मकवानपुर । बागमती प्रदेशसभाको बैठक ६ असोज आइतबारकाे लागि आह्वान गरिएको छ । १६ साउनदेखि स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको हो ।
विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै १६ साउनमा स्थगित गरिएकाे प्रदेशसभा बैठक ६ असोज आइतबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा संसदीय समितिहरूबाट पारित भएका विधेयकका प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची रहकाे बताइएकाे छ । बैठकको कार्यसूची तय गर्न ५ असोज शनिबार कार्यसम्पादन समितिको बैठक समेत आह्वान गरिएको छ । शनिवार दिउँसो ३ बजे बस्ने बैठकले सभाकाे कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
गुप्ताका अनुसार ६ असोजमा बस्ने प्रदेशसभा बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट पारित भएको दुई वटा र उद्योग पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा प्रतिवेदन संसदमा प्रस्तुत हुनेछन् । बागमती प्रदेश सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन रहेका छन् ।
समितिहरूबाट दफावार छलफल गरी संशोधनसहित पारित भएका विधेयकका प्रतिवेदनहरू प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको र तीनै विधेयकका प्रतिवेदनहरूमाथि सदनमा छलफल हुने सचिवालयले जनाएको छ ।

