मकवानपुर । कृषि उत्पादन तर्फ चासो नदिएको टिप्पणी खेप्दै आएको हेटौंडा उपमहानगरपालिकाले कृषि उत्पादनमा टेवा पुर्याउने उद्देश्यले हाते ट्याक्टर सहयोग गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१८ को सहकारीलाई ट्रयाक्टर हस्तान्तरण गरेको छ । चालु आर्थिक बर्ष २०७८/७९ को यान्त्रीकरण अनुदान कार्यक्रम अन्तरगत उपमहानगरले ५० प्रतिशत अनुदानमा ट्रयाक्टर दिएको हो ।
हेटौंडा–१८ मा रहेको साना किसान कृषि सहकारी सस्था लिमिटेडमा आवद्ध किसानहरुलाई सहयोग पुर्याउने उद्देश्य सहित अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको हेटौंडा उपमहनगरपालिका कार्यालय आर्थिक बिकास महाशाखाका प्रमुख गंगा कुमारी चौलागाईले बताइन् ।
महाशाखा अन्तरगतको कृषि शाखाले अनुदानमा दिएको ट्रयाक्टरको सांचो हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिनाकुमारी लामाले सहकारीका अध्यक्ष रेखा खतिवडालाई हस्तान्तरण गरेकी थिइन् । ट्रयाक्टरमा उपमहानगरले ६ लाख ५० हजार रुपियाँ अनुदान व्यहोरेको महाशाखा प्रमुख चौलागाईले जानकारी दिइन् ।
किसानको समृद्धिको लागि नगरपालिका सधै सकारात्मक रहेको लामाले बताइन् ।

