मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा न १३ पदमपाेखरीमा इसाई धर्मावलम्बीको पर्व क्रिसमसको शुभकामना आदान प्रदान कार्यक्रम भएकाे छ । संयुक्त मण्डली पाष्टर संगतीले शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे हाे ।
शुभकामना आदान प्रदान कार्यक्रममा हेटाैडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति र समृद्धिका लागि शुभकामना दिएका छन् । महतले भने–‘विविध सांस्कृतिक परम्पराबाट समृद्ध हाम्रो मुलुकमा यस प्रकारका चाडपर्वको धर्म संस्कृति संरक्षण र सम्बर्दधनबाट देशमा आपसी विश्वास र सद्भावको अभिवृद्धि भई राष्ट्र निर्माण एवम् समुन्नत सामाजिक संरचनाको निर्माण गर्ने कार्यमा महत्वपूर्ण टेवा मिल्नेछ छ ।’
क्रिसमस पर्वले सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्छ’ कार्यक्रममा हेटाैडा उपमहानगरपालिकाका उप प्रमुख मिना कुमारी लामाले भनिन् – ‘नेपाल समृद्ध बनाउन हामी सबैलाई प्रेरणा प्राप्त हुनेछ भन्ने कामना गर्दछु ।’ यसै गरी मकवानपुर पास्टर यसोशियसनका अध्यक्ष दिपक भोलन, इसाई समाज मकवानपुर अध्यक्ष निमाटोल्मा आचार्यले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
हेटाडा उपमहानगरपालिकाका प्रमुख महतकाे प्रमुख आतिथ्यता, उपप्रमुख लामाकाे विशिष्ट आतिथ्यता तथा मण्डली संगतिका अध्यक्ष चन्द्र गाेलेकाे अध्यक्षतामा शुभकामना कार्यक्रम भएकाे हाे ।
मकवानपुर/ नेपाल सरकारका मुख्यसचिबको उपस्थितीमा सातवटै प्रदेशको प्रदेश सचिवहरुको समन्वय बैठक हेटौंडामा सुरु भएको छ । २६ मंसिरदेखि ३ दिनसम्म चल्ने बैठकमा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीको सभागीता रहेको छ ।
बागमती प्रदेशले आयोजना गरेका कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले देशको समृद्धिको लागि प्रदेशको समृद्धि आवश्यक भएको बताए । मुख्यमन्त्री पाण्डेले केन्द्रीय सरकारबाट कानुन निमार्णदेखि हरेका सवालमा प्रदेश सरकारलाई सहजिकरण हुनुपर्ने बताए । संघीयता कार्यान्वयनको सवालमा सबै प्रदेशहरुबीच समन्वय आवश्यक भएको पाण्डेले बताए ।
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले केन्द्रले सरकारले विकेन्द्रीकरण गर्नुपर्ने क्षेत्रहरु विकेन्द्रीकरण तथा हस्तान्तरण गरिने प्रतिवद्धता व्यक्त गर्दै आवश्यक सहजिकरणमा केन्द्रले आफ्नो भूमिका सधैं निर्वाह गर्ने बताए । प्रदेशको काममा समेत केन्द्र सरकारले सेवा पु¥याउँने र प्रदेश सरकारले पनि सेवा प्रवाह र सुशासनमा ध्यान दिन निर्देशन दिए ।
समन्वय बैठकले प्रदेशहरुमा देखिएका विद्यामान समस्याहरुको विश्लेषण गरेर आगामी दिनमा संघीयताको सफल कार्यान्वयनलाई कसरी सशक्त बनाउने भन्ने मार्ग निर्देशन बनाउने बागमती प्रदेशको प्रमुख सचिव किरणराज शर्माले बताए । केन्द्र सरकारको समन्वय र सहकार्य भएमा प्रदेश सरकारलाई सेवा प्रवाह र सहजिकरणमा सहयोग मिल्ने प्रमुख सचिव शर्माले बताए ।
मकवानपुर । प्रभा–अनुज अक्षय कोष स्थापनार्थ मनकामना पार्क टोल विकास संस्थालाई समाजसेवी कृष्ण धितालले ७५ हजारको अक्षय कोष स्थापनार्थ सहयोग गर्ने घोषणा गरेका छन् ।
गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष समेत रहेका धितालले श्रीमती प्रभा धिताल र छोरा अनुज धितालको स्मृतीमा प्रभा–अनुज स्मृति कोष स्थापनार्थ ७५ हजारको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् । उक्त अक्षय कोषको व्याजबाट मनकामना पार्क टोल विकास संस्थाको सदस्य परिवारको ४ जना सन्तानलाई पुरस्कृत गरिने टोल विकास संस्थाले जनाएको छ ।
टोलबासीको सन्तान मध्ये वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने निजि विद्यालयतर्फबाट १ छात्र, १ छात्रा र सरकारी विद्यालय तर्फबाट १ छात्रा र १ छात्रलाई १ हजार ५ सयको दरले पुरस्कृत गरिने टोल विकास समूह अध्यक्ष जानुका संजेलले बताइन् ।

‘‘‘हामीले संस्था कै तर्फबाट यो पुरस्कार स्थापना गर्ने प्रस्ताव गरेका थियौ, उहाँले ठुलो मन गरेर अक्षय कोष कै स्थापनार्थ सहयोग गर्नुभयो, हामी आभारी छौ’ अध्यक्ष संजेलले भनिन् । मनकामना पार्क टोल विकास संस्थाको २० औं बार्षिक साधारण सभामा धितालले यस्तो घोषणा गरेका हुन् । शनिबार सम्पन्न वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी धितालले आफू समेत यही टोलवासी भएकोले सहयोग गर्नु दायित्वको रुपमा लिएको बताए । ‘सबैले आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर्ने हो भने कुनै पनि संस्थाको प्रगति हुनमा समय लाग्दैन, हामी सबैले होस्टेमा हैसे गरेर आफ्नो टोलमा समृद्धि ल्याउन सक्छौं’ धितालले भने ।
साधारण सभामा मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डाक्टर शंकर उपाध्यायले संस्थाको प्रगतिको लागि सामुहिक पहल आवश्यक भएको बताए । संस्थाको सञ्चालकहरुले पारदर्शितालाई ध्यान दिने र अन्य सदस्यहरुले आफ्नो जिम्मेवारी पुरा गर्ने गर्दा संस्था सफल हुने उनले बताए ।

कार्यक्रममा मनकामना खानेपानी उपभोक्त समितिका अध्यक्ष रामचन्द्र देवकोटा, प्रतिफल बचत तथा ऋण सहकारी संस्थाका रामचन्द्र खनाल, टोल विकास संस्था नगर समन्वय समिति सचिब सुधिर थापालगायतको उपस्थिती रहेको थियो ।

साधारण सभामा कोषाध्यक्ष विश्वप्रसाद गाैतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा टोल विकास संस्थाका सदस्य दिलिश गोबिन्द जोशीले आमा बुबाको सम्झनामा टोल विकास संस्थालाई ५१ हजार १ सय ५१ रुपियाँ सहयोग गरे वापत जोशीलाई सम्मान गरिएको संस्थाकी सचिव भीमा गुरागाईले बताइन् ।
साधारण सभा संस्थाको अध्यक्ष जानुका संजेलको अध्यक्षतामा भएको थियो । टोल विकास संस्थामा २ सय २५ सदस्यहरु रहेका छन् ।
मकवानपुर । मानव अधिकार संगठन बागमती प्रदेश कार्यालयले यौन हिंसा सम्बन्धि अन्तरसंवाद कार्यक्रम गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख यज्ञ अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लैङ्गक हिंसा अन्तरगत यौन हिंसा सम्बन्धि अन्तरसंवाद गरिएको थियो । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा अन्तरसंवाद गरिएको हो ।
मानव अधिकार संगठन बागमती प्रदेश प्रमुख अप्सरा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र मकवानपुरको प्रहरी निरीक्षक चुडाकुमारी खड्का, मानव अधिकार संगठन मकवानपुर संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, नागरिक समाज मन्च संयोजक रमिला सापकोटा, माइती नेपाल मकवानपुर फिल्ड सुपरभाइजर, मन लामा, इन्द्रबहादुर मानव अधिकार स्मृति कोष अध्यक्ष बिजेन्द्र अग्रवाललगायतले यौन हिंसा को सवालमा बढ्दो चुनौति तथा समस्या बारे चर्चा गरेका थिए ।
