मकवानपुर । हेटौंडा बजार क्षेत्रमा खानेपानीको उपलब्धता पर्याप्त बन्दै गएको छ । पानी दिवसको अवसरमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले शुक्रबारदेखि हेटौंडा बजार क्षेत्रमा वितरणका लागि दैनिक करिब ६० लाख लिटर खानेपानी थपिएको जनाएको छ ।
विश्व पानी दिवसको सन्दर्भ पारेर बोर्डले हेटौंडा उपमहानगरपालिका र गढीगाउँपालिकाको संगमस्थल सामरी खोला नजिकै निर्माण गरिएकाे हालसम्मकै ठूलो समवेल उद्घाटन गरिए पछि उक्त परिणाममा खानेपानी थपिएकाे हाे । उक्त समवेल निर्माण गरी दैनिक ६० लाख लिटर खानेपानी थप भएकाे बाेर्डले जनाएकाे छ ।
बोर्डले यसअघि हेटौंडामा दैनिक २ करोड ६२ लाख लिटर पानी वितरण गर्दै आएकोमा अब दैनिक ३ करोड २२ लाख लिटर पानी वितरण गर्नेछ ।बोर्डले हेटौंडामा २६ हजार नौसय धारामार्फत् पानी वितरण गरिरहेको छ । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टका अनुसार बोर्डको आफ्नै आन्तरिक आयबाट करिब २५ लाख रुपैयाँ लगानीमा उक्त समवेल निर्माण गरिएको हो । हेटौंडामा जनसंख्या बढ्दो अवस्थामा रहेपछि पिउने पानीको समस्या बढ्दै जांदा बोर्डले अब २४ सै घण्टा धारामा पानी उपलब्ध गराउन सक्ने गरि ठुलो परियोजना सुरु गरेको अध्यक्ष प्रताप विष्टले बताए ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालगायतले समवेलको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा गढी गाउँपालिकाका प्रमुख दोर्जे लामा, हेटौंडाका उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायतको उपस्थिति रहेको थियो ।
बारा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि आज शनिबार मकवानपुर र पर्सा भिड्ने भएका छन् । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।
पर्सा समूह ‘ए’ को विजेता भइ फाइनल प्रवेश गरेकाे हाे । पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब ७७ रन र कलैया क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरेको थियो । मकवानपुरले समूह चरणको पहिलो खेलमा जनकपुरमाथि ३१ रनको जीत निकालेको थियाे । मकवानपुरले दोस्रो जीत दर्ता गर्ने क्रममा खुकुरी क्रिकेट क्लब भैरहवालाई १५ रनले पराजित गरेको हो ।
टस हारेर व्याटिङको निम्तो पाएको मकवानपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन जोडेको थियो । मकवानपुरका लागि तक्षक सिम्ख्डाले ५४ रन बनाए । उनले २४ बलमा ६ छक्का र एक चौका प्रहार गरे । यसैगरी मकवानपुरका गौरव खड्काले २७, युविन बुढाथोकीले २१, बिशाल फुयालले १९ र सक्षम वस्ताकोटीले ११ रन बनाए । भैरहवाका रोशनलाल गुप्ताले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर तीन विकेट लिए भने अजयकुमार चौहानले दुई र सन्तोष यादवले एक विकेट हात पारे ।
