मकवानपुर । मकवानपुरकाे अग्रणी साहित्य संस्था साहित्य सङ्गम मकवानपुरले एउटै मञ्चमा ७ जनालाई सम्मान गरेको छ ।
सङ्गमद्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कार २०८० सालकाे लागि शनिबार उनिहरु सम्मानित भएका हुन् । सङ्गमको ३ सय ४१ औं साहित्य सन्ध्या तथा सम्मान समर्पण कार्यक्रममा प्रमुख अतिथि साहित्यकार निर्मोही ब्यासलगायतले ७ जना सर्जकलाई सम्मानित गरेका हुन्।
तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य सङ्गम मकवानपुरद्वारा स्थापित १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट ईन्द्रजित शर्मा चौलागाईं सम्मानित भएका छन् । मकवानपुरे साहित्यकार शर्मा हास्य तथा टेलिश्रृङ्खलामा अभिनयमा समेत सक्रिय छन् । गत वर्ष उक्त सम्मानबाट शम्भु बास्काेटा सम्मानित भएका थिए ।
यसै गरी १५ हजार ५ सय ५५ रुपैया राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काफ्ले सम्मानित भएकी छिन् । उक्त सम्मान मकवानपुरे साहित्य सर्जक विशाल अधिकारी आशुतोषले स्थापना गरेका हुन् । उक्त सम्मानबाट गत वर्ष सुदेश सत्याल सम्मानित भएका थिए ।
यस्तै १० हजार राशिको ‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित भए । उक्त सम्मान बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल हेटाैडाका प्रिन्सिपल विनोद सुवेदी तथा शिक्षक सुनिता सुवेदीले स्थापना गरेका हुन् । ‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका साहित्यकार विश्वनाथ सञ्जेल सम्मानित भएका छन् । १० हजार रुपैया राशिको उक्त सम्मान हेटौंडाका (हाल अमेरिका निवासी) दीपक मुडवरीले स्थापना गरेका हुन् । उक्त सम्मानबाट गत वर्ष पूर्णकला घिमिरे सम्मानित भएकी थिइन् ।
यसैगरी हेटौंडाका शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गरेकाे १० हजार रुपैया राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी साहित्यकार भावना सापकोटा सम्मानित भएकी छिन् । सापकाेटा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष हुन् । उक्त सम्मानबाट गत वर्ष साहित्यकार विना थिङ्ग सम्मानित भएकी थिइन् । यस्तै १० हजार राशिको ‘मुक्ति-तारा सम्मान २०८०’ बाट मकवानपुरे स्रष्टा सानुभाइ विश्वकर्मा सम्मानित भए । उक्त सम्मान हेटौंडाका साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गरेका हुन् । गत वर्ष उक्त सम्मानबाट साहित्यकार एसके निधन सम्मानित भएका थिए ।
हेटौंडाका साहित्यिक स्रष्टा, अधिवक्ता ऋषि केबी र शिक्षक पूण्यशिला श्रेष्ठले स्थापना गरेकाे १० हजार राशिको ‘रामहरि-देवु सम्मान २०८०’ बाट मकवानपुरका साहित्यकार किशन पौडेल सम्मानित भएका छन् । पौडेल लघुकथा चौतारी मकवानपुरका अध्यक्ष हुन् । गत वर्ष उक्त सम्मानबाट लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य सम्मानित भएका थिए ।
सङ्गम अध्यक्ष डीबी बर्तौलाकाे सभाध्यक्षता तथा साहित्यकार निर्मोही ब्यासकाे प्रमुख आथिथ्यतामा भएकाे कार्यक्रममा सम्मानित सातै जना स्रष्ट्राले मन्तव्यसहित आआफ्नाे रचना वाचन गरेका थिए । कार्यक्रमकाे सहजीकरण सङ्गम सचिव मनोज पोखरेलले गरेका थिए ।
२५ हजार राशिको निबन्ध पुरस्कार प्रदान गरिने
साहित्य सङ्गम मकवानपुरका संस्थापक केशव श्रेष्ठ ‘ज्योति’ द्वारा स्थापित साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०७९ संस्थाको कार्यविधिअनुरुप प्रदान गरिने भएकाे छ । २५ हजार १ रुपैयाँ राशिको सो सम्मानकाेलागि सर्वोत्कृष्ट कृति छनौटकाे दर्ता आह्वान गरिएको संगम अध्यक्ष डीबी बर्तौलाले बताए ।
उक्त सम्मानकाे लागि २०७९ बैशाखदेखि चैत्र मसान्तसम्म प्रकाशन भएको निबन्ध विधाका मौलिक सङ्ग्रह पुरस्कार छनौट समितिलाई उपलब्ध गराउनु पर्ने तथा कृति अन्य कुनै पनि राष्ट्रिय पुरस्कारका लागि छनोट नभएको हुनुपर्ने बर्तौलाले जानकारी दिए । आगमी चैत्र २० गतेभित्र पुस्तक, श्रष्टाको नाम, ठेगाना, सम्पर्क नम्बर, प्रकाशित मिति समेत उल्लेख गरी छनोट समितिसमक्ष उपलब्ध गराउनु पर्ने उनले बताए ।

