मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले बागमती प्रदेश सरकारमा नियुक्त भएका मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ । बुधबार हेटौंडामा नेपाली काँग्रेसबाट बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त बहादुरसिंह लामा र ७ जना मन्त्रीहरुलाई बधाईका साथै शुभकामना ज्ञापन गरेकाे हाे ।
पार्टी प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई ज्ञापन गर्दै पार्टीसँगको समन्वय र सहकार्यमा आम नागरिकको हितमा काम गर्न आग्रह गरे । नवनियुक्त मन्त्रीहरुले कसरी प्रदेशको हितमा जनपक्षीय काम गर्नुपर्छ भन्ने पार्टीले सुझावसमेत दिएको कांग्रेस बागमती प्रदेश प्रवक्ता तिलक रुवालीले बताए ।
मुख्यमन्त्री बहादुरसिंह लामाले पार्टीसँगको समन्वय र सहकार्यबाट प्रदेशबासीको हितमा काम गर्ने प्रतिवद्धता जनाए । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री लामासहित आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछाने, सामाजिक विकास मन्त्री हरिप्रभा खड्की, खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री श्यामबहादुर खड्का, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण श्रेष्ठ र विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठ नियक्त भएका छन् ।
बधाई तथा शुभकामना कार्यक्रममा प्रदेश महामन्त्री कन्चनचन्द्र बादे, सहमहामन्त्री जीवन डंगोल, मकवानपुर जिल्ला सभापति बुद्ध लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

