मकवानपुर । बागमती प्रदेश सरकार मुख्यमन्त्री बहादुर सिंहलामा क्याविनेटका अर्का एक जना मन्त्रीले राजीनामा दिएका छन् ।
नेपाली काँग्रेसबाट खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री भएका श्यामकुमार खड्काले सोमबार मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष राजीनामा बुझाएका हुन् ।
खड्काले कांग्रेस संसदीय दलकाे कार्यालयमा मुख्यमन्त्री समक्ष राजीनामा दिएसँगै लामाविरूद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर समेत गरेका छन् । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदकाे संख्या २२ पुगेकाे छ ।
यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए । उनीहरूले राजीनामा दिए पनि साेही दिन साँझ मुख्यमन्त्री लामाले पदमुक्त भएकाे पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटालाई पठाएका थिए ।
मुख्यमन्त्री लामाविरुद्ध गत शुक्रबार काँग्रेस संसदीय दल बागमती प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । लामाले संसदीय दलमा सांसदकाे अविश्वास प्रस्तावकाे सामना गरिरहेका छन् । कांग्रेस संसदीय दलभित्रकाे विवाद समाधानका लागि पार्टी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसीले साेमबार मध्याह्नदेखि नै लामा र सांसद इन्द्रबहादुर बानियाँलाई राखेर छलफल गरे पनि अबेर राती मंगलबार टुंग्याउने गरी छलफल स्थगित भएकाे थियाे ।
गत आइतबार मुख्यमन्त्री बहादुरसिंह लामा विरुद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका २ जना सांसदले नाम फिर्ता लिएका छन् । अविश्वासकाे प्रस्ताव दर्ता हुँदा हस्ताक्षर बुझाइएका सांसद माया श्रेष्ठ र मीना पराजुलीले नाम फिर्ता लिएको जनाएका छन् ।
बागमती प्रदेशमा कांग्रेसका ३७ जना सांसद छन्। तीमध्ये २१ जनाले शुक्रबार र १ जनाले सोमबार मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
संसदीय दलको बैठक अघि मुख्यमन्त्री बहादुर सिंह लामा र उनीविरुद्ध अविश्वास प्रस्ताव अघि सारेका कांग्रेस प्रदेश अध्यक्ष इन्द्र बानियाँ आ-आफ्नो पक्षमा बहुमत सांसद जुटाउन अन्तिम कसरत गरिरहेका छन् ।
बानियाँले सोमबारदेखि नै आफ्नो पक्षका सांसदलाई हेटौंडास्थित एक होटलमा राखेका छन् । बानियाँको पक्षमा कुल २४ सांसद रहेको बताइएको छ । मुख्यमन्त्री लामाले पनि आफ्ना पक्षका सांसदलाई सोमबारदेखि नै होटलमै राखेका छन् ।
मंगलबार विहान दश बजेकाे लागि बाेलाइएकाे संसदीय दलकाे बैठक बस्न सकेकाे छैन् ।
मुख्यमन्त्री लामाकै प्रस्ताव अनुसार सोमबार बस्ने भनिएको बैठक मंगलबार बिहान १० बजेका लागि भन्दै सारिएको थियो । आर्थिक मामिलामन्त्री कुन्दनरा काफ्ले विदेशबाट काठमाडौंमा आइपुगेको तथा उनी हेटौंडा आइपुगेपछि संसदीय दलको बैठक बस्ने बताइएकाे छ ।

