मकवानपुर । मकवानपुर हेटौंडा ५ निवासी ५५ वर्षीय भगवती दाहालले स्कुले शिक्षाको थाहै पाइनन् । उनका दाजु र भाइहरुले उच्च शिक्षा हासिल गरे। तर भगवती र उनकी दिदीलाई स्कुल भर्ना समेत गरिएन । वि.स २०४१ मा १५ वर्षको उमेरमा विवाह भयो ।
औपचारिक स्कुले शिक्षा नपाएपनि उनलाई रामायण, देवी भागवत, कृष्ण चरित्र, गुणरत्नलगायतको विभिन्न खण्डहरु मुखारी छन् । “घरैमा दाजुहरुले पढेको हेरेर अक्षर चिने, बाह्रखरीको अक्षर चिन्न थालेपछि बुबा (रामजी गौतम) को किताब लुकी लुकी पढ्ने कोशिस गर्थें” उनले बाल्यबस्थाको स्मरण गरिन् । उनको बुबाले पनि भजन गाउँनुहुन्थ्यो, काम धन्दा सकेर उनका दुई दिदीबैनी बुबाको भजन भन्ने मेलामा पुगिहल्थे । “गाउँमा पूजा छ, भजन भन्ने रे भनेको सुनेपछि हामी हतारीदै काम भ्याएर पुग्थ्यौ, बुबाभन्दा अघि नै, सुटुक्क बसेर सुन्थेउ त्यहीबाट रस पसेछ” उनी भन्छिन् ।
अहिले उनको त्यही कलालाई साथीहरुले साथ दिएका छन् । उनीहरुको चर्चा गाउँ वस्ती, टोल र जिल्ला जिल्लामा फैलने क्रममा छ । अब भगवती एकै पनि छैनन् । उनको कला र गलालाई साथ दिन्छन् हेटौंडा ५ स्थित रुद्रेश्वर महादेव खैजेडी भजन समूहका महिलाहरुले । लोप हुँदै आएको खैजडी भजनमा यहाँका महिलाहरुले चासो दिएपछि मन्दिर व्यवस्थापनले पनि सहयोग गर्दै आएको छ ।
यहाँ पहिले ९ जना पुरुषहरुको समूह थियो भजनको लागि । पछिल्लो समय महिलहरुको मात्रै भजन समूह बनेको छ । जसको नेतृत्व गरेकी छिन् विष्णुकुमारी कार्कीले । महिलाहरुले पनि चासो दिन थालेपछि विस्तारै सिक्नेहरुको संङख्या बढ्यो । अहिले यहाँ १० जनाको महिला भजन समूह छ । समूहको केहीलाई अन्य व्यस्ततामा सङ्ख्या नपुग्दा पुरुष सदस्यहरु पनि सहभागी हुन्छन् । “पुरुषहरुको छुट्टै समूह अहिले पनि छ, तर चर्चामा महिलाकै समूह छ” समिति पूर्व अध्यक्ष बालचन्द्र दुलाल भन्छन् ।
महिलाहरुको भजन समूहको नेतृत्व उनै ५५ वर्षीया भगवतीले गर्छिन् । पूजा पाठमा रामायण, महाभारत, कृष्ण चरित्र, गुणरत्न माला जस्ताको कथालाई श्लोकको रुपमा उनी भट्याउँछिन् । अन्य जनचेतनामुलक कार्यक्रमहरुमा पनि उनीले उसै गरि श्लोक बनाउँछिन् । वातावरण दिवस होस्, श्रमिक महिला दिवस, लैङ्गिक हिंसा विरुद्धको अभियान जस्ता सचेतनामूलक कार्यक्रमहरुमा उनी समय सापेक्ष शब्द भरेर श्लोक बनाउँछिन् । अरु महिलाहरुले साथ दिन्छन् खैजडी बाजाको साथमा ।
समूहबाट खैजेडी भजनको प्रस्तुती लिनको लागि निश्चित शुल्क तोकिएको छैन । नजिकै जाँदा, विभिन्न धार्मिक कार्यक्रमहरुमा शुल्क लिने गरिएको छैन । टाढाको बाटो जाँदा,रातभर नै प्रस्तुती दिंनु पर्दा भने यातायात र केही दक्षिणा लिने गरेको विष्णु कार्कीले बताउँछिन् । “हामीले तोकेर नै शुल्क राखेका छौंनौ, टीका दक्षिणमा दिएको लिने गरेका छौ” उनले भनिन् ।
खैजेडी भजनको लागि आवश्यक हार्मोनियर, झ्याली, साउण्ड सिस्टम, मादललगायतको सामग्री किन्दा समेत उनीहरुले आफू आफूबाटै पैसा उठाएर सामान जुटाएका थिए । केही अपुग सामग्री हेटौंडा उपमहानगरपालिकाले केही महिना अघिमात्रै सहयोग दिएकाे दुलालले बताए ।
खैजेडी भजनकाे छाेटाे प्रस्तुति हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
सचेतना र मेरिटेशनमा समेत उत्कृष्ट
