मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार संसदीय दलको बैठक बोलाएका छन् । असार १८ गते शनिबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादी बागमती प्रदेशले जनाएको छ ।
समसामयिक विषयमा छलफल गर्न मुख्यमन्त्रीले दलको बैठक बोलाइएको बताइएको छ । बागमती प्रदेशमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन गरेपछि पाण्डेले संसदीय दलको बैठक बोलाएको बुझिएको छ । पाण्डे मुख्यमन्त्री परिवर्तनको लागि हस्ताक्षर संकलन भएपछि काठमाडौं गएका थिए ।
एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे गत कात्तिक ११ गते गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा ६ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व छोड्ने सहमती गर्दै मुख्यमन्त्री बनेका थिए ।उनले सहजै सहमती कार्यान्वयन गर्ने नदेखेपछि कांग्रेस र माओवादीका सांसदहरुले हस्ताक्षर संकलन कार्य सुृरु गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेलाई तत्कालिन समयमा बागमती प्रदेशका कुल १ सय ९ सांसदमध्ये माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाको एक गरि ५९ सांसदले समर्थन गरेका थिए ।