कार्यक्रममा डिएलए मकवानपुर अध्यक्ष कृष्णप्रसाद भण्डारी,अधिवक्ता आर के मैनाली, इन्सेक बागमती प्रदेश प्रतिनिधि, सानाहातहरू नेपालको प्रतिनिधिलगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक सर्मिला श्रेष्ठले बताइन् ।
मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनताको मानव अधिकार प्रत्याभूत गर्न दलहरू लामो समयदेखि संघर्ष गर्दै आएको तर सरकारले नै बेलाबेलामा मानव अधिकार हनन गर्ने गरेको बताएका छन् ।
मानव अधिकारको सन्दर्भ, सवाल, यसको रक्षा, चुनौतीबारे प्राथमिक तहको पाठ्यक्रममा नै बिषयवस्तु समावेश गर्नु पर्ने तर्फ सरकारले सोच्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए ।
७३ औं अन्तरास्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन अवस्था सम्बन्धी कार्यशालामा पाण्डेले यस्तो बताएका हुन् । मानव अधिकार संरक्षणको लागि कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्ने र यसको लागि आयोगले ध्यान दिनुपर्ने पाण्डेले बताए । आफूले मानव अधिकार हनन नगर्ने र हनन भएको देखे/ सुनेमा रक्षाको लागि सबै व्यक्तिले पहल गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सुर्यप्रकाश शर्मा ढुङ्गेलले नेपालको संविधान विश्वमा नै मानव अधिकारमैत्री भएको बताए । उनले पनि मानव अधिकार रक्षा गर्न खोज्दा राज्यले नै मानव अधिकार हनन भएको आरोप आउने गरेको बताएका थिए । विशेष गरि द्वन्द्वको मैदानमा यस्तो हुने उनले बताए । महिला, दलित तथा हिंसा पीडितलाई प्रहरी प्रशासनले दुख दिने गरेको गुनासो आउने गरेकोले सेवाप्रदायक निकायले सेवा प्रदानको शैलीमा सुधार आवश्यक रहेको ढुङ्गेलले बताए ।

मानव अधिकार रक्षकहरू हुने गरेको हिंसा न्यूनीकरण गर्नको लागि सरकारले विशेष योजना बनाउन पर्ने उनले बताए । अन्तरास्ट्रिय सन्धीहरूमा भएको प्रतिबद्धता पूरा गर्नको लागि देशले गहिरो गरि अध्ययन मनन र सुधारको लागि योजना बनाउन पर्ने उनले बताए ।
कार्यक्रममा बागमती प्रदेश प्रमुख सचिव किरण राज शर्माले मानव अधिकार प्रत्याभूत गर्न कुनै व्यक्ति, राज्य वा संस्था लागेर मात्रै संभव नहुने बताउंदै सबैले एकजुट भएर लाग्नुपर्ने बताए । नीति, रणनीति निर्माण गर्दा, आवश्यकतालाई मनन गरेर बनाउदा कार्यान्वयनमा सहजता देखिने बताए ।
यसैगरी गैसस बागमती प्रदेश उपाध्यक्ष आरती पाठकले राज्यले संरक्षित जनावरलाई भन्दा मानवीय सुरक्षाको बिषयलाई कम प्राथमिकता दिने गरेकोमा चिन्ता प्रकट गरिन ।
कार्यक्रममा प्रकोप, बिपत्ति तथा आधारभूत बिषयमा मानव अधिकार संरक्षणको बारेमा मकवानपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्लामा खड्कीएको बिषयवस्तु तथा जिल्लाको मानव अधिकारको अवस्था बारे अर्यालले प्रस्ट्याएका थिए ।
यसैगरी आयोग बागमती प्रदेश प्रमुख यज्ञप्रसाद अधिकारीले प्रदेशमा मानव अधिकारको अवस्था बारे जानकारी गराएका थिए । सिमान्तकृत र पछाडि पारीएका बर्गको हितको लागि सधै तत्पर रहेको अधिकारीले बताए । मानवीय आवश्यकता अनुसार १७ वटा फरक बिषयलाई सम्बोधन गर्न पहल गरिरहेको उनले बताए ।
कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बागमती प्रदेशको आयोजनामा भएको थियो ।