मकवानपुर । बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त भएका छन् ।
प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबारको बैठकले पौडेललाई प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । चितवन, राप्ती नगरपालिका–७ का पौडेललाई बोर्डको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बताए ।
बैठकले बागमती प्रदेश विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीलाई विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीको सदस्यमा मनोनित गर्न सहमति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले जानकारी दिए । त्यसैगरी कारागार कार्यालयमा लघु उद्यम कार्यक्रम सञ्चालनका लागि बजेट निकासा दिने निर्णय गरेको उनले बताए ।
यसैगरी संघीय सरकार अन्तर्गत रहेका निकायका लागि चालु आर्थिक वर्षको बजेट किताबमा भएका योजना कार्यान्वयनका लागि सहमति लिने निर्णय गरेको प्रवक्ता लामिछानेले जानकारी दिए । उनका अनुसार चालूतर्फको बजेट खर्चमा २० प्रतिशत रकम खर्च कटौती गर्ने निर्णय गरेको छ । विपद्को समयमा अर्थ विविध शिर्षकको बजेट अपुग भएकाले सबै मन्त्रालयको चालू खर्च कटौती गर्ने निर्णय गरिएको मन्त्री लामिछानले बताए ।
बैठकले अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा लैजाने सैद्धान्तिक सहमति प्रदान गरेको प्रवक्ता लामिछानेले जानकारी दिए ।