खैजडी भजनको सुरुवात धर्मबाट भएको भएपनि अहिले यो विभिन्न सचेतनामूलक अभियानमा महत्वपूर्ण भूमिका छ । मकवानपुरगढी गाउँपालिकाको विकट क्षेत्रबाट हेटौंडा बसाई सरेर आएको भगवतीको परिवारको अहिले आफ्नै घरमा सानो किराना पसल छ । व्यापार खास छैन, तर उनलाई व्यापारको चिन्ता पनि खास छैन । भन्छिन, यसो अल्झिने मात्रै हो । पसलमै बस्दा पनि यसो किताबहरु हेर्छु, समय बिताउँछु । विभिन्न अनावश्यक तनाव मनमा आउँदै, मन शान्त रहन्छ ।
भजन धर्ममाथिको समर्पित मात्रै छैन । यसले मेरिटेशनको भूमिका पनि निर्वाह गर्छ । अहिलेको व्यस्त दैनिकीमा विभिन्न तनावले गर्दा समस्यामा रहेकाहरुलाई यसले मेरिटेशनको काम समेत गर्ने पूर्व अध्यक्ष दुलाल बताउँछन् ।बालबालिहरुको समेत आकर्षण देखिन्छ । “अहिले धेरैको रहर विदेश जाने हुन्छ, पढाइ अनुसारको पैसा भएन भनेर बाहिर जानेहरु बढेका छन्, तर सानासाना बाबुनानीहरुको पनि सहभागीतामा रुचि देखिन्छ” कार्की भन्छिन् ।
पञ्चेबाजामा पनि महिलाको अग्रसरता
हेटौंडा १ की रुक्मिणी खत्रीको दैनिक र पहिचान फेरिएको छ अहिले । शुभकार्यको थालनी हुने स्थानमा उनको उपस्थिति अनिवार्य जत्तिकै भएको छ । त्यो पनि पञ्चेबाजा समूह सहित । ४५ वर्षीया खत्रीकी कान्छी बुहारी संगीतासहितको महिलाको समूह नौमती बाजा समूह सक्रिय छ अहिले । ५१ वर्षीया शान्तादेवी लौडरी जो निजामति कर्मचारी पनि हुन् । उनी नरसिंहा फुकेर सबैमा एकै साथ उर्जा भर्छिन् ।
यो पञ्चेबाजा बजाउने महिलाको समूह अहिले मकवानपुरमा चर्चाको छ । उषा बर्ताैला बाद्ययबादनमा पोख्त छिन् । हेटौंडा उपमहानगरपालिकाले महिलालाई पञ्चेबाजा बजाउने तालिम दिएको थियो । “हाम्रा दिदी बहिनीहरुको पौरख सामाजिक रुपान्तरणको जग बन्यो उपमहानगरको प्रवक्ता समेत रहेका वडा १ का अध्यक्ष सविन न्यौपानेले भने ।
पञ्चेबाजा बजाउनको लागि कुनै जात वा समुदायको हुनु पर्दैन, सिप सिकेर गर्ने कुरा हो, वडा १ कि वडा सचिव लौडारी भन्छिन् “महिलालाई घरै मात्रै उसको संसार हो भनेर अल्झाउनु हुँदैन ।” यो समूहले आफ्नो प्रस्तुतीको अवस्था, समय हेरेर ३० देखि ५० हजारसम्म शुल्क लगाउने गरेका छन् ।
वडा कार्यालयले जिल्लामै पहिलो पटक यो समूहलाई बजार बजाउने तालिम दिएको थियो । महिलालाई आर्थिक समृद्धिसँग जोड्न यस्ता कार्यक्रम ल्याइएको न्यौपानेले बताए “सिपले मनोरञ्जन मात्रै हैन आर्थिक पाटोमा पनि जोड दिन्छ, साथै संस्कृति संरक्षणमा पनि सहयोग पुग्छ” न्यौपानेले । पञ्चैबाजा पाँच बाजाको समूह हो। पन्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्छन्। पन्चैबाजा नेपाली धार्मिक एवम् सांस्कृतिक बाजाका रुपमा प्रयोग हुँदै आएको मौलिक संस्कृतिको धरोहर हो । नेपाली संस्कृतिमा पूजासहितका कार्य गर्दा शुभ साइतको महत्व हुन्छ। शुभसाइतमा मंगलधुन बजाउने प्रचलन छ ।
नेवारी बाजामा पनि चाख
संस्कृतीको संरक्षणमा नेवारी धिमे बाजामा पनि महिलाको संलग्नता बढ्न थालेको छ । धिमे बाजामा महिलाको आकर्षण बढाउँन छोरी उमेरकाहरुबाट बाजामा चाख बढ्न थालेको नेवाः गुठीः खल अध्यक्ष अनिल खड्गीले बताए । सबै संस्कृतीको आ आफ्नै महत्व छ, हरेक पर्व, जात्रा र मेलामा बजाइने धिमेबाजाका लागि पनि प्रशिक्षण आवश्यक भएको उनले बताए ।

