज बनाउन सक्ने रहछौं” विवेश भन्छन् “महिनावारी समस्या हैन रहेछ, यो उत्सवलाई सबैले मिलेर महाउत्सव मनाउनु पर्ने रहेछ ।” हाल चितवनबाट नयाँ पत्रिका दैनिकमा जिल्ला संवाददाताको रुपमा काम गर्न विवेक महिनावारीलाई पर्वजस्तै व्यवस्थित बनाउनु पर्ने बताउँछन् । “चाड पर्व आउँदै गर्दा हामी त्यसको पुर्वतयारीमा लागेजस्तै रहेछ महिनावारीलाई मर्यादित बनाउन पनि पूर्व तयारीहरु आवश्यक रहेछन्” उनी भन्छन् ।
“महिनावारीको रगतबाटै यो सृष्टि चलेको छ, त्यसैमाथि गरिने विभेद त अत्याचार हो” विवेक भन्छन् “परम्परागत रुपमै यसलाई अछुतको संज्ञा दिंदै आएको रहेछ, अबको पुस्ताले महिनावारीलाई व्यवस्थित र मर्यादित बनाउनु पर्छ ।”
सप्तरी जिल्ला राजविराज निवासी मनोहर पोखरेल महिनावारी सिङ्गो मानवीय सवाल भएको बताउँछन् । महिनावारीको विभेद, समुदाय, क्षेत्र, वर्ग, जात अनुसार भिन्न छ, कुनै न कुनै रुपमा व्याप्त छ । विभेदलाई प्रक्रियागत र नीतिगत रुपमा नै बलियो बनाउँदै ल्याएको कारण समस्या भएको बुझाइ छ पोखरेलको छ । महिनावारीको समयमा गरिने अछुत व्यवहार हटाउन उनले घरबाट सुरु गरे ।
“महिनावारी हुँदा अलग्गै बस्ने, पुजापाठ, भान्सामा नजाने श्रीमतीलाई मैले महिनावारी नबार्नको लागि सहमत गराएँ, अब मर्यादित महिनावारीको लागि थप व्यवस्थापनमा सहभागि हुँदै आएको छु” उनले भने । आमसञ्चारको क्षेत्रमा २ दशकबढी समयदेखि संलग्न रहेका मनोहरले महिनावारी विभेद हटाउन र यसलाई मर्यादित बनाउन छोरीहरु, बहिनीहरुसँग अभियान सुरु गरेको बताए ।
महिनावारीलाई मर्यादित बनाउनु, कुशल व्यवस्थापन गर्नु सबैको सरोकारको सवाल हो । यो महिनावारी हुनेहरुको मात्रै सवाल हैन । महिनावारी नहुनेहरुले पनि सँगै विभेद खेप्नुपर्न भएकोले साझा सवाल भएको बताउँछन् नवलपरासीका सञ्चारकर्मी केबी राना । “महिनावारी नहुनेले पनि महिनावारी भएकाहरुसँगै विभेद र समस्या भोग्नुपर्ने रहेछ” उनी भन्छन्, “आमाको महिनावारी हुँदा बालबालिका, श्रीमतीको महिनावारी हुँदा श्रीमानले पनि समस्या झल्छन् ।” यो बेला उचित र प्रभावकारी व्यवस्थापनलाई मर्यादित बनाउनु पर्ने उनको धारण छ । महिनावारीको बेला आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन गरिदिने, आवश्यक पोषण र स्वास्थ्योपचारको उचित प्रबन्ध मिलाउनु पुरुषको भूमिका हुनुपर्ने राना बताउँछन् ।
विवाह अघि हरेक पटक महिनावारी दुखाइ कम गर्न औषधि सेवन गर्ने गरेकी रेडियो नेपालमा कार्यरत चन्दा बिष्ट, विवाहपछि उस्तै पीडामा औषधि सेवन गर्दिनन् । “महिनावारीको पीडा खप्न नसकेर औषधि सेवान गर्ने गरेको थिएँ, विवाहपछि श्रीमानले औषधि सेवन हानिकारक भएको सुझाउनु भयो, अनि छोडेँ” सञ्चारकर्मी विष्ट भन्छिन् “मेरो जीवनमा महिनावारी हुने समयको हिसाब गरेर, त्यो अवधिमा मैले सेवन गर्ने औषधिको परिमाणको देखाउनु भयो, अहो म नै झस्किएँ, मैले यत्तिको औषधि खानेवाला रहेछु भनेर, अनि औषधिभन्दा पनि तातो पानी खाने, हट व्यागले सेक्ने, व्यायम गर्ने गर्न थालें” विष्ट भन्छिन् “श्रीमानकै कारण मैले महिनावारीलाई आफ्नो सौभाग्यको रुपमा स्वीकार गर्न सकें, नत्र मलाई महिनावारी हुने व्यक्ति भएकोमा पनि गौरव थिएन ।”
