मकवानपुर । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा उत्सव चौलागाईं चयन भएका छन् । शनिबार मकवानपुरको हेटौंडामा भएको स्वास्थ्यकर्मी महासंघको चौथो जिल्ला अधिवेशनले चौलागाईँको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
स्वास्थ्यकर्मी महासंघ उपाध्यक्षमा लक्ष्मी पौडेल र सानी मोक्तान, सचिवमा हीरालाल तामाङ, कोषाध्यक्षमा समाधी बल, उपसचिवमा सविता पौडेल चयन भएका छन् । यस्तै सदस्यमा मोहन खतिवडा, परिदेश पराजुली, रुपेश सिलवाल, मेनुका यादव, पार्वती पौडेल, मिलन थापासहित सर्वसम्मत चयन भएका छन् ।
स्वास्थ्यकर्मीहरुको हक हितमा संगठित संघको अधिवेशन मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, भिमफेदी गाउँपालिका र राक्सिराङ गाउँपालिकामा सम्पन्न भैसकेको छ भने, बाँकी पालिकामा तयारी भइरहेको बताइएकाे छ ।अधिवेशन नितर्वमान अध्यक्ष भोलानाथ चौलागाईको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा भएको हाे ।
मकवानपुरले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छः प्रथम मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरको चौथो जिल्ला अधिवेशनकाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै उनले स्वास्थ्य सेवामा संलग्न समस्त स्वास्थ्यकर्मीहरुको पेशागत हक हित र अधिकारको संरक्षण एवम् सम्वर्धन गर्न संघले पहल गनुपर्ने बताए । ‘स्वास्थ्यकर्मीको पेशा संवेदनशील पेशा हो । तपाईंहरुले चाहेको खण्डमा धेरै राम्रा कामहरु हुनसक्छ, तपाईहरुको लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन समेत सक्छ । त्यसैले आफनो पेशाप्रति ईमान्दार र सचेत रही कार्य गर्नुहाेस’ उनले भने ।
राजनीतिक पूर्वाग्रह राखेर केही तत्वहरुले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विरोध गरिरहेकाे समेत बताए । ‘केही व्यक्तिहरुको निजी स्वार्थको कारण अहिले प्रतिष्ठानको विरोध भइरहेको छ’ उनले भने ‘विगत देखि हेटौंडा अस्पतालमा भइरहेको चलखेल अन्त्य हुने डरले केही तत्वहरु प्रतिष्ठानको बिरुद्धमा लागेका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सचिव नारायण पौडेलले चिकित्सा शिक्षा आयोगबाट सिफारिस भएदेखि स्वास्थ्यकर्मी उत्पादनसम्ममा व्यवस्थापनको पाटो चिसिदै गएको बताए । स्वास्थ्य सेवा सम्बन्धी २६ वटा ऐन र कानूनका समस्या पुनरावलोकन गरी संविधानले कल्पना गरेको समृद्ध स्वास्थ्य निर्माण गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘स्वास्थ्यकर्मी उत्पादन भएपछि जनताले गुणस्तरीय सेवा पाए कि, पाएनन् ? यसबारे चासो दिन आवश्यक छ । देशमा उत्पादित स्वास्थ्य जनशक्तिलाई देशमै बसेर स्वास्थ्य उर्जा खर्चिन उत्प्रेरणा जगाउनु पर्छ’ उनले भने ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले संगठनले स्वास्थ्यकर्मीहरुको हक हित र अधिकारका लागि एकजुट हुनु पर्ने बताए । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐन तथा बागमती प्रदेश निजामति ऐन संशोधनका लागि बागमती प्रदेशसभामा छलफल प्रक्रिया अघि बढेको उनले जानकराी दिए ।
‘स्वास्थ्य क्षेत्रलाई कानुनी, संवैधानिक, प्राविधिक तथा बजेटिकरणको दृष्टिकोणले परिपूर्ति गर्न हामी तत्पर छौं’ उनले भने ‘नेतृत्व असल भएमात्र व्यवस्था राम्रो हुने भएकाेले नेतृत्व सक्षम र क्षमतावान हुन आवश्यक छ । ‘संगठनको एउटा अंग स्वास्थ्यकर्मी संघ हो । यो अंगले स्वास्थ्य क्षेत्रको विकासमा पहरेदारको काम गरी संगठन बलियो बनाउन सघाँउ पुर्याउने आशा राखेकाे छु’ उनले भने ।
कार्यक्रममा नेपाल नर्सिङ संघ मकवानपुर अध्यक्ष गंगा दाहाल, नेपाल प्राविधिक संघ वानका केन्द्रीय सचिव रेवती थापा, नेपाल चिकित्सक संघ बागमती प्रदेश अध्यक्ष हरि बहादुर खड्का, स्वास्थ्यकर्मी महासंघ नेपाल बागमतीका सचिव विनोद लामिछाने, नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रदिप ज्ञवाली, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बागमती अध्यक्ष अनुप अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशन नितर्वमान अध्यक्ष भोलानाथ चौलागाईको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा भएको हाे ।
