मकवानपुर । बागमती प्रदेश आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले प्रभावकारी र दीगोपनाको कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले हेटौंडामा आयोजना गरेको स्वास्थ पुनर्स्थापना सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले सरकारले अपाङ्ग भएकाहरूको सम्बोधन गर्नेगरी बजेट ल्याउनु पर्ने माग गरे । अपाङ्गता भएकाहरूको लागि कार्यान्वयनमा रहेको बिमा कार्यक्रम कटौती गरिएको प्रति लम्सालले गुनासो गरे ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परियोजना संयोजक सन्दीप विश्वकर्माले सर्भेक्षेण रिपोर्ट सार्वजनिक गरेका थिए । बागमती प्रदेशमा १ हजार ६१५ जनामा गरिएको सर्भेक्षणमा अनुसार ३ दशमलव ६ जनाले सामग्री बिना जीवन चलाउन समस्या भएको उनले बताएका थिए । यहाँ २१ प्रतिशतले मात्रै सरकारले प्रदान गर्ने सहायक सामग्री पाएको विश्वकर्माले बताएका थिए ।
चस्मा, सेतो छडी, कुर्सी जस्तो सामग्रीमा पनि सहायता कमैमात्र उपलब्ध भएको पाइएको विश्वकर्माले बताए । सर्भेक्षणका क्रममा ५६ प्रतिशतले आफै र ३९ प्रतिशतले साथीभाइको सहयोगमा सहायता सामग्री खरिद गर्ने गरेको बताएका थिए ।
‘स्थानीय प्रदेश र संघीय सरकारले सहायक सामग्री दिने नीति लिएको छ तर त्यो व्यवहारमा देखिएन’ उनले भने ‘सरकारले प्रदान गर्ने सामग्री पनि नापजांच गरेर आवश्यकतालाई सम्बोधन गर्ने गरी प्रदान नगरिएको सर्भेक्षणमा पाइयो ।’
अपाङ्गता भएकाहरूले प्रयोग गर्ने सहायता सामग्री बिमा कार्यक्रम भित्रै समावेश गर्नुपर्ने उनले बताए ।
स्वास्थ मन्त्रालयले अपाङ्गता भएकाहरूलाई प्रदान गर्दै आइएको कार्यक्रमलाई निरन्तरता दिने बागमती प्रदेश स्वास्थ मन्त्रालयका वरिष्ठ स्वास्थ प्रशासक डा.खगेश्वर गेलालले बताए ।
स्वास्थ बिमा मकवानपुरको नरबहादुर खड्काका अनुसार सरकारले ‘ख’ बर्गको लागि बिमा व्यवस्था गरेको छैन । क बर्गको लागि भने वडाको दर्ता सहयोगीमार्फत पुर्ण छुटमा बिमा गर्न सकिन्छ ।
युएसएआईडी र ह्याण्डि क्यापको आर्थिक सहयोग, बागमती प्रदेश स्वास्थ मन्त्रालयको समन्वयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा स्वास्थ मन्त्रालय,स्वस्थ्य निर्देशनालय, स्वास्थ कार्यालय, अपाङ्ग सरोकार केन्द्रलगायतको प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

