बिहानको कलिलो घामको किरणसँगै जब गाडीले हेटौंडाकाे मुख्य बजार छाडेर महेन्द्र राजमार्गलाई समात्यो, मेरो मनमा एउटा छुट्टै किसिमकाे उत्सुकता र कम्पन सुरु भइसकेको थियो । हेटौंडाको हरियाली र सफा सडकलाई पृष्ठभूमिमा छाड्दै बस पश्चिम दिशमा अगाडी बढ्दै जाँदा मनमा रोमाञ्चक यात्राको खाका कोरिदै थियो ।
यो गर्मी मौसममा हामी जादैं गरेकाे गन्तव्य कस्तो होला ? बाटाे र त्यहाँकाे भूगोल कस्तो देखिएला ? रातीकाे वातावरण कस्तो हाेला? एक निन्द्रा सुत्न सहजता छ कि छैन? यी र यस्तै प्रश्नहरूको ज्वारभाटा मनमा खेलाउँदै नटेकिएकाे र प्रत्यक्ष नदेखिएकाे भूगोलतर्फ अगाडि बढिरहेका थियौं । गत दशैं तिहार पछिकाे एक समय वर्षकाे एक पटक स्फुर्तीकाे लागि समेत भ्रमणमा जानु पर्ने कुरो भएकाे थियो अफिसका सहकर्मीहरुसँग । भ्रमण जान उपयुक्त समय असोज कार्तिक मंसिर भए पनि ती समय आ-आफ्नै काम विशेषले हिड्न मिलिरहेकाे थिएन । जान त जाने कता जाने ? कसैले राखेकाे जिज्ञासामा मैले फ्याट्टै बाेलेकाे थिए पश्चिम नेपाल । अनि स्थान पछि तोक्ने गरी दिशा मात्रै फिक्स भएको थियो ।

हरेक यात्रा केवल एउटा ठाउँबाट अर्को ठाउँमा पुग्नु मात्र होइन, बरु आफैँभित्रको एउटा नयाँ पाटोलाई ब्युँझाउनु पनि हो भन्ने लागेर नै नपुगेकाे स्थानलाई नै गन्तव्य बनाउने निधो गरिएकाे थियाे मनले । लामो समयदेखिको योजना र पर्खाइपछि अन्ततः त्यो दिन आएको थियो । म माेवाइलकाे नोट प्याडमा भ्रमणकाे अनुभव र देखिएका स्थानकाे बर्णन शब्दमा उतार्न तम्तयार थिएँ । २०८३ साल जेठ १ गते शुक्रबार, हामीले तय गरेकाे यात्राको मिति । यस अघि बैशाख महिनाकाे ३० गतेलाई लेखिएकाे मितिलाई अफिसकाे कामकाे चापले मैले नै जेठ १ काे लागि सारेकाे थिए ।
घरको चौखट काट्नु भनेको भूगोल बदल्नु मात्र होइन, सोचको क्षितिज फराकिलो पार्नु पनि हो । जब गाडीको चक्का निरन्तर महेन्द्र राजमार्गमा गुडिरह्यो लाग्थ्यो हाम्रा दैनिक जिम्मेवारी र तनावहरू धेरै पछाडि छुट्दै छन् । यात्राको सुरुवाती क्षण सधैँ अलिकति डर र धेरै उत्सुकताको अनौठो मिश्रण हुन्छ । नौलो ठाउँ, अपरिचित अनुहारहरू र कहिल्यै नदेखेको प्राकृतिक छटालाई आँखामा कैद गर्ने अभिलाषा बोकेर सुरु भएको यो यात्रा मेरो जीवनको डायरीमा एउटा सुनौलो पाना बन्ने कुरामा ढुक्क थिएँ । जेठ १ गते शुक्रबार विहान हामीले चडेकाे बसले पश्चिम दिशाकाे यात्रा सुरु गर्दा समेत यात्रामा सहभागी अधिकांशलाई कहाँसम्मकाे यात्रा भन्ने नै थाहा थिएन । सुपा देउराली जाने चै सबैलाई भनिएकाे थियो तर अन्य स्थानका बारेमा म लगायत केही र चालकलाई थाहा थियो ।
