मकवानपुर । चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले न्वांगी पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् ।
न्वांगी पर्व सामूहिक रूपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आएका छन् । चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वांगीलाई उत्सवका रूपमा मनाउने गरिएको छ । उक्त उत्सवमा सहभागी हुन नपाउनेले आआफ्नो घर र टोलटोलमा मनाउने गर्छन् ।
भदौ २२ गते सामूहिक रूपमा न्वांगी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदायले भदौ महिनाभरि नै न्वांगी मनाउने परम्परा रहेको छ । यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा देशभरका चेपाङ एकै ठाउँमा भेला भएर न्वांगी मनाउन लागिएको छ । ‘हामीले भदौ २२ गते न्वांगीलाई राष्ट्रिय रूपमा सामूहिक मनाउँदै आएका छौं’ संविधान सभा सदस्य एवम् नेपाल चेपाङ संघ केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले भने ‘ चेपाङ जातिका ६४ वटा थर हुने भएकाेले कूलअनुसार भदौको पूर्णिमादेखि भदौ महिनाभरि नै मनाउने गरिन्छ ।’
चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वांगी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि हाे । न्वागी मनाउने क्रम घट्दै गएकाले यसलाई नयाँ पुस्तामाझ जोगाइराख्न प्रत्येक वर्ष यो पर्व बेग्ला-बेग्लै ठाउँमा मनाउने गरिएको छ । नयाँ उब्जिएको अन्नबाली मकै, केरा, पिँडालु, निबुवा, घैया धानलगायत प्रकृतिलाई चढाउने गरिन्छ ।
चेपाङ समुदायको यस प्रमुख पर्व न्वागीमा घरमा भित्र्याएको नयाँ अन्नबाली प्रकृतिलाई चढाएपछि मात्र खाने गरिन्छ । न्वागीपछि अनिकाल सकेर सहकाल आएको मानिन्छ । नयाँ अन्न र फलफूल पितृलाई नचढाई खाएमा देउता अनिकाल लाग्ने तथा रोगब्याध लाग्ने चेपाङ समुदायको धार्मिक विश्वास रहेको छ । न्वांगीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् ।
चेपाङहरूले न्वागी पर्वलाई पान्देई घ्यासा पनि भन्छन् । भेला भएर उनीहरूले ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद समेत थाप्ने गर्छन् । चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्ने गर्छन् । उनीहरू जङ्गलका गिठा-भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजङ्गलसँग मिठो सम्बन्ध गाँसिएको हुन्छ ।न्वांगी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।
चेपाङ समुदायका मानिसहरूको २६ जिल्लामा बसोबास रहेको पाइन्छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा चेपाङको सङ्ख्या ८४ हजार ३६४ जना छन् । चेपाङ समुदाय सबैभन्दा बढी चितवनमा रहेका छन् । जहाँ चेपाङको सङ्ख्या ३५ हजार ६३७ छ । यसैगरी मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा ४ हजा २६८ जना रहेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ ।
न्वांगीका अवसरमा बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिँदै आाएको छ । यस वर्ष प्रदेश राजपत्रमै सूचना प्रकाशित गरी बिदा दिएकाे छ । यस अघीका वर्षमा प्रदेश मन्त्रिपरिषद्काे निर्णयबाट बिदा दिइएकाे थियाे । मकवानपुरकाे राक्सिराङ गाउँपालिकाले न्वांगीकाे अवसरमा भदौकाे २१,२२ र २३ गते गाउँपालिका भर बिदा दिएकाे छ । यस्तै गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिँदै आएको छ ।
चेपाङ समुदायले राष्ट्रिय पर्वका रूपमा आफ्नो घरघर र टोलमा मनाउँदै आएको न्वांगी पर्वलाई नेपाल चेपाङ संघ अगुवाइमा २०६८ साल भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् ।