रनरेटका आधारमा फाइनलमा पुग्न मकवानपुरले दिएको १४९ रनको लक्ष्य १४।५ ओभरमै भेट्टाउनुपर्ने बाध्यताका साथ मैदानमा उत्रिएको भैरहवाले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३३ मात्र रन जोड्न सफल भयो । भैरहवाका रोशनलाल गुप्ताले २८, प्रज्वल थापाले २१, प्रकाश गिरी र अजय चौहानले समान १९ रन बनाए । मकवानपुरका सुवर्ण भट्टले तीन, पियुश शर्मा र बिशाल फुयालले समान २-२, समिर चौलागाई र अशिम श्रेष्ठले १-१ विकेट हात पारे ।
भैरहवाले १४.५ ओरभमा लक्ष्य प्राप्त गरेको भए रनरेटका आधारमा समूह विजेता बन्दै फाइनलमा प्रवेश गर्ने थियो भने १६ ओभरमा मकवानपुरलाई पराजित गरेको जनकपुर पेस फाउण्डेशन अन्तिम दुईमा प्रवेश गर्ने थियो । समूह ‘बी’ को यसअघिका खेलमा मकवानपुरले जनकपुरलाई ३१ रन र जनकपुरले भैरहवालाई ४८ रनले पराजित गर्दै समान २-२ अंक बटुलेका थिए । समूह ‘बी’ को अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो ।
खेलको प्लेयर अफ दि म्याच मकवानपुरका तक्षक सिम्ख्डा घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले पुरस्कृत गरेका थिए । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।
मकवानपुर । संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध तथा समन्वय) ऐन, २०७७ ले प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धलाई ब्यापक रुपमा समेट्न सकेको ठकर गर्दै यसतर्फ ध्यान दिन अनुराेध गरिएकाे छ ।
यसैगरी प्रदेश र स्थानीय तहबीच आउन सक्ने राजनीतिक प्रकृतिको विवाद समाधान गर्ने संयन्त्रको आवश्यकता संविधानले नै महशुस गरेकोले हाल प्रदेश र स्थानीय तहबीच देखा परेको समन्वय र सहकार्यताको अभाव पुर्ती नगरी संघीय संविधान प्रभावकारी कार्यान्वयन हुन नसक्ने बताइएकाे छ ।
प्रदेश र स्थानीय तहबीच बन्ने विषयगत समितिको प्रभावकारीताले संविधान बमोजिम तहगत समन्वय र सहकार्य सहज हुने, प्रदेश र स्थानीय तहबीच विभिन्न विषयमा समन्वय र सहकार्य गर्ने बारे सुझाब दिइएकाे हाे ।
नेपाल कानून समाजद्वारा शुक्रबार हेटाैडामा आयोजित प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावि रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा यस्ताे आवश्यकता बारे सुझाव दिइएकाे नागरिक संवाद केन्द्र प्रमुख रघुनाथ खरालले बताए ।
कार्यक्रममा नेपाल कानून समाजका कार्यक्रम निर्देशक अधिवक्ता मोहन आचार्यले प्रदेश र स्थानीय तहको समन्वयको अवस्था र चुनौतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालकाे तीन तहकाे संरचनामा अन्तरसम्बन्ध सम्बन्धी ऐनमा भएका मुख्य ब्यवस्थाहरुमाथि चर्चा गरिएकाे थियाे । हाल विद्ममान तीन तहको कार्यात्मक अन्तरसम्बन्ध, समन्वय र पामर्शको विधि तथा प्रकृयाको ब्यवस्था गरिएको, मौलिक हकको कार्यान्वयन, भ्रष्ट्रचार नियन्त्रण, वातावरण संरक्षण लगायतका १८ वटा विषयहरु समेटिएको, संघले कानून नबनाएका कारण प्रदेश र स्थानीय तह र प्रदेशले नबनाएका कारण स्थानीय तह रोकिन नपर्ने विषय स्पष्ट पारिएको बारे छलफल गरिएकाे थियाे ।