म हिड्न ज्यादै रुचाउने भए पनि धेरै कुराकाे चाँजाेपाँजाे नमिलाई यात्रामा सहभागी हुन समस्या हुने भएकाेले समेत ३ दिनकाे यात्रामा २ दिन सार्वजनिक विदाकाे समय तय गरिएकाे थियो । जेठ १ देखि ३ गतेसम्मकाे यात्रा बुटबट कटेर पश्चिम नलागेकाे मलाई अनौठो र उत्सुकता लाग्नु स्वाभाविक मानेकाे थिए । बसवालासँग कुरो पक्का गर्दा नै भैरहवा हुदै लुम्विनि कपिलवस्तु गोरुसिंङ्गे निस्केर जादा सजिलो हुने बताएका थिए । साेही अनुसार रोड परमिड लिइएकाे थियो । बुटवलबाट महेन्द्र राजमार्गकाे मर्मत कार्य भइरहेकाेले केही अवरोध हुने र समय समेत बढी लाग्ने भएकाेले त्यो रुट समाउने निधो गरिएकाे थियो । तर मलाई बुटवल हुँदै गए पनि भैरहवा हुँदै गए पनि दुबै नयाँ थियाे ।
मकवानपुरलाई छोडेर चितवन पूर्वी नवलपरासी पश्चिम नवलपरासी भैरहवा हुँदै लुम्विनी पुग्दा दिउँसोकाे ३ बजेकाे थियो । विहानकाे खाना नारायणी नदीकाे पुल तरेर केही पश्चिम लागेपछि थुम्सीमा लियौं । यात्रा अवधीमा बसमा यात्रा गर्दै सबै गर्दा २८ जना थियौं । संख्या धेरै भएकाेले खाना अर्डर गरेकाे ३० मिनेट पछि मात्रै पालो आएकाे थियो । राजमार्गका हाेटलहरु प्रायः राम्रो खानेकुरा दिदैनन् भन्ने भएर नै केही सफा सुग्घर र राम्राे खाना पाइने भएकाेले पनि ३० मिनेट खास बढी समय थिएन तर विहानकाे ११ वजिसकेकाेले समेत हामीलाई हतार भने भएकाे थियो ।
यो केवल एउटा यात्रा थिएन, बरु तराईको समथर मैदानदेखि भित्री मधेस, बुद्धको पावन भूमि, र महाभारत शृङ्खलाका पहाडी घुम्तीहरू छिचोल्दै तालहरूको सहर पोखरासम्म पुग्ने एउटा भौगोलिक उत्सव थियो । चितवनको जङ्गल, नवलपरासी र भैरहवाको तातो हावा, कपिलवस्तुको इतिहास, अनि अर्घाखाँची, गुल्मी, पाल्पा र स्याङ्जाका भिराला पाखाहरू हुँदै पोखरा र तनहुँसम्मको यो लामो मार्गले मलाई फरक भूगोल, संस्कृति र मान्छेसँग साक्षात्कार गराउनेवाला थाहा पाउँदा कताकता एउटा मीठो छटपटी र उत्साह जागिरहेको थियो । बुटवल हुँदै पोखरासम्मकाे बाटो विल्कुल नयाँ थियाे मेरा लागि । यात्राका कतिपय यात्रीहरु समेत म जस्तै रहेछन् भन्दै हुनुहुन्थ्यो ।

लाहुरे टाँसेकाे भीर सुपा अर्घाखाची
नारायणी नदी पार गरेर बर्दघाट सुनवल भैरहवा र बुद्धको क्रिडास्थल कपिलवस्तुको समथर भूमिसम्म यात्रा एउटा लयमा बगिरहेको थियो । दाउन्नेकाे उकालोमा केही बेर जाममा परियो, बाटो निर्माण भइरहेकाे कारण । तराईको न्यानो आतिथ्य र ऐतिहासिक सुगन्धलाई मनमा संग्रहित गर्दै जब गाडी कपिलवस्तुकाे गोरुसिंङ्गे भन्दा केही उत्तरबाट अर्घाखाँचीकाे पहाडी उकालोतिर मोडियो, मौसम र दृश्य दुवै बदलिए । तराईको गर्मीलाई शीतलतामा बदल्दै अर्घाखाचीका पहाडी गाउँहरूले हाम्रो स्वागत गरे । पहाडका यी फेरिने घुम्तीहरू पार गर्दै गर्दा हाम्रो पहिलो गन्तव्य सुपा देउराली मलाई गन्तव्यमा पुग्नुअगावै मन्त्रमुग्ध बनाइसकेकाे थिए ।