महिनावारी भएको बेलामा शरिरमा उत्पादन हुने हर्मोनहरुको कारण मुड सुइङ् हुने, डिप्रेस हुने, इरिटेशन हुने हुन्छ, कसैकसैलाई शारिरीक रुपमा समेत आराम र औषधिको आश्यक हुन्छ । तर यसलाई सहजै उचित व्यवस्थापन गर्न सकिने बताउँछिन् मर्यादित महिनावारी अभियन्ता राधा पौडेल । “सयमा ५ प्रतिशलाई मात्रै शारिरीक समस्या हुनसक्छ, उनीहरुलाई उचित उपचार, उचित आराम चाहिन्छ” पौडेले भन्छिन् “अरुको लागि मर्यादित महिनावारीको उचित व्यवस्थापनको सवाल नै सबैभन्दा प्रभावकारी सवाल हो ।”
महिनावारी हुने हरेक व्यक्तिलाई महिनावारी विभेदबाट मुक्त गराउने, जन्मदेखि मृत्युपर्यन्तसम्म घर, समुदाय तथा कार्यस्थलमा हुने विभेद अन्त्य गर्नुपर्ने उनी बताउँछिन् । महिनावारीकाे सवाल महिला वा महिनावारीहुनेहरुकाे मात्रै सवाल नभई याे समग्र सृष्टिकाे सवाल हाे ।
बाल अधिकारको हनन
हेटौंडा २ कि सान्वी घिमिरे कक्षा १ मा पढ्छीन् । आइतबार विद्यालयको पढाइ सकेर उनी २ बजे घरमा आइन् । तर उनले सदाझै घरमा आउनासाथ आमाको हातमा समाउँदै भान्सामा जान पाइनन् । भान्सामा आमाले तयार पारेको ताजा खाजा खान पनि पाइनन् । कारण उनकी आमा सरस्वती आजै महिनावारी भएकी थिइन् ।
पाउरोटी खाँदै गरिकी सान्वीलाई देखाउँदै सरस्वतीले भनिन् “उसको बाबा अफिस जानु भएको छ, उहाँ अफिस जानुभएपछि म महिनावारी भएँ, सधैं घरैमा आफैंले बनाएको ताजा खाजा खुवाउँथे, आज पाइन ।” अबको ४ दिन सान्वीले ताजा खाजा खान पाउँदिनन् । कि त उनको बाबाले बिहानै बनाएर छाड्नु भएको चिसो खाजा खानुपर्छ नत्र यसैगरी बाहिरको खाजा खानु पर्छ । पोषिला र ताजा खानेकुराबाट यसैगरी सान्वी आमासँगै भान्साबाट पन्छिनु पर्नाको कारण महिनामा ५ दिन असहज दैनिकी व्यहोर्छिन् ।
हेटौंडा १७ कि कृशाङ्गी खतिवडा कक्षा ३ मा पढ्छिन् । उनलाइ हरेक विहान आमासँगै मन्दिर जाने बानी परेको छ, तर उनी प्रत्येक महिना ७ दिन मन्दिर जान पाउँदिनन् । कारण हो आमाको महिनावारी । पाठेघर र अण्डासय लिएर जन्मेका हरेक मान्छे (महिलामात्रै हैन लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएकाहरुलगायत) महिनावारी हुन्छन् । त्यही महिनावारीको कारण संसारको सृष्टि अनरवत जारी छ । तर त्यही महिनावारीकोे प्रक्रिया सुरु हुनुभन्दा पहिले र महिनावारी बन्द (रजनोवृत्ति) पछि पनि समाजमा विभेद छ । जसको कारण पाठेघर र अण्डासय लिएर जन्मेका हरेक मान्छेहरु मात्रै हैन अन्यलाई समेत विभेद र सकस छ ।