प्रदेश तथा स्थानीय तहको अन्तरसम्बन्धको अवस्थामाथि पनी छलफल गरिएकाे थियाे । गाउँसभा र नगरसभाको सञ्चालन, बैठकको कार्यविधि, समिति गठन, सदस्यको पद रिक्त हुने अवस्था, गाउँसभा र नगरसभाका सदस्यले पाउने सुविधा, गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानूनबमोजि हुने, सवारी साधन कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन करको दर प्रदेशले लगाउने र गाउँपालिका र नगरपालिकाले उठाउने, बिज्ञापनको दर गाउँपालिका र नगरपालिकाले लगाउने र उठाउने तर ती करमध्ये घर जग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर विज्ञापन कर साठी चालिसको रुपमा दुवै तहले बाँडफाँट गर्ने, जिल्ला सभाको सञ्चालन, जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा तथा जिल्ला सभा सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुने गरेकाे व्यवस्थाबारे पनि अधिवक्ताले मोहन आचार्यले प्रकाश पारेका थिए ।
संघीय प्रणालीको मुल उद्देश्य नै जनताको नजिकको सरकार र प्रभावकारी सेवा प्रवाह भएको, तीन तहको संघीयता प्रभावकारी हुन प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेकाे, प्रदेश र स्थानीय तहबीच साझा अधिकारको व्यवस्था भएको तर सुची तीनतहको मात्र रहेको, संविधानको धारा २३५, ९२०, ९३० मा प्रदेश सभालाई कानून बनाउने अधिकार रहेको, वित्तिय समानीकरण अनुदानको व्यवस्थाबारे प्रदेश तथा स्थानीय तहको अन्तरसम्बन्धको आवश्यकताबारे जानकारी गराइएकाे थियाे ।
यसैगरी नमुना विधेयकमा समेटिनु पर्ने मुख्य व्यवस्थाहरुमाथि पनि छलफल गरिएकाे थियाे । प्रदेश तथा स्थानीय तहबाट आफ्नो कार्यक्षेत्र अन्तर्गतका विषयमा कुनै आयोजना कार्यान्वयन गर्दा दोहोरो नपर्ने गरि समन्वय गर्नुपर्ने विषय, साझा परियोजना, लाभको बाँडफाँडमा समन्वय सम्बन्धी विषय, विषयगत समितिको संरचना अन्तर्गत समितिको व्यवस्था, स्थानीय तहबाट सदस्य तोक्दा समावेशी शिद्धान्तको आधारमा तोक्नुपर्ने व्यवस्था, विषयगत समितिको काम कतव्र्व्य र अधिकार, विवाद समाधान सम्बन्धी व्यवस्थाहरु त्या कार्यविधि, प्रदेश सरकारले स्थानीय तहसंग र स्थानीय तहले प्रदेश सरकारसंग सम्पर्क गर्दा अपनाउने तरिका र ऐनको कार्यान्वयनको मापन सम्बन्धी जानकारी गराइएकाे थियाे ।
बागमती प्रदेश सभा उपसभामुख अपसरा चापागाई, प्रदेश सभा सांसदहरु,विभिन्न पालिकाहरुकाे प्रमुख उपप्रमुख कानूनी सहजकर्ताहरुकाे समेत उपस्थिति रहेकाे कार्यक्रममा सहभागीहरुले समेत समूह छलफल गरेर प्रस्तुती गरेका थिए ।
मकवानपुर । मनाेसामाजिक स्वास्थ्य समस्या अनुभव गरेका व्यक्तिहरुले स्वास्थ्य मन्त्रालय बागमतीमा ज्ञापन पत्र बुझाएका छन् । मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालाई उनीहरुले विशेष सवालमा सम्बाेधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको तर्फबाट धिरज लामा,मायादेवी गौतम, प्रर्मिला बरैली, बन्दना थिङ तामाङ, विशाल मोक्तान, पुतली स्याङबो, रन्जना ढुङगानालगायतले ज्ञपान पत्र बुझाएका हुन् । मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यको विषयलाई बजेट विनियोजन मार्फत् प्राथमिकतामा राखी सम्बोधन गरिदिने उनीहरुले माग गरेका छन् ।
