मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकाे बजार क्षेत्रका राजमार्ग क्षेत्रका सडक २५ गज सडक विस्तार विरुद्ध सर्वोच्च अदालतमा दायर रिट बुधबार सुनुवाइ भएन । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हाे ।
रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसमेतले दायर गरेको उक्त रिट सर्वोच्चको इजलास नम्बर ६ को ‘च’ नम्बरमा सुनुवाइका लागि पेशी तोकिएको थियो । तर, उक्त इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि आजका लागि तोकिएको सुनुवाइ रोकिएको हो ।
डिभिजन सडक कार्यालय हेटौडाले हेटौंडा बजार क्षेत्रमा सडक सीमा २५/२५ गज (२२.५ मिटर) भित्रका संरचना हटाएर सडक विस्तार गर्न ५ मंसिरमा १५ दिनकाे समय सिमा ताेकी सूचना प्रकाशित गरेपछि कंसाकारलगायतले गत १६ मंसिर गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । निवेदकहरुले व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको र प्रक्रिया नपुर्याई संरचना हटाउन खोजिएको भन्दै मुद्दा दायर गरेका थिए ।
डिभिजन सडक कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाएर दायर रिट माथि १९ मंसिरमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले निवेदकको माग बमोजिम तत्कालका लागि संरचना नहटाउन र यथास्थितिमा राख्न विपक्षीका नाममा ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो ।
अदालतले २६ मंसिरमा दुवै पक्षलाई छलफल गर्न बोलाइएकाेमा न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले उक्त मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गरेको थियो । सोही आदेशानुसार २ पुस २का लागि पेसी तोकिएको थियो ।

