मकवानपुर । नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा सरकारहरुलाई झकझक्याउदै गर्नु पर्ने एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । नेपाल भाषाकाे संरक्षणमा नेवार समुदायहरु सक्रिय हुनुपर्ने नेपाल भाषा प्रवर्द्धन कार्यक्रम जोड दिइएकाे हाे ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तरगतको पर्यटन कार्यालय काठमाडौं र नेपाल भाषा एकेडेमीको संयुक्त आयोजनामा हेटौंडामा शनिबार भएकाे नेपाल भाषा प्रवर्द्धन कार्यक्रममा बागमती प्रदेश सरकारले तामाङसँगै नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गरिरहेकोले नेवार समुदाय जागरुक हुनु पर्ने बताइएकाे छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनले भाषा मासिएपछि जातमात्रको खासै अस्थित्व नहुँने भन्दै भाषा संरक्षण र प्रवर्द्धनमा नेवार समुदाय सचेत हुनुपर्ने बताए । ‘भाषा, संस्कृति भनेको जात, समुदायसँगै देशको साझा सम्पती हो’ उनले भने ‘राज्य र सरकारलाई खबरदारी गर्दै नेपाल भाषाको विकास र विस्तारमा नेवार समुदाय सक्रिय हुनुपर्दछ ।’
भाषा अभियान्ता पौभा सायमीले नेपाल भाषाको महत्त्व नेवार जातिको लागि मात्र नभएर देशकै सम्पत्ति भएकोले सबै सचेत र जिम्मेवार हुनुपर्ने बताए । ‘भाषा विलिन हुनु भनेको सम्पदा, संस्कृति, विचार बिलिन हुनु हो’ उनले भने ‘नेपाल भाषा सिक्न र जगेर्ना गर्न सबैले भूमिका खेल्न ढिला गर्नु हुन्न ।’ अंग्रेजी, जर्मन, कोरियन, जापानिज भाषा पढेर विदेशिनेको संख्या अत्याधिक बढेको प्रति उनले आफ्नो भाषाप्रति गर्व गर्ने र प्रयोग, संरक्षण नगर्नाले आफ्नै अस्थित्व लोप हुने भन्दै चेतावनी दिए ।
नेपाल भाषा एकेडेमीका प्राज्ञ विद्या चित्रकार, पाटन क्याम्पसका प्राध्यापक किशोर नेपाली, नेपाली काँग्रसका नेता अशोक शाक्य, सामाजिक विकास मन्त्रालयकी लैङ्गीक सम्पर्क व्यक्ति चन्द्र कुमारी व्यञ्जनकार, नेवा: देय् दबु: बागमती प्रदेशका प्रमुख सचिव गणेशकुमार श्रेष्ठ लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुरसहित नुवाकोट, दोलखामा पनि शनिबार नै नेपाल भाषा प्रवर्द्धन कार्यक्रम गरिएकाे नेपाल भाषा एकेडेमीका व्यवस्थापक शान्तराज शाक्यले बताए । कार्यक्रम आयोजना गरिने ९ जिल्ला मध्ये चितवन, धादिङ र काभ्रेपलाञ्चोक यसअघी नै सम्पन्न भईसकेको उनले जानकारी दिए । बाँकी ३ जिल्लामा चाँडै कार्यक्रम गरिने बताईएको छ ।
नेपाल भाषा एकेडेमीले नेपाल भाषालाई बागमती प्रदेश सरकारले कामकाजको भाषा घोषणा गरेको सन्दर्भमा भाषिक जागरण अभिमुखीकरणका लागि आधारपत्र प्रस्तुत गरेको थियो । कार्यक्रम हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्य तथा भाषा अभियान्ता पौभा सायमीको अध्यक्षतामा भएको हाे ।