हेटौंडाबाट सुरु भएको यो यात्रा मेरो जीवनको एउटा सबैभन्दा लामो र विविधताले भरिएको क्षण थियो । चितवनको जैविक विविधता र लुम्बिनी क्षेत्रको आध्यात्मिक शान्तिले मनलाई एउटा छुट्टै ऊर्जा दिइसकेको थियो । तर यात्रा त्यतिमा मात्र सीमित कहाँ थियो र? पहाडकाे नागवेली सडकलाई पछाडी पार्नै अर्घाखाँचीको सुपा देउराली पुग्दा साझँकाे ७ बजेकाे थियो । गोरुसिंङ्गेबाटै बेलुकाकाे लागि केही सामान किनेर लाने भनिएकाेले त्यहाँ करिव ४५ मिनेट अलमल गरियो । अनी उज्यालो हुँदै सुपा पुग्ने हाम्राे योजना पुरा भएकाे थिएन ।
जेठ २ गते विहान । ६ बजे उठेर नित्यकर्म गर्दै मन्दिर तर्फ प्रस्तान गर्दा ६ः३० बजेकाे थियो । बसेकाे स्थानबाट करिब ५ मिनेटकाे हिडाइमा पुगिने सुपा देउराली नपुग्दै केही वर केही माथि लाहुरे टासेकाे भिर रहेछ । गोरखाबाट घुम्न आउनु भएकाे जेष्ठ नागरिकले चिनाइदिनु भएपछि श्रीराम दाहाल सर र मा करिब १० मिनेटकाे सिढीबाट भिरमै पुग्ने भनेर उकालियौं । त्यो भिर भन्दा केही तल लाहुरेकाे पूर्ण कदकाे शालिक सलाम गरेकाे मुद्रामा लाहुरेकाे पहिरनमै राखिएकाे रहेछ ।
एक युवकले आफू मनले चिताएको कुरा लाहुरे हुन सुपा देउराली देवीलाई भाकल गरेका थिए रे । मनोकामना पुरा भएपछि बिदामा घर फर्कँदा भाकल नचढाई देवीको बाटो छली भाग्न खोज्दा ती युवकको मृत्यु भएछ। देवीले भाकल गर्ने तर आफ्नो वेवास्ता गर्ने लाहुर लाई भिरमा टाँसिदिएको किम्बदन्ती रहेको हाेटल व्यवसायी विष्णु घिमिरे बताउँछन्। अहिले पनि उक्त भिर यथावत् रहेको छ। जुन लाहुरे टाँसिएको भिरको नामले प्रसिद्ध रहेको छ।

सुपा देउराली
सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। यो देवी मन्दिर सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ । नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अझै छ।
जेठ २ गते विहान ७ बजे सुपा बाट हिड्यौ पाल्पाकाे लागि अनि भनियो सबैलाई अब पाल्पा स्याङ्जा हुदैं पोखरा बास वस्न पुगिनेछ । यस अघि सुपा पछि कता जाने हाेला भन्दै अलमल परेका साथीहरु समेत एक छिन छक्क पर्नु भएकाे थियाे । आज विहानकाे खाना रिडीमा खाने भन्दै हुनुहुन्थो शिक्षक मुकुन्द न्यौपाने । राम्राे पाइन्छ त्यहाँ मेरो कौतुहलता उहाँले म एक पटक आइसकेकाेले भनेकाे भनेर मेटाउनु भो । गुल्मीकाे रिडी ठाँउकाे कुनै एका तिरकाे स्थान हाेला भन्दै रुरु क्षेत्र पुगिन्छ भन्ने सोच नै आएन मनमा । तर रिडी रुरु क्षेत्र त मैले गुल्मी पाल्पा र स्याङजाकाे त्रिवेणी भनेर स्कुलदेखि सामन्य ज्ञानमा पढ्दै आएकाे थिए ।
अर्घाखाचीकाे पाणिनी गाउँपालिका छोडेर गुल्मी जिल्ला प्रवेश गरेकाे केही समय मै रिडी आइपुग्यौ । त्यो बाटो कालिगण्डकी करिडोरकाे बाटो रहेछ । रिडीमा खाना खाने हाेटलमा कुरा गरेकाे तपाईहरु मन्दिर पुगेर आउँदा तयारी हुन्छ भनिएकाेले हामीले अर्डर गरेर त्यतै लाग्यौ त्यही पुगेपछि मात्रै मैले पढेकाे रिडीकाे रुरु क्षेत्र थाहा पाए । पाल्पा स्याङ्जा र गुल्मीकाे संगम देखेपछि । यो चै मेरो लागि सप्राइज नै थियो । मैले रिडीमा खाना खाएर पाल्पाकाे रानी महल घुम्ने र तानसेन हुँदै सिद्धार्थ राजमार्ग समाएर पोखरा जाने मात्रै सोचेकाे थिए ।
