मकवानपुर । हेटौंडा बजार क्षेत्रमा खानेपानीको उपलब्धता पर्याप्त बन्दै गएको छ । पानी दिवसको अवसरमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले शुक्रबारदेखि हेटौंडा बजार क्षेत्रमा वितरणका लागि दैनिक करिब ६० लाख लिटर खानेपानी थपिएको जनाएको छ ।
विश्व पानी दिवसको सन्दर्भ पारेर बोर्डले हेटौंडा उपमहानगरपालिका र गढीगाउँपालिकाको संगमस्थल सामरी खोला नजिकै निर्माण गरिएकाे हालसम्मकै ठूलो समवेल उद्घाटन गरिए पछि उक्त परिणाममा खानेपानी थपिएकाे हाे । उक्त समवेल निर्माण गरी दैनिक ६० लाख लिटर खानेपानी थप भएकाे बाेर्डले जनाएकाे छ ।
बोर्डले यसअघि हेटौंडामा दैनिक २ करोड ६२ लाख लिटर पानी वितरण गर्दै आएकोमा अब दैनिक ३ करोड २२ लाख लिटर पानी वितरण गर्नेछ ।बोर्डले हेटौंडामा २६ हजार नौसय धारामार्फत् पानी वितरण गरिरहेको छ । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टका अनुसार बोर्डको आफ्नै आन्तरिक आयबाट करिब २५ लाख रुपैयाँ लगानीमा उक्त समवेल निर्माण गरिएको हो । हेटौंडामा जनसंख्या बढ्दो अवस्थामा रहेपछि पिउने पानीको समस्या बढ्दै जांदा बोर्डले अब २४ सै घण्टा धारामा पानी उपलब्ध गराउन सक्ने गरि ठुलो परियोजना सुरु गरेको अध्यक्ष प्रताप विष्टले बताए ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालगायतले समवेलको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा गढी गाउँपालिकाका प्रमुख दोर्जे लामा, हेटौंडाका उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायतको उपस्थिति रहेको थियो ।