यो विभेद र सकसलाई सामान्य मान्दै आएको कारण यसभित्रको जटिल समस्याहरुको सम्बोधन हुन नसकेको मर्यादित महिनावारी अभियानकर्मी गोबिन्द खड्का बताउँछन् । “म पुरुष हुँ तर मैले पनि महिनावारी विभेद खेपेको छु, पाठेघर र अण्डासय लिएर नजन्मेको भएपछि मलाई त्यो पीडा र प्रताडनाको हेक्क छ” अभियानकर्मी खड्का भन्छन् “म सानो छँदा जतिबेला आमा महिनावारी हुनुहुन्थ्यो, म पनि उहाँसँगै गोठमा बसे, जाडो खेपे, भोक तिर्खा खेपेँ ।”
माले आफ्नो जीवनभर मर्यादित महिनावारी नहुँदा भोग्नु परेको पीडासँगै आफूले पनि हरेक महिना ५ दिनको दरले ८ वर्ष विभेद खेपेको उनी बताउँछन् । “त्यो बेला प्रतिकार गर्ने ज्ञान र हिम्मत थिएन, अहिले सम्झदा कहाली लागेर आउँछ, आमाले भोग्नु भएको पीडामा मैले मल्हम लागाउन सकिन, भक्कनिन्छु अहिले स्मरण गर्दा पनि” उनी भन्छन् ।
आमा महिनावारी भएको कारण भान्सामा नगएपछि पौष्टिक खाना नपाउने मात्रै हैन, महिनावारी विभेदको कारण बालिकाहरु खेल, शिक्षाबाट समेत बञ्चित हुनु परेको खड्का बताउँछन् ।
नेपालको संविधानले अंगिकार गरेको मौलिकहकहरु नै महिनावारी विभेदको कारण उल्लङघन भएको खड्का बताउँछिन् । संविधानमा उल्लेख भएका मौलिक हकहरुको १४ वटा धाराहरुको प्रत्यक्ष र १९ वटा धाराहरुको अप्रत्यक्ष उल्लङ्घन भएको उनले बताए । महनिावारी नहुने बालकले पनि आफ्नो जीवनको ८ वर्ष प्रत्यक्ष विभेद खप्नु पर्छ ।
महिनावारी हुनेहरुले झन् जन्मनु अघिबाट र्मत्यु पश्चात पनि विभेद खेप्नु पर्छ । मृत्यु पश्चात पनि सामाजिक/साँस्कृतिक प्रचलनको नाममा विभेद गर्ने गरिएको छ । हाल जल्दोबल्दो सवालको रुपमा रहेको जलवायु परिवर्तनको सवालमा महिनावारीको सवाल पनि सँगै अघि बढाउनु पर्ने उनको सुझाव छ । “प्रक्रियागत र नीतिगत त्रुटीको कारण मर्यादित महिनावारीको सवाललाई बेवास्ता गरिदै आएको छ, जलवायु, बालमैत्री जस्ता सबै अभियानमा मर्यादित महिनावारीको सवाल अनिवार्य रुपमा पहिलो सवाल हो” पौडेलले भनिन् । देशले दीगो विकासको लक्ष्य हासिल गर्न समेत मर्यादित महिनावारी सबैभन्दा पहिलो सर्त भएको पौडेले बाउँछिन् ।
महिनावारी प्राकृतिक प्रक्रिया
महिनावारी हुनु कुनै पाप हैन । महिनावारीको रगत शुद्ध सफा र पवित्र हो भनेर बुझाउन आफैंबाट सुरु गरेको बताउँछिन विराटनगरकी पत्रकार चिना थापा । महिनावारी हुँदा मन्दिर जानु हुन्न भनिन्थ्यो, मैले कहिल्यै यस्तो गरिन” चिना भन्छिन् “महिनावारी भएको बेलामा छोरालाई खुवाए चुठाएपछि पनि मुख नसुकी हामीलाई नछो भनेर बाबुलाई पर राख्थे, मैले महिनावारी भएको भन्दै नभनि खाना पाएर दिंए केही भएन, मन्दिर गएँ, सबै काम नियमित गरे, केही भएको छैन ।”
एकाधलाई शारिरीक समस्या हुन्छ, नत्र सबैले महिनावारी भएको ५ दिन र नभएको २५ दिन समान रुपमा आफ्नो भूमिका निर्वाह गर्न सक्छन् । यो सामान्य प्राकृतिक प्रक्रिया हो । दोलखा जिल्लामा किशोरावस्था पार गरेकी कालिका खड्का पनि महिनावारी हुँदा पटक पटक दोलखाको भिमेश्वर मन्दिरमा पुजा गरेको स्मरण गर्छिन् । हाल राष्ट्रिय समाचार समितिको स्थायी पत्रकार खड्का काठमाण्डौको घरहरुको भाडामा बस्दा समेत महिनावारी भएको कारण विभेद देखेकी छिन् ।
