मकवानपुर । सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तरगत पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप सरकारले आजदेखि देशभर सुरु गरेको छ ।
फेब्रुअरी ४ आज मनाईने विश्व क्यान्सर दिवसको अवसर एचपीभी खोप लगाउन सुरु गरिएकाे हाे । देशव्यापी अभियानका रुपमा आज २२ माघदेखि ६ फागुनसम्म खाेप अभियान सञ्चालन हुदैछ । पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकोले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा विद्यालय बाहिर रहेका किशाेरी लक्षित गरी खोप लगाइने भएकाे छ ।
मकवानपुर जिल्ला २२ हजार ७ सय १३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएकाे छ । मकवानपुरका दश पालिकाका विद्यालय जाने २२ हजार ५९ जना छात्रा र विद्यालय नजाने ६ सय ५४ किशोरीलार्ई एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाउनले लक्ष्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
अभियानमा देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइदैछ । यसका लागि २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको छ । सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १७ लाख ७० हजार २० डोज खोप लगाउँदै छ । घिमिरेका अनुसार मकवानपुर जिल्लाका कक्षा ६ देखि कक्षा १० सम्मका १० देखि १४ वर्ष उमेर समुहमा पर्ने छात्रालाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिएकाे छ । खोप अभियान मकवानपुरका २४० वटा विद्यालय र ११० वटा स्वास्थ्य संस्थाबाट सञ्चालन गरिनेछ । देशभर १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्र तोकिएका छन् ।

जिल्लामा सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाका ११ हजार १७३ किशोरीलाई एचपिभी खोप लगाइँदै छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका ४८६ किशोरीलाई खोप लगाइने भएकाे छ । हेटौंडा उपमहानगरका विद्यालयमा अध्ययनरत ११ हजार ६८ छात्रा तथा विद्यालय बाहिरका किशोरीको संख्या १ सय ५ रहेको छ । इन्द्रसरोवरको ४४८ विद्यालयका छात्रा र ३८ जना विद्यालय बाहिरका किशोरीलाई खोप लगाउने लक्ष्य छ ।
यसै गरी थाहा नगरपालिकाको १ हजार ८१६ विद्यालयका छात्राहरुलाई एचपिभी खोप लगाइने भएकाे छ भने ७३ जना विद्यालय बाहिरको बालिकालाई खोप लगाइने छ । भीमफेदी गाउँपालिकाका ८ सय ११ विद्यालयका छात्रा र ३३ जना विद्यालय बाहिरका किशोरी, मकवानपुरगढी गाउँपालिकाको १ हजार १२ विद्यालयका छात्रा र ६१ जना विद्यालय बाहिरका किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यलायकाे छ ।
त्यसैगरी मनहरी गाउँपालिकाले २ हजार २ सय विद्यालयका छात्रा र विद्यालय नजाने ६२ किशोरीहरुलाई खोप लगाउने लक्ष्य राखेको छ भने, राक्सिराङ गाउँपालिकाले ७ सय ७९ विद्यालयका र १९ जना विद्यालय बाहिरका किशोरीलाई खोप लगाउने लक्ष्य लिइएको छ । कैलाश गाउँपालिकाले विद्यालयका ९ सय २२ र विद्यालय बाहिरका ७९ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य राखेको छ ।
बागमती गाउँपालिकाले विद्यालयका १ हजार ३०७ विद्यालयका छात्रा र विद्यालय बाहिरका ३२ किशोरीलाई तथा बकैया गाउँपालिकाका १ हजार ६९६ विद्यालयका छात्रा र विद्यालय बाहिरका १५२ किशोरीलाई एचपिभी खोप लगाइने विवरण सहितकाे लक्ष्य स्वास्थ्य कार्यालय मकवानपुरमा पेश गरेको सूचना अधिकारी घिमिरेले बताए ।
मकवानपुरमा खोप अभियानमा ३६७ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ७३४ जना स्वयंमसेवक परिचालन गरिएकाे छ । प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र २ जना स्वयंमसेवक परिचालन गरिएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
सरकारले खोप सन् २०३० सम्ममा कम्तीमा ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य लिइएको छ । सन् २०३० सम्ममा पाठेघर मुखको क्यान्सर निर्मूल ९० प्रतिशतलाई खोप लगाउने, ९० प्रतिशतको स्क्रिनिङ गर्ने र ९० प्रतिशतको सफल उपचार गरिने बताइएकाे छ । यसलाई ९०ः९०ः९० योजनाकाे रुपमा अघी सारिएकाे छ ।

एचपीभी भनेको के हो ?
एचपीभी भनेको भाइरस हो । यसमा दुई सयभन्दा बढी प्रजातिका भाइरस छन् । तीमध्ये पनि १६ देखि १८ प्रजातिका भाइरसले क्यान्सर गराउँछन् । त्यसमध्ये पाठेघर मुखको क्यान्सर गराउने भाइरस चार थरी रहेकोले नेपालमा सोही विरुद्ध खोप अभियान सुरु गरिएको हाे ।
यी भाइरसहरू प्रमुख गरी शारीरिक सम्बन्धबाट सर्ने भएकाले शारीरिक सम्बन्ध राख्नु पहिला नै खोप लगाएमा प्रभावकारी हुनेछ । पाठेघरको मुखको क्यान्सर ३० वर्षपछि देखिने गर्छ । त्यसकारण अहिले लगाइएको एचपीभी खोपको असर ३० वा ३५ वर्ष पछि देखिने गर्छ ।
खोप लगाउँदा सामान्य असर देखिन सक्छ । कहिलेकाहीँ बालिका सियो देखेर डराउने, केही प्यानिक हुने हुन्छन् । यसका साथै खोप लगाएको ठाउँमा दुख्ने हुन्छ । दुखाइका कारणले कहिलेकाहीँ ज्वरो पनि आउन सक्छ ।
देशभर पाठेघर मुखको क्यान्सर भएका संख्या करिब २२ सय छ । वार्षीक २ हजार १४९ जना महिला पाठेघर मुखको क्यान्सरबाट पीडित रहेको सरकारी तथ्यांक छ । तीमध्ये करिब १३ सय जनाको बर्सेनि मृत्यु हुन्छ । सुरुमा परीक्षण गरेर पहिचान हुन सके बचाउन सकिन्छ ।
यो खोप भाइरस संक्रमणविरुद्ध हो । पाठेघर मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ह्युमन प्यापिलोमा भाइरसलाई मानिन्छ । यो भाइरसको संक्रमणबाट जोगाउँछ । ह्युमन प्यापिलोमा भाइरसको संक्रमण एक न एकपटक हुन्छ नै । लामो समयसम्म संक्रमण भइरहँदा संक्रमणबाट हुने घाउबाट क्यान्सरमा परिणत हुन्छ । यो खोपको काम नै ह्युमन प्यापिलोमा भाइरस संक्रमण रोक्ने हो ।

