मकवानपुर । बागमती प्रदेशको निर्माणधिन प्रदेश सभा सचिवालय अपाङमैत्री बनाउन माग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले प्रदेशसभा सचिवालयको संरचना अपाङ्गमैत्री बनाउन माग गरेको हो ।
महासंघले प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशसभाको संरचनालाई अपांगमैत्री बनाउन माग गरेको हो । हालको सचिवालय अपाङगमैत्री छैन । प्रदेश सभामा हाल रहेको भवन न्यूनतम पूर्वाधार समेत पुरा नभएको कारण समस्या भएपछि अहिले नयाँ भवन निर्माण कार्य जारी छ ।
महासंघका अध्यक्ष अश्विन लम्सालले बागमती प्रदेश सभामा पनि शारीरिक अपांगता भएका ह्विलचियर प्रयोगकर्ता सदस्यलाई सहज हुने गरी प्रदेशसभाको संरचना निर्माण हुनुपर्ने माग गरेका हुन् ।
४ मंसिरमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनबाट बागमती प्रदेशमा समानुपातिकतर्फबाट १ जना सदस्य अपाङ्गता भएको व्यक्ति छन् ।
स्पाइनल कर्ड इन्जुरीको कारण ह्विलचियर प्रयोगकर्ता सांसदलाई समेत सहज हुने गरी सचिवालय निर्माण गर्न ध्यानाकर्षण गराइएको हो ।
महासंघको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘यस प्रदेशमा पनि यसपटक शारीरिक अपांगता भएका प्रदेश सभा सदस्य निर्वाचित भएकाले प्रदेश सभा कार्यस्थल मापदण्डसहित निर्माण गरी प्रदेश सदस्यलाई सम्मानजनक, मर्यादित र स्वतन्त्रतापूर्वक संसद् सचिवालयसम्म आवतजावत गर्ने वातावरण मिलाउन माग गर्दछौँ ।’
यस्तै, ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख सचिव खड्काले नयाँ बन्ने प्रदेशसभा बैठकको निर्माण कार्य तिब्र गतिमा भइरहेको र उक्त भवनलाई अपाङ्गमैत्री बनाउनतत्काल पहल थाल्ने प्रतिबद्धता ब्यक्त गरे ।
यसपटक बागमती प्रदेश सभामा रामेछापबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी घिमिरे निर्वाचित भएकी छन् । बागमती प्रदेश सभाको सचिवालय गत बैशाखमा निर्माण सम्पन्न हुनुपर्नेमा काम नसिएपछि आगामी जेठसम्मको लागि म्याद थप गरिएको छ ।

