देवघाटधाम, तनहुँ । मकर संक्रान्तिको पूर्वसन्ध्यामा तनहुँको देवघाटधाममा ‘मकर काव्य यामिनी’ को २१ औ शृङ्खला आयोजन गरिएको छ।
पवित्र धार्मिकस्थल एवम् आध्यात्मिक क्षेत्र देवघाटधाम, तनहुँमा अवस्थित ‘महेश-संस्कृत-गुरुकुलम्’को आयोजनामा आइतबार “मकर-काव्य-यामिनी”को २१ औँ शृङ्खला आयोजना भएको हो ।
२०६० सालबाट निरन्तर सञ्चालन भइरहेको मकर-काव्य-यामिनी राष्ट्रियस्तरको काव्यिक महोत्सव हो । राष्ट्रकवि तथा विभिन्न राष्ट्रियस्तरका कवि, साहित्यकार तथा विशिष्ट विद्वान्हरूको उपस्थिति रहँदै आएको कार्यक्रम पौष महिनाको अन्तिम साँझबाट माघको बिहानसम्म सञ्चालन भएको थियो ।
मकर संक्रान्तिको पूर्व सन्ध्यामा सञ्चालन हुने भएकाले यस कार्यक्रमको नाम मकर-काव्य-यामिनी राखिएको आयोजक संस्थाले जनाएको छ । माघे संक्रान्तिका दिन त्रिशुली र कालीगण्डकीको संगमस्थलमा स्नानका लागि आउने काव्यपारखीलाई काव्यगंगाको आनन्द दिलाउने उद्देश्यले विगत २१ वर्षदेखि महेश सन्न्यास गुरुकुल आश्रमले ‘मकर काव्य यामिनी’ आयोजना गर्दै आएको छ।
चितवन, नवलपरासी र तनहुँको संगम वेणीमा माघ १ गतेको अघिल्लो रात श्रद्धालुले भजनकीर्तन गर्दै जागा बसेर भोलिपल्ट स्नान गर्ने चलन छ। तिनैमध्येका काव्यपारखीलाई रातभर काव्यको आनन्द दिलाउनका लागि ‘काव्य यामिनी’ आयोजना गरिँदै आएको महेश संस्कृत गुलुकुलममा पिठाधिस १००८ स्वामी रमणानन्द गिरीले जानकारी दिए।
उनका अनुसार ‘काव्यपारखीले रातभर बसेर काव्यका बारेमा विचारविर्मश गरून् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको हो ।कार्यक्रममा बर्सेनि काव्यानुरागीहरूको विशेष जमघट हुँदै आएको छ।’
‘मकर काव्य यामिनी’ मा रचना वाचनसत्रमा आदर्श घिमिरे, काशीराज दाहाल, अभिषेक गौतम, उज्ज्वल पौडेल, विवेक पराजुली, रोहण सुवेदी, चेतना वाग्ले, उत्तम सुवेदी, गोविन्दगोपाल खतिवडा, प्रदीप नेपाल, नगाजधिराज,मनिष गौतम, तितेपाती,अभिषेक ओझा,शाश्वत खनाल, सुरेश नारायण गौतम, अनिष ढुंगेललगायताका कविहरुले बिभिन्न छन्दमा कविता सुनाएका थिए ।

२०६० सालमा सुरु गरिएको यो कार्यक्रम कोभिडका बेला पनि अनलाइनमार्फत आयोजना गरिएको थियो। २१ वर्ष अवधिमा काव्य यामिनीमा धेरै साहित्यकारहरूले सहभागिता जनाइसकेको आयोजक महेश गुरुकुलमले जनाएको छ। प्राध्यापक दयाराम श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजना भएको काव्य यामिनीको २१ औ शृङ्खलामा गुरुकुलका विद्यार्थीलगायत विभिन्न जिल्ला कविहरूकोसमेत उपस्थिति रहेको थियो ।
“देवघाट महाकाव्य ” “म र मेरा” र “महापुरुष” का स्रष्टा निराजन पन्त, छन्दकवि सुदेश सत्याल , कवि नगाधिराज, कवि तथा गजलकार अहम् स्रष्टा आदि मकर काव्य यामिनीका प्रतिनिधि कवि उत्पादन भएको आयोजकले जनाएको छ । कार्यक्रमलाई सन्तोष घिमिरेले सहजीकरण गरेका थिए ।
भवगाम्भीर्यले पूर्ण अलङ्कारसुवासिनी।
रसमाधुर्य बोकेर आउँछिन् काव्य-यामिनी ।।