बाटो मै तिर्थ त्यो पनि नेपालकाे चार धार्मिक क्षेत्र (रुरु क्षेत्र, बराह क्षेत्र, पशुपति क्षेत्र र मुक्ति क्षेत्र) मध्येकाे एक रुरु क्षेत्र । मुक्ति क्षेत्र पुग्न बाँकी रहेकाे मनमनै भन्दै त्रिवेणीमा कालीमा पुगेर पानी चडायौ, मुख धोयौ, शिरमा पानी छर्कियौ र स्याङ्जा समेत पुगेर फर्कियौं । होटल आउँदा खाना तयारी भएकाेले खाना पछि पाल्पाकाे रानी महल तर्फ गुल्मीलाई छोडेर अगाडी बढ्यौ ।
रुरु क्षेत्र रिडी
रुरु क्षेत्र जसलाई रिडीको नामले समेत चिन्ने गरिन्छ, नेपालको रिडी खोला र कालीगण्डकी नदीको किनारमा अवस्थित एक धार्मिक र सांस्कृतिक स्थान हो। यो स्थानको बारेमा हिन्दू पुराण तथा शास्त्रहरूमा उल्लेख भएको पाइन्छ। यो धार्मिक क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गममा अवस्थित रहेको छ। हिन्दू धार्मिक ग्रन्थ बराह पुराणमा यस स्थानको पौराणिक इतिहास र स्वस्थानी किताबमा यहाँ सतीदेवीको दन्त पतन भएको वर्णन गरिएको छ। नेपालमा रहेका हिन्दू धर्मावलम्बीहरूको चार वटा धार्मिक क्षेत्रहरू (रुरु क्षेत्र, बराह क्षेत्र, पशुपति क्षेत्र र मुक्ति क्षेत्र) मध्ये यो पनि एक हो। यो स्थानलाई नेपालको बनारस भनेर चिन्ने गरिन्छ। लेखक पर्सिवल ल्यान्डनले स्वयं अनुसन्धान गरि लेखेको पुस्तक ‘नेपाल’मा बनारसमा उपलब्ध सम्पूर्ण विशेषताहरू यो स्थानसँग मेल खाने भएकोले यो क्षेत्रलाई ‘नेपालको बनारस’ भनेर उल्लेख गरेका छन्। यो धार्मिक स्थल हिन्दूहरूको लागि पवित्र घाट समेत हो। माघे सङ्क्रान्तिको तीन दिनसम्म यो क्षेत्रमा ‘रिडी मेला’ आयोजना गर्ने गरिन्छ। यहाँ आयोजना हुने मेलाको पहिलो, दोस्रो तथा तेस्रो दिनलाई क्रमशः जेठी सङ्क्रान्ति, माइली सङ्क्रान्ति र कान्छी सङ्क्रान्ति भन्ने गरिन्छ। भगवान विष्णुको प्रतीकको रूपमा रहेको शालिग्राम, यस क्षेत्र भएर बग्ने कालीगण्डकी नदीको तटीय क्षेत्रमा पाउने गरिन्छ।

रिडीबाट पाल्पाकाे तानसेन नगरपालिका प्रवेश गरे पश्चात करिब ३० मिनेटकाे दुरीमा बाटोबाट केही तल कालिगण्डकी किनारमा अवस्थित रहेछ रानी महल । हामीले नेपालकाे ताज महल भनेर सुन्दै, पढ्दै आएकाे महल । जुन कालीगण्डकीकाे किनारमा अवस्थित राणा कालिन दरबार हाे । युनानशैलीमा बेलायतका इन्जिनियरकाे डिजाइनमा खड्ग शमशेरले दिवङ्गत रानी तेजकुमारीको सम्झनामा दरबारको निर्माण गराएका थिए । यती चै याद थियो ।
फोटो भिडियोमा देखिएकाे महलसम्म प्रत्यक्ष पुग्दा रमाइलो अनुभूति त भयो नै इतिहासलाई समेत ताजा बनाइ दियो । महल घुम्म टिकटकाे व्यवस्था गरिएकाे रहेछ । अवलोकनमा आउनेहरुकाे कारण यसकाे मर्मत गर्नु पर्ने भएकाेले केही शुल्क लिन थालिएकाे हुन् सक्छ । महलकाे माथि गयौं कालिगण्डकीलाई नियाल्यौं । केही तस्विर र भिडियो लिदा करिव १ घण्टा त्यहाँ बितायौं ।
रानी महल पाल्पा