“मैले काठमाडौको कोठामा बस्दा महिनावारीमा घरभेटीले गर्ने विदेभ देखेको छु, तर काठमाडौंको पशुपति मन्दिर पनि गएको छु ।” महिनावारीमा मन्दिर, भान्सा र छुन नहुने भनिएका कुनै पनि सवालमा आफूले स्वीकार नगरेको उनी बताउँछिन् । “पहिले सिधैं महिनावारी विभेद प्रतिकार गर्न सकिन नभनेरै सबै अवरोध कुल्चे, अहिले मिडिया मार्फत नै भन्दै आएको छु, यो सामान्य प्राकृतिक प्रक्रिया हो” पत्रकार खड्काले भनिन् ।
विराटनगरकी चिना र दोलखाकी कालिका जस्तै संखुवासभाकी पत्रकार सुजता लिम्बुले पनि प्रक्रियागत विभेदको अन्त्य आफैंबाट सुरु गरिन् । “महिनावारी भएकै दिन पाथिभारा मन्दिर गएको थिएँ, केही समय केही अनिष्ठ होला कि भन्ने तनाव भयो, तर केही नभएपछि त्यो बेला व्यर्थमा तनाव लिएछु भन्ने भयो” सुजता भन्छिन् “पहिले महिनावारी हुने मान्छे आफैंले हिम्मत गर्नुपर्ने रहेछ, परिवार, समाजको सोच र सँस्कृति परिवर्तन गर्न सकिन्छ ।”
तर, समाज परिवर्तन गराउन सक्ने शिक्षकहरुले पनि महिनावारी माथि सही धारण बनाउन नसेकेकोमा डढेलधुराकी पत्रकार ममत भट्टको मन खुसी छैनन् । “महिनावारी हुँदा छोइछिटो गर्ने, मन्दिर नजाने, खानेकुरामा रोकतोक शिक्षकहरुमा पनि छ, उहाँहरु त समाजका पढेलेखेका व्यक्ति, यो प्राकृतिक कुरा किन नबुझेका होलान्” ममता भन्छिन् ।
मर्यादित महिनावारी क्रस कटिङ इस्यु
महिनावारीलाई मयार्दित बनाउने बारे कानुन छ, तर कार्यान्वयन छैन । महिनावारी हुने व्यक्तिहरुलाई पनि कानुनबारे जानकारी छैन । जानकारी भएकाहरू पनि यसको कार्यान्वयमा चासो दिंदैनन् । यसले महिनावारी हुँदा विभिन्न प्रकारका विभेदहरू भोग्न बाध्य छन् । कानुनी अज्ञानता र कार्यान्वयनमा देखिएको उदासीनताका कारण महिनावारी बार्ने नाममा विभेद तथा हिंसा झाँगिदो छ ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १६८ मा कसुरजन्य कार्यहरू अन्तर्गत सामाजिक बहिष्कार गर्ने वा कुर, अमानवीय वा अपमानजनक व्यवहार गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।
त्यस्तै महिलाको महिनावारी वा सुत्केरी अवस्थामा कुनै पनि किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार ठानिने व्यवस्था रहेको छ । यस्तो व्यवहार भएमा ३ महिनासम्म कैद वा ३ हजार रूपैयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था कानुनमा छ । तर यो कानुनको कार्यान्वयन देखिदैन ।
मर्यादित महिनावारी, महिनावारी हुने व्यक्ति (किशोरी, महिला, ट्रान्सजेण्डर, क्विर) हरुको जीवनकाल भर महिनावारी विभेदरहित अवस्था हो । मर्यादित महिनावारीको सवालले महिनावारी हुनेहरुलाई प्रत्यक्ष्य सम्बोधन गरे पनि यसले अप्रत्यक्ष रुपमा सबैको सवलिकरणलाई सम्बोधन गर्छ । यो नयाँ, र बृहत् अवधारणा हो । यसले महिनावारीलाई लैङ्गि क हिंसा र मानव अधिकारको हननको रूपमा व्याख्या गर्छ ।
