मकवानपुर । हत्या गरी फरार रहेकाे आराेप लागेका २ जनालाई मकवानपुर प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय राम चन्द्र स्याङ्तन र ५० वर्षीय कालु गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार आइतबार दुबै जनालाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल जेठ १९ गते थाहा–१२ स्थित गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेको ठहर अदालतले गरेकाे छ ।
उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६७ साल असोज ८ गते २० वर्षको कैद सजाय तोकेको थियो । जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भएर फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले आइतबार घरबाटै पक्राउ गरेको भण्डारीले जानकारी दिए ।
पक्राउ परेको दुबैजनालाई जिल्ला अदालत मकवानपुरमा आइतबार नै उपस्थित गराएको प्रहरीले जनाएको छ ।