रानीमहल वि. सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन्।
यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो। यस महलको पूर्व तिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन्। त्यस्तै वरिपरि रहेको बगैँचा र रानी पोखरीले महल आकर्षक देखाएको छ।
दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएको खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ। प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवा समेत निर्माण गरिएको थियो। आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा दरबारको निर्माण गरिए तापनि पाँच वर्षसम्म मात्र राज गर्न पाएको जानकारहरूको भनाइ छ।
जनरल खड्ग शमशेर आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा इस १८९३ मा एकातर्फ बुर्जाको जग काली गण्डकी नदीमा नै गरहेको महल भित्र पानी पोखरी मन्दिर बगैँचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट चौडाइ ११२ फिट अग्ल्याई भएको चारतले भवन र त्यसको वरिपरिको वातावरणले सबैको मनमा साँच्चिकै आनन्द दिन्छ। पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम २।३० घण्टामा पैदल यात्राबाट र २५।३० मिनेटमा गाडीको यात्राबाट पुग्न सकिने रानीमहलको वर्तमान पर्यटकीय सन्दर्भमा अत्यन्त महत्त्व राखेको छ।
विसं १९६० मा खड्ग शमशेरले श्री ३को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफनो हातमा लिएका थिए। खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य बस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतिक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको स्थानिय वासिन्दाहरू बताउँछन्। दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई ‘प्रेमको प्रतिक’ का रूपमा लिइने गरिन्छ।

आजै पोखरा पुग्नु पर्ने दबाबमा रहेका हामीलाई अझ बढी समय त्यहाँ बिताउन छुट थिएन । त्यहाँबाट पाल्पा तानसेनकाे लागि हिडियो । सल्लाघारी वनकाे ओरालो झर्दै बसले तानसेन नगरपालिका अगाडीकाे मैदानमा पुर्याउँदा तानसेन बजारलाई कता कता दार्जिलिङसँग तुलना गरे । त्यसो पहिले देश अनी विदेश भन्ने मलाई दार्जिलिङ समेत कस्तो छ थाहा थिएन । उही देखिएकाे फोटोकाे आधारमा अनुमान गरेकाे मात्रै हाे ।
केही बेरमा शिक्षक जीवन आचार्य आइपुग्नु भयो । तालसेन बजार आउनु केही अघी श्रमिक माविका हेडसर श्रीराम दाहालले ओजश्वी आचार्यकाे बुबासँग भेट्ने र एउटा स्कुल पुग्ने सुनाउनु भएकाे थियो । ओजश्वीकाे बाेल्ने शैली एक दुई पटक सुनेकाेले दमकडा माविका हुन भनेर सोधेकाे थिए । जीवन आचार्य समेत त्यही समूहमा मिसिन आइपुग्नु भयो । सबै साथीहरु भएर तानसेन नगरपालिका अगाडी रहेकाे करुवा समेत आउने गरी फोटो लियौं । विदाकाे दिन भए पनि केही कामकाे लागि केहीबेर खुलेकाे नगरपालिकाका कर्मचारीसँग गफियौं ।
