मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज मङ्गलबार ल्याउँदै छ । प्रदेशसभाकाे आजकाे लागि आह्वान गरिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरिने छ ।
प्रदेश सभमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । संसद्मा पेस गर्ने गरी सरकारको नीति तथा कार्यक्रम सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार मङ्गलबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा पेस गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले स्वीकृत भएकाे छ ।
के के भए अन्य निर्णय ?
- भौतिक पूर्वाधार विकास मन्त्रालयले पेस गरेको बागमती प्रदेश सहरी नीतिलाई सरकारले स्वीकृत ।
- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याएको ‘जीवनाशक विषादी व्यवस्थापन’ सम्बन्धी विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने ।
- कृषि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि २०८३ को मस्यौदालाई मन्त्रिपरिषद्को समितिमा पठाउने।
- बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा तयार पारिएको प्रदेश जनसङ्ख्या नीति २०८३ लाई पनि अध्ययन र परिमार्जनका लागि समितिमा पठाउने ।
- खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले प्रदेशको विद्युत् विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्नका लागि स्वीकृति प्रदान ।

