मकवानपुर । तीनवटा प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बागमती लुम्बिनी र कर्णाली प्रदेशको प्रमुखहरुलाई सपथ गराइएका हुन् ।
१४ साउन सोमबार बसेको संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेअनुसार बागमतीमा कैलालीका दिपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी प्रदेश प्रमुख नियुक्त भएका थिए ।
त्यसपछि राष्ट्रपति पौडेलले बुधबार नियुक्ति गरेका उनीहरूले बिहीबार सपथ ग्रहण गरेका छन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।
को हुन बागमतीका प्रदेश प्रमुख देवकोटा
बागमतीको प्रदेश प्रमुख नियुक्त भएका दिपकप्रसाद देवकोटा २०१५ साउन २ गते पाल्पाको तत्कालीन देवीनगर गाउँ पञ्चायत–२ मा जन्मिएका थिए । वि स २०३१ सालदेखि पाल्पा जिल्लामै रहेर शिक्षण पेसामा आबद्ध उनी २०३४ सम्म अध्यापन जारी राखे ।
त्यसपछि उनले पाल्पामा हुँदा तत्कालीन तानसेन नगर पञ्चायतमा लेखापालको काम गरे । वि स ०३८ सालमा पाल्पाबाट देवकोटा कञ्चनपुरको महेन्द्रनगर गएपछि तत्कालीन महाकाली अञ्चल अदालतमा उनी ०३९ माघसम्म विचारी काम गर्थे। त्यसपछि लोक सेवा आयोगबाट मुखिया बनेका उनको बैतडी हुलाकमा सरुवा भयो।
०४२ मा कैलालीमा हुँदा उनी बढुवा भएर खरिदार बने। ०४८ सालमा निजामती कर्मचारी आन्दोलनमा सहभागी भएपछि काठमाडौँको भद्रकालीमा २२ दिन आमरण अनशन बसे । यही आन्दोलनमा सहभागी भएको कारण उनलाई खरिदारको जागिरबाट अवकाश दिइयो।
सरकारी नोकरी बाट अवकाश पाएपछि उनी एमालेको सक्रिय राजनीतिमा आए । ०४९ मा देवकोटा धनगढी नगरको उपप्रमुखमा एमालेको तर्फबाट चुनावी प्रतिस्पर्धा गरे तर पराजित भए।
एमालेको नगर, जिल्ला कमिटी सदस्य हुँदै देवकोटा २०५९ मा नेकपा एमाले कैलालीको अध्यक्ष बने। दुई कार्यकाल एमाले कैलालीलाई हाँकेका उनले ०६५ सालमा राजीनामा दिए। देवकोटा ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कैलाली ५ बाट चुनाव लडे पनि सफल हुन सकेनन्।
पार्टीको विभिन्न कमिटीमा काम गरेको अनुभवी देवकोटा भूमि आयोग कैलालीको अध्यक्ष बनेर ५ महिना काम गरेका थिए। नियुक्तिताका एमाले अनुशासन आयोगको सदस्य रहेका देवकोटा प्रदेश प्रमुख नियुक्त भएसँगै पार्टी राजनीतिबाट अलग भएको नेकपा एमालेले जनाएको छ । देवकोटा कुशल कर्मचारीसंगै सशक्त राजनीति नेतृत्वको रुपमा चिनिन्छन ।