सामुहिक फोटो पछि केही साथीहरु संग्राहलय घुम्न निस्कनु भयो । श्रीराम सर सहित ५-७ जना जीवन सरसँग नजिकै रहेकाे एउटा स्कुलमा पु्ग्यौ । स्कुलबारेमा छोटो अन्तरक्रिया गरियो । संग्राहलय जानु भएका साथीहरुलाई पर्खिदै चिया पानी खाएर गफियौं । जीवन सर भन्दै हुनुहुन्थ्यो अहिले तानसेन ओझेलमा परेकाे छ । सबै लाखापाखा लागे रोजगार र पढाइकाे लागि । पहाडी भिरालो स्थानमा रहेकाे शहर भएकाेले खासै विकास हुन पनि नसकेकाे र अन्य मार्गहरु बन्दै गएकाेले ओझेलमा पर्दै गएकाे सुनाउनु भयो । सबै जम्मा भएपछि तानसेनबाट पाल्पाली ढाकाटोपी लिने सल्लाह भयो । शनिबारकाे दिन बजार प्रायः बन्द हुने रहेछ । जीवन सरले चिनेका व्यवसायीलाई बोलाउनु भएपछि केही न केही सामान लियौं र सिद्धार्थ राजमार्गलाई समाएर पोखराकाे लागि अगाडी बढ्यौं ।
तानसेन
तानसेन नेपालको लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको सदरमुकाम हो। पाल्पा जिल्लाको तत्कालिन पाल्पा तानसेन इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं. २०१४ जेष्ठ १७ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो। तत्कालिन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुष २२ गते नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि तानसेन नगरपालिकाको नाम स्वतः परिवर्तन भई ‘तानसेन नगरपञ्चायत’ भएको थियो। नेपालको संविधान २०७२ अनुसार वि.सं. २०७३ साल फाल्गुण २२ गते नेपालमा स्थानीय तह कायम गर्दा पाल्पा जिल्लामा साविक बराङ्दी (२-६), मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघागुम्बा, बौघापोखराथोक र अर्गली गाउँ विकास समितिहरूलाई समेटेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो । पश्चिम नेपालको एक एतिहासिक सहर बुटवलदेखि पोखरा जाने सिद्धार्थ राजमार्गमै अवस्थित छ।

अबकाे गन्तव्य स्याङ्जाकाे गल्याङ हुनेवाला थियो । श्रीराम सर र मैले आजै विहान स्याङ्जाकाे बाटो नजिकै पर्ने नमूना विद्यालय भ्रमणकाे लागि गरेकाे सल्लाह अनुसार कार्यक्रम तय भएकाे थियो । तर तानसेन छोड्दै गर्दा विद्यालयमा कार्यरत स्टाफकाे आफन्तकाे मृत्यु भएकाेले गल्याङमा अलमलिने योजना सफल भएन । केहीबेरमा आइपुगेकाे गल्याङमा चिया खाने गरी बस रोकियो । यो स्थान कालिगण्डकी करिडोरकाे मिलन विन्दु समेत रहेछ ।
गल्याङ छोड्दा बेलुकाकाे ४ः३० बजेकाे थियो । अब भने पोखरा पुग्दा ८ बज्ने पक्का पक्की भएकाे थियो । सिद्धार्थ राजमार्गकाे स्याङ्जा खडकखण्ड समाएकाे केहीबेरमा वर्षा सुरु भएकाेले मौसम चिसो थियो । स्याङ्जाकाे वालिङ र पुतलीबजार नगर पालिकालाई पछाडी छोड्दै पोखराकाे बाटो छोट्याइ रह्यौं वर्षामा । यात्रामा गुल्मीको रिडी, पाल्पाको तानसेन र स्याङ्जाको सिद्धार्थ राजमार्गका दृश्यहरूले आँखालाई एक पल पनि थकित हुन दिएका थिएनन् । स्याङ्जा छोडेर कास्की प्रवेश गर्दै गर्दा साझँकाे ७ः३० बजेकाे थियो । तल उत्तरतर्फ बलेका झिलिमिल बत्तीले पोखरा आउन लागेकाे संकेत गर्दै थियो । तर केही ढिलो भएकाे सिद्धार्थ राजमार्गकाे स्याङ्जा तर्फबाट पोखरासम्मका दृश्यलाई भने उज्यालोमा देख्न पाइएन ।
