श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका हुन् ।
७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ ।
राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए ।
राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात आज राजीनामा दिने वाचा गरेका थिए । उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । उनी अमेरिका जाँदै गरेको बताइएको छ ।
गोटाबय भागेपछि प्रदर्शनकारीहरूले खुशियाली मनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेर अमेरिका गएको बताइएको छ।
राजपाक्षे परिवारको कुशासनका कारण देश आर्थिक टाट पल्टेपछि हजारौंको सङ्ख्यामा रहेका प्रदर्शनकारीले राजधानी कोलम्बोमा राजापक्षको राजीनामा माग गर्दै महीनौंदेखि आन्दोलन गर्दै आएका थिए। एजेन्सी

