मकवानपुर । बागमती प्रदेशका उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गरिएको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौंडाले बुधबार उत्कृष्ट बिद्यालयलाई हेटौडामा पुरस्कृत गरेकाे हाे ।
निर्देशनालयले ५ सामुदायिक र ५ संस्थागत विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको हो । शिक्षा विकास निर्देशनालयले छनौट गरेका सामुदायिक तर्फका मेघा माध्यमिक विद्यालय तेखापुखु भक्तपुर, बलम्बु माध्यमिक विद्यालय चन्दागिरि नगरपालिका काठमाडौँ, पृथ्वी माध्यमिक विद्यालय विदुर–४ नुवाकोट, तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौं र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल काठमाडौं उत्कृष्ट भएका थिए ।
त्यस्तै संस्थागत तर्फका ह्विज किड्स इन्टरनेशनल स्कुल बालुवाटार काठमाडौं, रिलायन्स इन्टरनेशनल एकेडेमी बुढानीलकण्ठ काठमाडौं, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्णेश्वर काठमाडौं, शाकरी स्कुल छाउनी काठमाडौं र माउन्ट ग्लोरी इङ्ग्लिस बोर्डिङ हाइस्कुल उत्कृष्ट भएका थिए । उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयहरूलाई क्रमशः १ लाख रुपैयाँ, ८० हजार, ७० हजार, ६० हजार र ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको छ । निवन्ध लेखन प्रतियाेगितामा स्कृति चौलागाई बाँसबारी माध्यमिक विद्यालय काठमाडौं प्रथम, सुमना बुढाथोकी स्याउरी भूमि माध्यमिक विद्यालय शिवपुरी नुवाकोट द्वितीय, अविना कार्की भालेश्वर माध्यमिक विद्यालय पनौती काभ्रे तृतीय भएका थिए ।
प्रथम द्वितीय र तृतीयलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगदसहित मुख्यमन्त्री बहादुर सिंह लामा, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, शिक्षा विकास निर्देशनालय हेटौंडाका निर्देशक दिपेन्द्र सुवेदी लगायतकाले पुरस्कृत गरेका थिए ।

