मकवानपुर । मकवानपुरकाे हेटौंडामा एकै मञ्चमा ४ जना स्रष्टा सम्मानित हुनु भएकाे छ । मकवानपुरको साहित्यिक संस्था मातृभूमि साहित्य समाजले शनिबार हेटौंडामा ‘मातृभूमि साहित्य उत्सव–२०८३’ कार्यक्रम आयोजना गरी ४ जनालाई सम्मान गरिएको हाे ।
सम्मानित हुनेमा प्रदिप रोदन (गोरखा), राजकुमार लामिछाने (मकवानपुर), बासुदेव पाण्डेय ‘प्रभाकर’ (सुर्खेत) र स्वस्तिका बानियाँ (मकवानपुर) हुनुहुन्छ । उक्त कार्यक्रममा गजलकार रोदनलाई १५ हजार रुपैंया राशीकाे ‘राजकुमार स्मृति मातृभूमि सम्मान–२०८२’ बाट सम्मानित गरिएकाे हाे । यस्तै हास्यव्यङ्गयकार लामिछानेलाई १५ हजार रुपैंया राशीकाे ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान–२०८२’ बाट सम्मानित गरिएकाे समाजका सचिव किशन पौडेलले बताउनु भयो ।
यस्तै छन्द कवि ‘प्रभाकर’ लाई १५ हजार राशीकाे ‘होमनाथ बलदेवी छन्द साहित्य सम्मान–२०८२’ बाट सम्मानित गरिएकाे उनले जानकारी दिनुभयो । उनका अनुसार बानियाँलाई ७ हजार ५ सय राशीकाे ‘मंगलादेवी स्मृति मातृभूमि सम्मान–२०८२’ बाट सम्मानित गरिएकाे हाे ।
‘मातृभूमि साहित्य उत्सव–२०८३’ मा प्राज्ञिक विमर्श अन्तर्गत दुई वटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । ‘साहित्यमा कृत्रिम बौद्धिकता’सम्बन्धी डा. घनश्याम घिमिरेले प्रस्तुत गर्नु भएकाे कार्यपत्र माथि साहित्यकार डीबी बर्तौला टिप्पणी गर्नु भयो । यसैगरी ‘साहित्यमा अध्यात्म दर्शन’ विषयमा डा. ज्ञानु अधिकारीले प्रस्तुत गर्नु भएकाे कार्यपत्रमा साहित्यकार अनिता कोइरालाले टिप्पणी गर्नु भयो ।
यस्तै ‘नारी स्रष्टाको साहित्य सिर्जनामा पुरुष अभिव्यक्ति’ शिर्षकमा भएकाे अन्तर संवादमा समालोचक चेतना शर्मा (काठमाडौं) समालोचक अनिता कोइराला (काठमाडौं) उपन्यासकार कल्पना खरेल (नेपालगंज) ले बहस गर्नु भएकाे थियाे । यस सत्रकाे सहजिकरण साहित्यकार डा. निमेष निखिल (हेटौंडा) ले गर्नु भएकाे थियाे ।
समाजका अध्यक्ष कृष्ण प्रसाद दाहालको सभाध्यक्ष, साहित्यकार धनराज गिरीकाे प्रमुख आथित्यतामा भएकाे कार्यक्रमको सहजीकरण समाजका उपाध्यक्ष हेमन्त ढुङ्गेलले गर्नुभएको थियो ।
नेपाली भाषा, साहित्य तथा कलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं.२०५६ सालमा स्थापना भएको समाजले स्थापना कालदेखि नै विविध साहित्यिक तथा सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिँदै आइरहेको बताइएकाे छ। साहित्य समाजले स्थापित तथा नवोदित प्रतिभाहरूलाई साहित्य, कला, सङ्गीत एवं सामाजिक सेवाका विभिन्न क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कार तथा सम्मान गर्दै आएको छ।

