मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले अभिव्यक्ति स्वतन्त्रताको माध्यम पत्रकारिता भएकाेले हनन गर्न नपाइने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र फ्रिडम फोरमको संयोजनमा हेटौँडामा आइतबार भएको अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी प्रादेशिक अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अभिव्यक्ति स्वतन्त्रता सुरक्षा संयन्त्र कार्यविधि निर्देशिका २०७५ ले सुरक्षा संयन्त्रको गठन, निर्देशक समिति, द्रूत उद्धार टोली, प्रदेश र जिल्ला स्तरमा संयन्त्र र सञ्जाल गठन गर्ने व्यवस्था गरेको उनले बताए । नियमनका नाममा नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्न नपाइने उनले बताए । ‘कुनै पनि बहाना बनाई नागरिकलाई अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन तथा वञ्चित गर्न पाइदैन’ उनले भने । कसैको असक्षमता र नबुझेका कारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता ठिक होइन र छैन भन्नु उचित होइन भन्दै उनले पत्रकारिता अभिव्यक्ति स्वतन्त्रताको माध्यम भएको बताए ।
आयोगका सहसचिव यज्ञप्रसद अधिकारीले पछिल्लो समयमा पत्रकारमाथि हुने भौतिक आक्रमणका घटना कम भएपनि सुरक्षा चुनौतीका स्वरुप परिवर्तन भएको बताए । ‘अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारको केन्द्र विन्दु हाे’ उनले भने ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति दिने दायित्व सरकारको रहेकाे छ ।’ फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले नियन्त्रण र नियमनको नाममा अभिव्यक्ति स्वतन्त्रमाथि चुनौती बढेको बताउँदै सबैको साझा प्रयासमा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न सकिने बताए ।
कार्यक्रममा मानव आधिकार आयोग बागमती प्रदेशका कार्यालय प्रमुख पवनकुमार भट्टले प्रदेश स्तरीय अभिव्यक्ति स्वतन्त्रता संरक्षण संयन्त्रको गतिविधि र संयन्त्रका समस्या सम्बन्धमा जानकारी गराएका थिए । यसैगरी फ्रिडम फोरमकी अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अनुगमनकर्ता नानीमैया खड्काले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था र घटनाहरुको जानकारी गराएकी थिइन् ।
कार्यक्रममा सञ्चारकर्मीहरु कृष्ण सारु, कुमार अधिकारी, सुरेश श्रेष्ठ, वसन्त पराजुली, माधव न्यौपाने, राजन सिंह, अधिकारकर्मीहरु कुमारी वाइवा, कमल विश्वकर्मा, शर्मिला श्रेष्ठ, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, बागमती प्रदेशका मुख्यमन्त्री कार्यालयका उपसचिव विनोद अमात्यलगायतले अभिव्यक्ति स्वतन्त्रता सुरक्षा संयन्त्रको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

