मकवानपुर । बागमती प्रदेश सभाको बैठक बुधबारबाट सञ्चालन हुने भएको छ । मंगलबार बसेको सर्वदलीय बैठकले संसद् सञ्चालन गर्ने सहमति जुटाए पछि बैठक संचालन हुने भएकाे हाे ।
सत्तापक्ष र प्रतिपक्ष बीचको विवाद समाधानका लागि मंगलबारकाे लागि सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकले विभिन्न विषयमा छलफल गर्दै सभा सञ्चालनको लागि प्रतिपक्ष र सत्तापक्षबिच माैखिक सहमति जुटाएको हो । बुधबार बस्ने प्रदेश सभाकाे बैठकमा प्रतिपक्षको अवरोध नरहने गरी सहमति भएको सभामुख पाठकले जानकारी दिए । बुधबारको बैठकमा निर्धारित कार्यसूची अनुसार विधेयकहरू प्रस्तुत हुनेछ ।
सरकारको तर्फबाट प्रतिपक्षले उठाएको मागका सन्दर्भमा अनुकूलताको आधारमा सम्बोधन गर्नेगरी बैठकमा छलफल भएको छ । प्रतिपक्ष दलले विगतको सहमति र विपद् प्रभावित क्षेत्रको पुनः निर्माण लगायतका विषयमा सरकारले क्रमशः सम्बोधन गर्नेगरी प्रतिबद्धता गरेको छ । प्रतिपक्ष दल माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सर्वदलीय बैठकमा लिखित सहमति नभएकाे बताउँदै मौखिक प्रतिबद्धता भने सरकारबाट आएको बताए । उनले भने ‘ सत्तापक्षबाट मौखिक प्रतिबद्धता आएको छ । हामी केही समय पर्ख र हेरको स्थितिमा छौं।’
बजेट माथिको विवादका कारण प्रदेशसभाको १८ माघकाे लागि आह्वान गरिएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको कार्यसूची अन्तिम समयमा स्थगित गरिएको थियो । १८ गते प्रदेशसभा स्थापना दिवस भएकाले मन्तव्यको कार्यसूचीपछि बैठक स्थगित गरिएकाे थियाे । प्रदेश सरकारले ल्याएका चार वटा विधेयक तथा विभिन्न समितिमा छलफल भई प्रतिवेदन तयार भएका केही विधेयकलाई छलफल तथा पारित गर्नुपर्ने भएकाले सर्वदलीय बैठक बसेकाे हाे ।