मानसिक स्वास्थ्य विना पूर्ण स्वास्थ्य सम्भव नभएकाे बताउँदै उनीहरुले प्रदेश सरकारको बार्षिक बजेट परिचालन गरि मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत संस्थाहरुसंग साझेदारी गरिनु पर्ने, मानसिक स्वास्थ्य सेवामा टेलिमेडिसिन सेवालाई स्थानीय तहका अस्पतालमा जोड्ने कार्यक्रमहरु गरिनुपर्ने, प्रदेशले सञ्चालन गर्ने जनस्वास्थ्यका सबै कार्यक्रमहरुमा मानसिक स्वास्थ्य सेवालाई एकिकृत गरिनुपर्ने, प्रदेश अर्न्तगत रहेका अस्पतालहहरु तथा केन्द्रद्वारा सञ्चालित अस्पतालहरुबाटनै भर्ना गरि मानसिक स्वास्थ्य सेवा दिने व्यवस्था मिलाइनुपर्ने माग गरेका हुन् ।
बिमाबाट उपलब्ध औषधीको व्यवस्थापन गरी समस्या भएको व्यक्तिको आवश्यकता अनुसार अति आवश्यक औषधीहरु निःशुल्क प्रदान गरिनुपर्ने, प्रदेश अन्तगतका निकायहरुमा एक कार्यलय एक मनोविमर्शकर्ताको ब्यबस्था गरिनुपर्ने, पहुँच नपुगेका क्षेत्रका व्यक्तिहरुको मानसिक स्वास्थ्यको सेवामा पहुंच बढाउन त्यस्ता क्षेत्रहरुलाई समेट्ने गरि त्रैमासिक रुपमा मानसिक स्वास्थ्य सेवा क्याम्प सञ्चालन गर्ने नीति बनाईनुपर्ने, मानसिक अपांगता भएका व्यक्तिहरुलाई अत्यावश्यकताको आधारमा बिषेश प्याकेज मार्फत् सहुलियत सहितको विषेश सेवा प्रदान गर्ने कुराहरुलाई नीतिगत रुपमा समावेश गरिनुपर्ने माग गरेकाे समन्वय तथा सहजिकरण गर्दै आएकाे संस्था काेशिश मकवानपुरकी पैरवी अधिकृत सुनिरा लामाले बताइन् ।
नेपालको राष्ट्रिय जनगणना २०७८ काे तथ्याङ्क अनुसार कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता छ । त्यसैगरी कुल अपाङ्गताको ४.२८ प्रतिशतमा मनोसामाजिक अपाङ्गता छ । मनोसामाजिक अपाङ्गताको विवरण अनुसार नेपालमा महिला १३ हजार ७२ र पुरुष १४ हजार ९७३ जना छन् । यसैगरी बागमती प्रदेशमा महिला २ हजार ७९७ र पुरुष २ हजार ८६३ जनामा मनोसामाजिक अपाङ्गता छ । मकवानपुर जिल्लामा महिला २३० पुरुष २९४ जना छन् । यसैगरी हेटौंडा उपमहानगरपालिकामा महिला ७८ पुरुष १०७ जनामा मनोसामाजिक अपाङ्गता छ ।
खैजेडी भजन र पञ्चेबाजामा महिलाको लगाव (भिडियाे सहित)
Tags: No Comments
मकवानपुर । मकवानपुर हेटौंडा ५ निवासी ५५ वर्षीय भगवती दाहालले स्कुले शिक्षाको थाहै पाइनन् । उनका दाजु र भाइहरुले उच्च शिक्षा हासिल गरे। तर भगवती र उनकी दिदीलाई स्कुल भर्ना समेत गरिएन । वि.स २०४१ मा १५ वर्षको उमेरमा विवाह भयो ।
