मकवानपुर । आफ्नो उमेदवारलाई सहयोग नगरेको भन्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले आफ्नो १ जना गाउँ कमिटी अध्यक्षलाई कारवाही गरेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका कमिटीका अध्यक्ष हरि थापा कारवाहीमा परेका छन्। उमेदवार छनौटमा आफूअनुकुल उमेदवार नभएपछि सूर्य चिन्हमा भोट माग्दै हिँडेको आरोप लागेका अध्यक्ष थापालाई नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले कारवाही गरेको पत्र पठाएको हो।
स्थानीय तह निर्वाचनमा घोषितरुपमै पार्टीको आधिकारिक उमेदवारलाई असहयोग गरेको भन्दै बागमती प्रदेश कमिटीले पार्टीको सबै पदबाट कारवाहीस्वरुप अर्को निर्णय नहुँदा सम्मको लागि निलम्बन गरेको हो।
जेठ २ गतेको पत्रमा ‘पाँच दलीय गठबन्धनका उमेदवारलाई घोषितरुपमै असहयोग गरेर पार्टीलाई गम्भीर आघात पुर्याउने काममा संलग्न भई पार्टीले जारी गरेको वक्तव्यको समयसीमा भित्र समेत आधिकारिक पार्टी लाइनमा नउभिएका कारण पार्टी विधान र बागमती प्रदेश समितिको निर्वाचन निर्देशिका-२०७९ अनुसार पार्टीको सबै पदबाट निलम्बन गरिएको’ भनेर उल्लेख गरेको छ।
कारवाहीमा परेका नेता थापाले भने कागजी कारवाहीले केही नहुने प्रतिकृया दिएका छन्। पार्टीले भने थापालाई निलम्बन गरेसँगै गाउँकमिटीको लागि रामप्रसाद बोहोरालाई कार्यबहाक अध्यक्ष तोकेको छ।