दिगो विकासको लक्ष्य र मर्यादित महिनावारीको अवधारणा समान रहेपनि दिगो विकास लक्ष्यमा महिनावारी केन्द्रित विशिष्ट लक्ष्य तथा सूचकहरू नराखिएको मर्यादित महिनावारीका विश्व अभियन्ता डा.राधा पौडेलको तर्क छ ।

दिगो विकास लक्ष्यको बहस वा कुनै पनि काम छलफल गर्दा मर्यादित महिनावारी क्रस कटिङ सवालको रूपमा आइरहनु पर्दछ । दीगो विकासको १७ वटा लक्ष्यहरू मध्ये ९ वटा लक्ष्यसँग प्रत्यक्ष सम्बन्ध छ महिनावारीको सवाल । पौडेलको भन्छिन् “मर्यादित महिनावारीको बहसविना ती लक्ष्यहरूको प्राप्ति सम्भव नै छैन ।” पहिलो लक्ष्य (१.४) गरिबी हटाउनेसंग सम्बन्धित छ किनभने महिनावारी विभेद रहीरहेमा कुनै पनि स्रोत साधन, सेवा, प्रविधि र आर्थिक स्रोतमा समान हक स्थापित हुन सक्दैन ।
जुन व्यक्तिले महिनावारीलाई गौरवको रूपमा स्वीकार गर्न सक्दैन उसले न बिहे न परिवार नियोजन न सुरक्षित यौन जीवन बारे छलफल गर्न वा अधिकार प्रयोग गर्न सक्छ । यसैगरी यसैको सोह्रौँ लक्ष्य अनुसार शान्ति र न्याय संग सम्बन्धित छ, जहाँ महिनावारी विभेदले स्वयम् व्यक्तिभित्र, परिवारमा, समुदाय र राज्यसँग अदृश्य द्वन्द निम्त्याएको हुन्छ, परिणामस्वरूप समानता, सामाजिक न्याय र मानव अधिकारको हनन भएको हुन्छ ।
दिगो विकासका नौवटा लक्ष्यसंग प्रत्यक्ष वा अप्रत्यक्ष्य सम्बन्ध रहेको मर्यादित महिनावारीलाई बहिष्करण गरेर वा भैसकेको अवस्थामा महिनावारी प्याड वा सरसफाइ वा चर्पीको कुरा मात्र गरेर न दिगो विकासका लक्ष्य पुरा हुन्छ न कोही पनि नछुट्ने नारा सफल हुन्छ ।
यसैले पनि दिगो विकास लक्ष्यमा काम गर्ने जो कोहीले मर्यादित महिनावारीलाई केन्द्रमा राखेर काम गर्नु आवश्यक रहेको पौडेलेको तर्क छ । “मर्यादित महिनावारीको मूलप्रवाहीकरणको कुनै विकल्प नै छैन, अब विलम्ब गरिनु हुँदैन” उनी भन्छिन् ।
सौराहा (चितवन) । ८ बर्षदेखी टांगा चलाएर दैनिकी गुजारिरहेका टोनि पाउ सौराहाको हात्ती चोकमा पर्यटक कुरिरहेका थिए ।
सांझ ५ बजे चोकमा भेटिएका उनी पैदलयात्री देखिएपछि आफूले सेवा गर्ने मौका पाइने आशामा आँखा त्यतै लगाइरहेका देखिन्थे
“आज कतिखेप भ्याउनु भयो दाइ ?” प्रदाईको उत्तरमा उनले भने, “एकै खेप पाएको छैन, आज अलि ढिलो गरि निस्केको,त्यसमाथि अचेल पर्यटक नै छैनन्।”
हात्ती चोक नजिकै बसोवास गर्द आएका उनलेे पर्यटको आवागमन कम भएसंगै आफूहरू आर्थिक समस्या हुने बताए । “परिवारमा ५ जना छौ, आम्दानीको बाटो यतिमात्र हो,पढ्नेहरूलाई पढाउनै पर्यो, घरखर्च भैहाल्छ” उनले भने “अब कम्तीमा ३ महिना पर्यटक पाउनै कठिन छ।”