औपचारिक स्कुले शिक्षा नपाएपनि उनलाई रामायण, देवी भागवत, कृष्ण चरित्र, गुणरत्नलगायतको विभिन्न खण्डहरु मुखारी छन् । “घरैमा दाजुहरुले पढेको हेरेर अक्षर चिने, बाह्रखरीको अक्षर चिन्न थालेपछि बुबा (रामजी गौतम) को किताब लुकी लुकी पढ्ने कोशिस गर्थें” उनले बाल्यबस्थाको स्मरण गरिन् । उनको बुबाले पनि भजन गाउँनुहुन्थ्यो, काम धन्दा सकेर उनका दुई दिदीबैनी बुबाको भजन भन्ने मेलामा पुगिहल्थे । “गाउँमा पूजा छ, भजन भन्ने रे भनेको सुनेपछि हामी हतारीदै काम भ्याएर पुग्थ्यौ, बुबाभन्दा अघि नै, सुटुक्क बसेर सुन्थेउ त्यहीबाट रस पसेछ” उनी भन्छिन् ।
अहिले उनको त्यही कलालाई साथीहरुले साथ दिएका छन् । उनीहरुको चर्चा गाउँ वस्ती, टोल र जिल्ला जिल्लामा फैलने क्रममा छ । अब भगवती एकै पनि छैनन् । उनको कला र गलालाई साथ दिन्छन् हेटौंडा ५ स्थित रुद्रेश्वर महादेव खैजेडी भजन समूहका महिलाहरुले । लोप हुँदै आएको खैजडी भजनमा यहाँका महिलाहरुले चासो दिएपछि मन्दिर व्यवस्थापनले पनि सहयोग गर्दै आएको छ ।
यहाँ पहिले ९ जना पुरुषहरुको समूह थियो भजनको लागि । पछिल्लो समय महिलहरुको मात्रै भजन समूह बनेको छ । जसको नेतृत्व गरेकी छिन् विष्णुकुमारी कार्कीले । महिलाहरुले पनि चासो दिन थालेपछि विस्तारै सिक्नेहरुको संङख्या बढ्यो । अहिले यहाँ १० जनाको महिला भजन समूह छ । समूहको केहीलाई अन्य व्यस्ततामा सङ्ख्या नपुग्दा पुरुष सदस्यहरु पनि सहभागी हुन्छन् । “पुरुषहरुको छुट्टै समूह अहिले पनि छ, तर चर्चामा महिलाकै समूह छ” समिति पूर्व अध्यक्ष बालचन्द्र दुलाल भन्छन् ।
महिलाहरुको भजन समूहको नेतृत्व उनै ५५ वर्षीया भगवतीले गर्छिन् । पूजा पाठमा रामायण, महाभारत, कृष्ण चरित्र, गुणरत्न माला जस्ताको कथालाई श्लोकको रुपमा उनी भट्याउँछिन् । अन्य जनचेतनामुलक कार्यक्रमहरुमा पनि उनीले उसै गरि श्लोक बनाउँछिन् । वातावरण दिवस होस्, श्रमिक महिला दिवस, लैङ्गिक हिंसा विरुद्धको अभियान जस्ता सचेतनामूलक कार्यक्रमहरुमा उनी समय सापेक्ष शब्द भरेर श्लोक बनाउँछिन् । अरु महिलाहरुले साथ दिन्छन् खैजडी बाजाको साथमा ।
समूहबाट खैजेडी भजनको प्रस्तुती लिनको लागि निश्चित शुल्क तोकिएको छैन । नजिकै जाँदा, विभिन्न धार्मिक कार्यक्रमहरुमा शुल्क लिने गरिएको छैन । टाढाको बाटो जाँदा,रातभर नै प्रस्तुती दिंनु पर्दा भने यातायात र केही दक्षिणा लिने गरेको विष्णु कार्कीले बताउँछिन् । “हामीले तोकेर नै शुल्क राखेका छौंनौ, टीका दक्षिणमा दिएको लिने गरेका छौ” उनले भनिन् ।
खैजेडी भजनको लागि आवश्यक हार्मोनियर, झ्याली, साउण्ड सिस्टम, मादललगायतको सामग्री किन्दा समेत उनीहरुले आफू आफूबाटै पैसा उठाएर सामान जुटाएका थिए । केही अपुग सामग्री हेटौंडा उपमहानगरपालिकाले केही महिना अघिमात्रै सहयोग दिएकाे दुलालले बताए ।
खैजेडी भजनकाे छाेटाे प्रस्तुति हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
सचेतना र मेरिटेशनमा समेत उत्कृष्ट
खैजडी भजनको सुरुवात धर्मबाट भएको भएपनि अहिले यो विभिन्न सचेतनामूलक अभियानमा महत्वपूर्ण भूमिका छ । मकवानपुरगढी गाउँपालिकाको विकट क्षेत्रबाट हेटौंडा बसाई सरेर आएको भगवतीको परिवारको अहिले आफ्नै घरमा सानो किराना पसल छ । व्यापार खास छैन, तर उनलाई व्यापारको चिन्ता पनि खास छैन । भन्छिन, यसो अल्झिने मात्रै हो । पसलमै बस्दा पनि यसो किताबहरु हेर्छु, समय बिताउँछु । विभिन्न अनावश्यक तनाव मनमा आउँदै, मन शान्त रहन्छ ।
