मकवानपुर । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले नागरिकले घरमै बसेर सुविधा लिने गरी योजना बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । मन्त्रालयको आयोजनामा मंगलबार हेटौंडामा भएकाे सवारी कर तथा नविकरण, दस्तुर संकलन व्यस्थापनका बिषयमा अन्तरक्रियामा उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रदेश सरकार र मातहतका कार्यालय प्रति नागरिकको विश्वास बढाउन विश्वस्त हुनेगरी कार्यसम्पादन गर्नु पर्ने बताउँदै मन्त्री महर्जनले भने, ‘यातायातसम्बद्ध करमा राखिएको छुटको व्यवस्था बारे संचारमाध्यम र सामाजिक संजाल मार्फत् सूचना सम्प्रेषण गरि सुसूचित गर्न आवश्यक रहेकाेले काम गर्न लागि परौं ।’
यस्तै, कार्यक्रममा प्रदेश आर्थि मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मन्त्रालयहरुले बनाएको योजनाहरुको कार्यान्वयनमा अर्थ मन्त्रालयले सधैं साथ दिने बताए ।
कार्यक्रममा सार्वजनिक खरिद ऐन, नियमावली अनुसार बाई ब्याक मेथोड अर्थात् पुरानो दिने नयाँ लिने विधिबाट सरकारी निकायले बिक्री गर्ने सवारी साधनको नामसारीको कार्यविधि तयार पार्ने सम्बन्धमा सुझाव दिन गठित कार्यदलको प्रतिवेदन समेत मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बागमती प्रदेशमा चालु आर्थिक बर्षको लागि जारी आर्थिक ऐनमा यातायात क्षेत्रसँग सम्बन्धित कर संकलनको व्यवस्थाको कार्यान्वयनमा प्रशासनिक सुधार, प्रभावकारीता तथा सेवा प्रवाहका सम्बन्धमा गर्न सकिने सुधारका विषयमा छलफल भएको थियो ।

