देवघाट चितवन । धार्मिक क्षेत्र देवघाटधाममा माघेसंक्रान्ति स्नान गर्नेको माघ १ गते सोमवार बिहान सवेरैदेखि घुइँचो लागेकाे छ । याे क्रम सोमबार दिनभर रहने छ ।
पुष २९ गते आइतबार बिहान त्रिशुली र कालीगण्डकीकाे संगमस्थल बेणीमा ओमकार अङ्कित बासँको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरी उद्घाटन गरिएसँगै देवघाटमा स्नानका लागि खुला हुने गरेकाे छ । तर भक्तजनको घुइँचो सोमवार बिहानैबाट देखिएकाे हो । देवघाटमा स्नान गर्न लाखौँ स्वदेशी तथा विदेशी भक्तजन अहिले देवघाटमा छन् ।
भक्तजनको आवतजावतकाे ब्यवस्थापनकालागि देवघाटको झोलुङ्गे पुल ओहोर दोहोर पङ्क्तिबद्ध रूपमा गराउन प्रहरी र स्वयंसेवकले सतर्कता अपनाएका छन् । यस्तै नदी वारपार गर्न सःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।

यसै गरी सवारी साधनकालागि आँपटारी देवघाटको मूल सडकबाट देवघाटबाट बाहिरिने र रामनगर देवघाटको बाटो भित्रने व्यवस्था छ । दासढुङ्गावाट सिधै जाने हकमा सवारी साधन देवघाटको महेश सन्यास आश्रम सम्म आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको छ ।
रातमा आउने भक्तजनकालागि धुनीको व्यवस्था मिलाइएकोमा सोमबार बिहानसम्म पनि धुनीकाे व्यवस्था गरिएकाे थियाे । शान्ति सुरक्षा र यातायात ब्यवस्थाकालागि चितवन, तनहुँ र नवलपरासीबाट प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
माघेसंक्रान्तिसँग देवघाटको धार्मिक एवं सांस्कृतिक महत्वको सम्वन्ध जोडिएको छ । दामोदर कुण्ड स्रोत भएर बहँदै आएको त्रिशूली र मुक्तिनाथ हुँदै आएकी कालिगण्डकी नदीको सङ्गम देवघाटको बेणी धार्मिक स्थलकाे रूपमा पनि महत्त्वपूर्ण रहेकाे छ । यहाँ माघेसंक्रान्तिमा स्नान गरे मोक्ष पाइन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ ।
धार्मिक मान्यता अनुसार माघेसंक्रान्तिका रात देवताहरू देवघाट स्नान गर्न आउने जनविश्वासले नै यो दिन स्नान गर्न आउनेको सख्या उल्लेखनीय हुने गरेको हो । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदादान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ।
आइतबार राति भक्तजन देवघाटमा जाग्राम बस्ने प्रचलन छ। धर्मशास्त्रअनुसार सौरमासका हिसाबले माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो। आजदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।
देवघाटमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट भक्तजन स्नानका लागि आउने गर्दछन्। विगतका वर्षमा भन्दा यस वर्ष भक्तजनको संख्या बढी हुने अपेक्षा गरिएको भए पनि पहिलेकाे तुलनामा २५ प्रतिशत कम रहेकाे देवघाट तनहुँका स्थानीय शिवराज पौडेल भनाइ रहेकाे छ। पहिलाे राती बस्ने धेरै हुने गरेकाे तर यातायातकाे सहज पहुँचका कारण विहानै आएर स्थान र दर्शन पश्चात फर्कने भक्तजनहरु बढी भएकाेले पहिलेकाे वर्षहरु भन्दा कम नहुने गुरुकुल शिक्षक रत्न कडेंलले बताए ।