उनलेे जस्तै टांगा चलाएर दैनिकी चलाउंदै आएका ५० भन्दा बढी जना अहिले आफ्नो दैनिकीमा आएको सुस्तताले चिन्तामा छन् । उनीहरू मात्रै हैन, पर्यटनको सख्या घटेपछि होटल व्यवसायीहरुको कारोवार पनि सुस्ताएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्र बर्सातको तीन महिना ‘अफ सिजन’ मानिन्छ । असारको मनसुन सुरु भएसंगै पर्यटनको आवागमन पतलिदै गएको होटल व्यवसायी सम्राट लामाले बताए । “पर्यटक घटेपछि व्यापार स्वाट्टै घटेको छ” उनले भने ।
सौराहामा धेरै जसो पर्यटकहरूको मुख्य गन्तव्य हुन्छ जङ्गल सफारी गर्ने, वन्यजन्तुको अवलोकन गर्ने । तर १६ असारदेखि जिप सफारीका लागि जङ्गल प्रवेशमा रोक लगाइएपछि सौराहाको आकर्षण नै घटेको छ । तर निकुञ्जभित्र प्रवेश रोक लगाए पनि मध्यवर्ती क्षेत्रमा भने पर्यटकको गतिविधि लगभग उस्तै रहेको छ मध्यवर्ती क्षेत्रमा प्रवेश रोकिएको छैन ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार निकुञ्जमा जिप सफारी बन्द हो, अन्य गतिविधि बन्द नगरिएको कारण अझै पर्यटनलाई अवसर रहेको छ । अफ सिजनमा पर्यटकको सङ्ख्यामा गत वर्ष जस्तो कमी नआएको उनको भनाइ छ । उनका अनुसार अफ सिजन भए पनि २५/३० प्रतिशत पर्यटक अहिले सौराहा क्षेत्रमा आएका छन् । यहाँको व्यवसाय चलायमान रहनुमा मुख्यत पर्यटन नै हो ।
हाल निकुञ्जभित्र जङ्गल ‘वाक’, डुङ्गा सयर, सौराहाको कुमरोज, बाघमारा, चित्रसेन मध्यवर्ती सामुदायिक वनमा आउने पर्यटकका लागि हात्ती सफारी सञ्चालन भइरहेको छ ।
बर्सातमा रुख ढलेर बाटो बन्द हुने, जिप यात्रा जोखिम हुने, खोला बढेर बाढी आउनेलगायतका कारणले जिप सफारी बन्द गर्दै आएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । “हामीले हरेक वर्ष जिप सफारी बन्द गर्दै आएका छौँ, अहिले पनि तीन महिना बन्द गर्छौं,” निकुञ्जको ‘कोर’ क्षेत्रबाहिरका मध्यवर्ती सामुदायिक वनमा सधैँ हात्ती, जिप र डुङ्गा सफारी हुने जानकारी उनले बताए ।
पूर्वी चितवन, पश्चिम चितवन, माडी, नवलपरासीलगायतका निकुञ्जका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि नरोकिने उनले बताए । बाघमारा क्षेत्रमामात्रै एक वर्षमा एक लाख ५० हजारभन्दा बढी पर्यटकले सफारी गरेको थिए ।
सौराहा आएका पर्यटक सबैभन्दा धेरै यसै क्षेत्रमा सफारी गर्दछन् । यस वनमा हात्ती सफारी, ‘जङ्गल वाक’, जङ्गलमा बनाइएको मचानमा बासलगायतका गतिविधि गर्दै आएका छन् । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पाइने दुर्लभ एकसिङे गैँडा, पाटे बाघलगायतका वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् ।
३ दिनदेखी सौराहा अवलोकन गरिरहेका जापानी नागरिक समाई कोजिले आफूलाई प्रकृति दृश्यले आनन्द प्रदान गरेको बताए । नेपालमा मनसुन सुरु भएको ठ्याक्कै एक महिना भयो । यो बिचमा चितवन क्षेत्रमा नै सबैभन्दा बढी पानी परेको तथ्यांकले देखाउँछ । झरिसंगैको नदिको बहाव छिनछिनमै बढ्ने घट्ने गरेको छ । यहि बहाव हेरेर दंङ्ग छ जापानी नागरिक कोजि ।
विहिबार बिहानैबाट सुर्यदर्शन गर्न पर्खेको बताउंदै उनले भने “जंगलको दृश्यसँगै सुर्यास्त हेर्न लालायित थिएं,पाइन ।” यद्यपि दुरवीनको सहायताले केही जनावर हेर्न पाएको उनलेे बताए ।
