मकवानपुर । बुधबारकाे बागमती प्रदेशसभाबाट एउटा विधेयक पारित भएकाे छ । बुधबारकाे प्रदेशसभा बैठकबाट विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएकाे हाे ।
उक्त विधेयक सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले सभामा पेस गरेकी थिइन् । उनले पेश गरेकाे विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभामुख भुवन कुमार पाठकले निर्माणार्थ पेस गरेका थिए । उक्त विधेयकलाई बैठकमा उपस्थित सांसदहरूले सर्वसम्मतले स्वीकृत गरेका थिए ।
सभाबाट पारित विधेयक प्रमाणीकरणकाे लागि प्रदेश प्रमुख समक्ष पठाइने छ । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्नेछ ।
त्यसअघि प्रदेशसभा बैठकले उक्त विधेयक माथि छलफल गरी शिक्षा स्वास्थ्य तथा कृषि समितिले तयार पारेको निर्णयसहितको प्रतिवेदन पेस भएको थियो भने सो उपर छलफल भएको थियो ।सभामुख पाठकले ३ मिनेटको समय निर्धारण गरी छलफलमा सहभागी हुन रुलिङ गरे पनि प्रदेशसभाका कुनै सांसदले छलफलमा भाग लिएनन् ।
यसैगरी बागमती प्रदेशसभाका विभिन्न विषयगत समितिका सदस्य हेरफेर गरिएको छ । प्रदेशका समितिमा रहेका केही सांसद मन्त्री भएको र केही मन्त्रीबाट बाहिरिएकाले समितिकाे सदस्य हेरफेर सभामुख पाठकले सभामा जानकारी गराएका थिए ।
सभामुख पाठकले प्रदेशसभा बैठकमा कार्यव्यवस्था परामर्श समिति सदस्यमा हरिप्रभा खड्गीको स्थानमा समिता खड्गीलाई मनोनयन गरेको जानकारी दिए । प्रदेश मामिला समितिमा शालिकराम जम्कट्टेल, गंगानारायण श्रेष्ठ र जगन्नाथ थपलियालाई मनोनयन गरिएकाे छ ।
यस्तै सार्वजनिक लेखा समितिमा युवराज दुलाल, केशवप्रसाद पोखरेल र रामेश्वर श्रेष्ठ तथा शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा कुमारी मोक्तान र एकालाल श्रेष्ठलाई मनोनयन गरिएको पाठकले बताए । समिति सदस्य मनोनयनलाई प्रदेशसभा बैठकले सर्वसम्मत अनुमोदन गरेको छ ।
प्रदेश सभाकाे बैठक अर्काे सूचना नभएसम्मकाे लागि स्थगित भएकाे छ । सभामुख पाठकले अर्को सूचना नभए सम्मकाे लागि बैठक स्थगित भएकाे जानकारी गराएका थिए ।

