मकवानपुर । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरिएकाे छ । विपक्षी ३ दलले प्रदेश सरकारले तत्काल संसद्को हिउँदे अधिवेशन बाेलाउन माग गरेका हुन् ।
अधिवेशन नबोलाए प्रदेशसभा नियमावली अनुसार अघि बढ्ने चेतावनी दिएका छन् । साबिकको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका साथै हाम्रो नेपाली पार्टीले प्रदेश सभाकाे हिउँदे अधिवेशन तत्काल बाेलाउन माग गर्दै बुधवार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले ज्ञापन पत्रमा सरकारसँग तीन बुँदे माग समेत राखेका छन् ।
तत्काल हिउँदे अधिवेशन आह्वान गर्नुपर्ने, चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट कटौती नगरी हुबहु कार्यान्वयन गर्नुपर्ने र संसदमा टेबल भई पारित भएका थप योजनामा बजेट व्यवस्था गर्नुपर्ने माग राख्दै बुझाइएकाे पत्रमा सरकार संसदप्रति उत्तरदायी नभएको र लामो समयसम्म संसद् छलेर भाग्न खोजेको आरोप लगाइएकाे छ ।
प्रतिपक्ष दलले तत्काल प्रदेश सभाकाे बैठक नबाेलाए नियमावली अनुसार अघि बढ्ने चेतावनी समेत दिएका छन् । संसद नियमावलीमा सरकारले अधिवेशन नबोलाएको खण्डमा एक चौथाइ सांसदले समावेदन दिएर विशेष अधिवेशन वा बैठक बोलाउन सक्ने व्यवस्था छ । सरकारको गैरजिम्मेवारीपनले चालु बजेट (वर्षे) अधिवेशन हठात अन्त्य गरेको उनीहरूको भनाइ छ ।
गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देश ठुलो संकटबाट गुज्रिरहेको भन्दै नेपाली काँग्रेस र नेकपा एमालेकै गठबन्धनबाट चलिरहेको बागमती प्रदेश सरकार देशले यति धेरै मानवीय र भौतिक क्षति बेहोर्दा समेत प्रदेश सरकार गम्भीर नबनेको विपक्षी दलको आरोप छ ।
दुई दलीय गठबन्धन सरकारबाट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट आएको, यस बिचमा सरकारको नेतृत्व र मन्त्री मात्र फेरबदल भएको भन्दै ज्ञापन पत्रमा भनिएको छ विद्यमान सरकार पुरानो गठबन्धनकै निरन्तरता हो । तसर्थ सरकार आर्थिक वर्षका विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने दायित्वबाट पन्छिन पाउँदैन ।
ज्ञापनपत्रमा बागमती प्रदेशसभाका प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेकपा एकीकृत समाजवादी पार्टीका वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

