मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले लोकतन्त्र प्राप्त गर्न रेडियोको योगदान रहेको बताएका छन् । रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २७ औं स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।
रेडियाेकाे सप्ताहव्यापी कार्यक्रमको समापन तथा सामुदायिक सम्मान कार्यक्रममा उनले सञ्चार माध्यम नै प्रजातन्त्रको सम्पत्ति भएको बताए ।
‘प्रदेशको सञ्चार माध्यमको वृत्ति विकासका लागि सरकार सदैव तयार रहेको छ’ उनले भने । ‘मुलुकको परिवर्तनका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान छ’ उनले भने, ‘सञ्चार क्षेत्रको सशक्त माध्यम रेडियो हो । अझै सामुदायिक रेडियोले समाज परिवर्तनमा छुट्टै योगदान दिन सक्छ ।’
फरक क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेर रेडियो मकवानपुरले सामुदायिक रेडियोको कतव्र्य निर्वाह गरेको भन्दै उनले प्रशंसा गरे । पछिल्लो समय नेपालमा सञ्चार माध्यमले फड्को मारेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले सञ्चार माध्यमले दिने सूचना सत्यतथ्य र विश्वसनीय हुनुपर्नेमा जोड दिए ।
यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले भूगोल र बजार अनुसारको मिडिया हुन जरुरी रहेको बताए । ‘पछिल्लो समय सञ्चार माध्यमको दर्ता र सञ्चालन बढ्दो क्रममा रहेको छ’ उनले भने संख्यात्मक वृद्धीले गुणस्तरीयता नआउने भएकाेले यस विषयमा पनि सोच्नुपर्ने बेला आएको छ ।’ मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सामाचार लेखेकै कारण कुनै पत्रकार तथा सञ्चार माध्यम डरत्रासमा बस्नु नपर्ने बताए । ‘पत्रकारसहित आम सर्वसाधारणलाई शान्ति सुरक्षा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय सदैव तयार रहेको छ’ उनले भने ।

सामुदायिक सम्मानद्वारा कार्की र उप्रेती सम्मानित
सगरमाथा आरोही विक्रम कार्की र अमर माविका प्रधानाध्यापक मालती उप्रेतीलाई रेडियो मकवानपुरले सामुदायिक सम्मान, २०८१ बाट सम्मानित गरेको छ । रेडियोको १५ औं वार्षिकोत्सवको समापनका क्रममा बकैया ४ का कार्की र हेटौंडा १ की उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएकाे हो ।
कार्कीले सगरमाथासहित नेपालको ३० वटा हिमालको सफल आरोहण गरिसकेका छन् । उनी मकवानपुरकै एकमात्र सगरमाथा आरोही हुन् । यस्तै अमर माविको प्रधानाध्यापकको रुपमा कार्य गर्दै आएकी उप्रेतीलाई शैक्षिकस्तर सुधार गरी उत्कृष्टता प्रदर्शन गरेकाेमा रेडियोले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतले उनीहरुलाई नगद, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेका हुन् ।
यसैगरी रेडियोले उत्कृष्ट कर्मचारीको रुपमा प्राविधिक शाखा प्रमुख एनिस लुइँटेललाई नगद ७ हजार रुपैयाँसहित सम्मान गरेको छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई समेत सम्मान गरिएको थियो ।
रेडियोको वार्षिकोत्सव एवम् सहकारीको स्थापना दिवसको अवसरमा माघ १६ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको थियो । यस वर्ष सहिद बासुदेव घिमिरेको परिवारलाई सम्मान, संस्कृत वेद विद्यालय हेटौंडा १० लाई खाद्यान्न हस्तान्तरण, सिद्धस्थली अस्पतालसँगको सहकार्यमा मकवानपुरगढी ४ मा निःशुल्क स्वास्थ्य शिविर, अमर माविमा सेनेटरी प्याड सहयोग हस्तान्तरण, मिडिया कप फुट्सल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।
रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा वार्षीक उत्सव कार्यक्रम भएकाे हाे ।

