काठमाण्डौ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गर्दै मनाइने इन्द्रजात्रा पर्वमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा सहभागी हुनु भएको छ । परम्परागत रूपमा मनाइँदै आएको यो पर्वको अवसरमा राष्ट्रपतिलगायत विशिष्ट व्यक्तित्वहरू समेत काठकाण्डौ वसन्तपुर पुग्नु भएको थियो ।
शनिबार परेकाे इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थ व्यक्तित्वहरू शनिबार अपराह्न बसन्तपुर पुग्नु भएको हो । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ।
शनिबार यसै अवसरको मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्व मनाइएको हो । सो अवसरमा राष्ट्रपति पौडेलका साथमा प्रदेश प्रमुख देवकोटाले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्नु भयाे । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरू भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा धूमधामका साथ मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा सुरु हुन्छ। यस अवधिमा विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गर्ने परम्परा छ।
इन्द्र ध्वजलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ, जसको फेदमा भैरवको पूजा गर्ने प्रचलन छ। यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रदर्शनका रूपमा मनाइने गरिएको मानिन्छ। इन्द्रजात्रा अवलोकनपछि प्रदेश प्रमुख देवकोटाले नेपालको बहुभाषी बहुजाति प्रथा परम्परा नेपालीहरुकाे अमुल्य निधि भएको प्रतिक्रिया दिनु भयाे । ‘नेपाली परम्परा र सँस्कृतिको अवलोकन विदेशी पर्यटकहरुले पनि चाख लिएर अवलोकन गर्ने खिच्ने गरेकाे देखेर झनै खुसी लाग्यो’ देवकाेटाले भन्नुभयाे ‘नेपाली परम्परा तथा संस्कृतिको बचावटको लागि यसकाे निरन्तरता र नयाँ पुस्तामा ज्ञान सिपकाे हस्तान्तरण आवश्यक छ ।’