भजन धर्ममाथिको समर्पित मात्रै छैन । यसले मेरिटेशनको भूमिका पनि निर्वाह गर्छ । अहिलेको व्यस्त दैनिकीमा विभिन्न तनावले गर्दा समस्यामा रहेकाहरुलाई यसले मेरिटेशनको काम समेत गर्ने पूर्व अध्यक्ष दुलाल बताउँछन् ।बालबालिहरुको समेत आकर्षण देखिन्छ । “अहिले धेरैको रहर विदेश जाने हुन्छ, पढाइ अनुसारको पैसा भएन भनेर बाहिर जानेहरु बढेका छन्, तर सानासाना बाबुनानीहरुको पनि सहभागीतामा रुचि देखिन्छ” कार्की भन्छिन् ।
पञ्चेबाजामा पनि महिलाको अग्रसरता
हेटौंडा १ की रुक्मिणी खत्रीको दैनिक र पहिचान फेरिएको छ अहिले । शुभकार्यको थालनी हुने स्थानमा उनको उपस्थिति अनिवार्य जत्तिकै भएको छ । त्यो पनि पञ्चेबाजा समूह सहित । ४५ वर्षीया खत्रीकी कान्छी बुहारी संगीतासहितको महिलाको समूह नौमती बाजा समूह सक्रिय छ अहिले । ५१ वर्षीया शान्तादेवी लौडरी जो निजामति कर्मचारी पनि हुन् । उनी नरसिंहा फुकेर सबैमा एकै साथ उर्जा भर्छिन् ।
यो पञ्चेबाजा बजाउने महिलाको समूह अहिले मकवानपुरमा चर्चाको छ । उषा बर्ताैला बाद्ययबादनमा पोख्त छिन् । हेटौंडा उपमहानगरपालिकाले महिलालाई पञ्चेबाजा बजाउने तालिम दिएको थियो । “हाम्रा दिदी बहिनीहरुको पौरख सामाजिक रुपान्तरणको जग बन्यो उपमहानगरको प्रवक्ता समेत रहेका वडा १ का अध्यक्ष सविन न्यौपानेले भने ।
पञ्चेबाजा बजाउनको लागि कुनै जात वा समुदायको हुनु पर्दैन, सिप सिकेर गर्ने कुरा हो, वडा १ कि वडा सचिव लौडारी भन्छिन् “महिलालाई घरै मात्रै उसको संसार हो भनेर अल्झाउनु हुँदैन ।” यो समूहले आफ्नो प्रस्तुतीको अवस्था, समय हेरेर ३० देखि ५० हजारसम्म शुल्क लगाउने गरेका छन् ।
वडा कार्यालयले जिल्लामै पहिलो पटक यो समूहलाई बजार बजाउने तालिम दिएको थियो । महिलालाई आर्थिक समृद्धिसँग जोड्न यस्ता कार्यक्रम ल्याइएको न्यौपानेले बताए “सिपले मनोरञ्जन मात्रै हैन आर्थिक पाटोमा पनि जोड दिन्छ, साथै संस्कृति संरक्षणमा पनि सहयोग पुग्छ” न्यौपानेले । पञ्चैबाजा पाँच बाजाको समूह हो। पन्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्छन्। पन्चैबाजा नेपाली धार्मिक एवम् सांस्कृतिक बाजाका रुपमा प्रयोग हुँदै आएको मौलिक संस्कृतिको धरोहर हो । नेपाली संस्कृतिमा पूजासहितका कार्य गर्दा शुभ साइतको महत्व हुन्छ। शुभसाइतमा मंगलधुन बजाउने प्रचलन छ ।
नेवारी बाजामा पनि चाख
संस्कृतीको संरक्षणमा नेवारी धिमे बाजामा पनि महिलाको संलग्नता बढ्न थालेको छ । धिमे बाजामा महिलाको आकर्षण बढाउँन छोरी उमेरकाहरुबाट बाजामा चाख बढ्न थालेको नेवाः गुठीः खल अध्यक्ष अनिल खड्गीले बताए । सबै संस्कृतीको आ आफ्नै महत्व छ, हरेक पर्व, जात्रा र मेलामा बजाइने धिमेबाजाका लागि पनि प्रशिक्षण आवश्यक भएको उनले बताए ।