तराईको विशालता र पहाडको गहिराइलाई एकाकार गर्दै यात्रा पोखराको दृश्यहरुमा पुगेकाे थियाे । बेलुका ८ः३० बजेकाे थियो दिउँसै फोनबाटै बन्दोबस्त गरिएकाे होटल प्रवेश गर्दा । लगेज थन्काएर लेकसाइड र फेवातालकाे किनारामा एकछिन टहलिन केही साथीहरु तम्तयार थिए । केही साथीहरु थकाइले आराम गर्ने तरखरमा लागे । पोखरा पुग्नु र बास बस्नु भनेकाे लेकसाइड नियाल्नु पनि हाे जस्तो लाग्छ । यो समेत केही पटक पोखरा पुग्दा एक पटक बाहेक लेकसाइड घुमेकाे छु । त्यहाँकाे रात्रीकालिन बजार नियालेकाे छु । केही बेर पानी परेर अवरुद्ध भए पनि यो पटक समेत लेकसाइड र फेवा किनारा घुम्यौ । केही व्यापार बढायौं ।
२०८३ जेठ ३ गते आइतबार । विहान ७ बजेमात्रै निन्द्रा खुलेकाे थियो । बेलुका केही ढिला सुतिएकाेले समेत हुन सक्छ । तालबाराही मन्दिर जाने भन्दै साथीहरु निस्की सक्दा हामी केही ढिला गरि पुग्यौं । ८ जनाकाे टोलीले ढुंगा लिएर मन्दिरलाई परिक्रमा लगायौं । करिब एक घण्टा फेवातालमा बिताएपछि यात्राले तनहुँकाे खैरनीटारकाे बाटो समायो । हिजै स्याङ्जाकाे गल्याङमा विद्यालय भ्रमणकाे मेसो नमिलेपछि तत्काल बनेकाे योजना पोखरा वा खैरनीटारकाे स्कुल भ्रमण थियो । खैरनीटार पुगेर खाना समेत खाने योजना बनाएकाेले समेत पोखरामा अरु नअलमलिने वातावरण मिलायौं । पोखरा छोड्दा विहानकाे ९ः३० बजेकाे थियो ।
शुक्लागण्डकी नगरपालिकाकाे खैरनीटार पोखरा मुग्लिङ सडक पृथ्वी राजमार्गकाे छेवैमा अवस्थित आइटी बेस स्कुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रअ सहित केही बेर विद्यालयकाे भ्रमण र निरीक्षण पश्चात अनुभव साटासाट गरिए । हामीले सुनेर सहभागी बनेर बस्यौं । त्यहाँबाट विदा भएर निस्कदा ११ः३० बजेकाे थियो । पहिले नै भनिएकाे होटलमा खाना लिएर उज्यालो मै हेटौंडा पुग्ने भन्दै पृथ्वी राजमार्ग समाउन पुगेकाे थियो बस । तर चितवनमा केही बेर अलमलिने सल्लाह गरौं । नारायणीमा बाेटिङ्ग गर्ने की विद्यालय जाने भन्ने कुरा हुँदै थियो पहिले विद्यालय जाने समय रहे नारायणी नदी पुग्ने श्रीराम सरले बताउनु भयो । भोजाडकाे एउटा विद्यालयकाे आतिथ्यतामा लाग्यौं । अलिक बेर कार्यक्रम भयो । दिन ढल्किदै गएकाे र साँझ पर्दै गएकाे समयमा नारायणी नदीकाे यात्रा छोडेर हेटौंडाकाे यात्रा छोट्यायौं ।
शिक्षा क्षेत्रसँग हामी केही सरोकारवालहरुकाे समूहकाे यसपालीकाे यात्रा (करिब ८ सय किमी) मा हेटौंडादेखि रुपन्देही र पोखरादेखि हेटौंडासम्मकाे यात्रा बाहेक सबै नयाँ स्थान र नौलो परिवेश थियो । अनि लाग्यो नेपाल घुम्नु भनेको संसारकै सबैभन्दा सुन्दर क्यानभासमा रङ भर्नु पनि हाे ।