उनी ३ दिनदेखि ४ जना परिवार सहित सौराहमा छन् ।
विदेशका लागि निकुञ्ज प्रवेशमा दुई हजार शुल्क तोकिएको छ । भने हात्ती सफारीका लागि दुई हजार पाँच सय, जिप सफारीका लागि दुई हजार शुल्क लाग्छ ।
युनाइटेड हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार मौसमकै कारण हात्ती सफारी बुकिङ घटेछ ।
अद सिजनको कारण आर्थिक कारोवार ८५/८० प्रतिशत घटेको होटल व्यसायिक विकल दाहालले बताए । युवा उद्यमी मंचको चितवनको निवर्तमान अध्यक्ष समेत रहेका उनी भन्छन् “मन्दीकै कारण त हाम्रो तिर त्यस्तो धेरै समस्य थिएन, अहिले अफ सिजनले चाहिँ व्यवसाय सुस्ताएको छ।”

उनको सहकारीमा हाल ३० वटा हात्तीले दैनिक एउटा ‘ट्रिप’समेत पाउन नसकेको अवस्था छ। दैनिक १२ देखि १५ वटा ट्रिप आउने गरेकोमा वर्षा सुरुभएपछी यो लगभग सुन्यमा झरेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षामा सफारी बन्द गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार अब पानीको मौसम रहुन्जेल यो बन्द नै रहने छ ।
“अब असोज १० गतेदेखि निकुञ्ज खुला गरिनेछ, बाटो र पुलहरू धेरै बिग्रिएका छन् त्यसपछि पनि मर्मतको लागि समय लाग्न सक्छ।” असोज १० पछि ती ठाउँबाहेक अन्यत्र खुला गरिने उनले बताए।
पर्यटन क्षेत्र घोषणा गर्न माग
पर्यटनलाई अझै प्रवर्द्वन गरि व्यवसाय बढाउन तर्फ स्थानीय सरकारले ध्यान दिन माग गरिएको छ । स्थानीयवासीले गत ३० बैशाख २०८१ मा सौराहालाई पर्यटन क्षेत्र घोषणा माग गरेका थिए ।
साथै चितवन राष्ट्रिय निकुञ्ज प्रवेशमा पर्यटकहरुलाई लिइने पार्क टिकटको एक दिनको समयावधि अत्यन्तै कम भएको हुँदा यसलाई लम्ब्याइ कम्तीमा पाँच दिनसम्म लागू गर्न आग्रह गर्दै व्यवसायीहरुले माग गरेका थिए । यसबाट हाल जम्मा भइरहेको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि हुने विश्वास समेत दिलाएका छन् ।
स्थानीयले गृहमन्त्री मन्त्री रवि लामिछानेलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । गृहमन्त्री लामिछानेले सौराहालाई पर्यटन क्षेत्र घोषणा गरेर व्यवस्थित गराउनको लागि सकारात्मक रहेको प्रतिक्रिया पाएका स्थानीय कार्यान्वयनको प्रतीक्षामा छन् ।
पर्यटन गिज्याउने हिलाम्य सडक
पर्यटनको लागि आकर्षक गन्तव्य भए पनि यहाँका सडक पुर्वधार दिक्क लाग्छ बनेको छ । हिउँमा दुलाम्य हुने सडक अहिले बर्षमा भने होलाम्य भइरहेका छन् ।
नगरपालिका देख्दैन, खबरदारीमात्रै कती गर्नु स्थानीय व्यापारी सुजन खत्रीले भने “देश विदेशका पर्यटक आउने बजारको सडकको हातल लाजमर्दो छ ।” सौराहा बजारको हात्ती चोक, गैंडाचोक र चराचोक आसपासको भत्केका सडकको मर्मत, जिर्णोद्वार नभएपछि बर्षमा समस्या ग्रस्त बनेका छन् । ढलको राम्रो व्यवस्थापन नहुंदा सडक थप हिलो हुने गरेको स्थानीय संझना जैसिले बताइन् ।