मकवानपुर । एक्सन एडको आर्थिक सहयोगमा मकवानपुर महिला समूहद्धारा सञ्चालित परियोजनाको सामाजिक लेखाजोखा कार्यक्रम गरिएको छ । सुशासन पारदर्सीता र जवाफदेहीताको लागि सामाजिक लेखाजोखा गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सामाजिक सवालमा गैससहरूले खेलेको भूमिका उल्लेख्य रहेको बताए । मकवानपुर महिला समूहले एच आई भी संक्रमित प्रभावितहरूको आर्थिक, सामाजिक अवस्था सुधारसंगै सम्मानपुर्वक बांच्न पाउने हकको लागि संघर्ष गर्दै आएकोमा संस्थाको प्रशंसा गरे ।
हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले घरभित्र शान्ति नभएसम्म अन्य विकास समृद्धि संभावना नभएको बताए । परनिर्भरताले हिंसा जन्मने भएकोले मकवानपुर महिला समूहले आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका रहेको तिमल्सिनाले बताए । विकास सबैको अधिकार भएकोले यस्ता सवालमा स्थानीय तहसंग सहकार्य गर्न उनले आग्रह गरे ।
यसैगरी गैसस महासंघ मकवानपुर उपाध्यक्ष रमिला सापकोटाले सामाजिक विकास र महिला नेतृत्वको लागि महिला र पुरूषसंगसंगै लाग्नुपर्ने बताइन् । आफैँबाट सुरू गर्दा हिंसा न्यूनीकरण, महिला सशक्तिकरण, आर्थिक रूपमा समुन्नतिको लागि स्थानीय तहले समन्वय गर्नुपर्ने सापकोटाले बताइन् ।
समूहको अध्यक्ष कमला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रmमा मकवानपुर महिला समूहको कार्यक्रम संयोजक निशा लामाले कार्यालयको प्रगति बिवारण तथा वित्त अधिकृत निर्जला पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हेटौंडा १८ जागृत पुरूष समूहका भरत घर्तीले घरमा पहिले आपसी समझदारी बढेको बताए । छुवाछूत, धामीको विश्वास घट्दै आएको उनले बताए । यसैगरी मकवानपुर मनहरी ३ को मखमली महिला समूह सचिब सीता तामाङले आफूले समूहमा आवद्ध भएपछि जीवनशैलीमा नै परिवर्तन आएको बताइन् ।
कार्यक्रममा मकवानपुर महिला समूहमा आवद्ध भएर उदाहरणीय काम गर्ने ५ महिला र ५ पुरूषलाई करदपत्र सहित सम्मान गरिएको अध्यक्ष सुवेदीले बताइन् । समुहमा आवद्ध भएपछि एच आइ भी संक्रमित प्रभावितहरुको जीवन सरल बनेको तर अझै धेरै बाधा अड्चनहरु रहेको उनले बताइन् ।

