चितवन । चितवनकाे माडी नगरपालिका वडा नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अमित कुमार लामाले वडा अध्यक्ष पदमा विजयी सुरुवात गरेका छन् । चितवनमा २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाले एक जना मात्रै जनप्रतिनिधि अमितलाई पाएकाे थियाे । उनी उतीवेला माडी नगरपालिकाको वडा नम्बर १ मा सदस्यमा गाई चुनाव चिन्ह लिएर वडा सदस्य जितेका थिए।
जिल्लामै राप्रपाको प्रतिनिधित्व गर्ने उनी एक्ला राप्रपा हुन्। तर स्थानीय तह निर्वाचन-२०७९ सम्म आइपुग्दा उनै अमितकुमार लामाले सोही वडामा वडा अध्यक्ष जितेका छन्।
यसअघि वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष थिए। तर यसपटक नेपाली कांग्रेसले वडा अध्यक्ष गुमाएको छ। वडा अध्यक्षमा निर्वाचित भएका लामाले २०७४ को निर्वाचनमा ६ सय ७० मत ल्याएर वडा सदस्य जितेका थिए। यसपटक वडाअध्यक्षमा भने उनले १ हजार ४ सय ३३ मतसहित जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन चौधरीले ९ सय ४३ मत पाए भने नेकपा एमालेका टिकाराम सुवेदीले जम्मा १ सय २६ मत मात्रै प्राप्त गरे।
२०७४ को निर्वाचनमा वडा अध्यक्ष, महिला सदस्य र एक जना सदस्य पदन नेपाली कांग्रेसले जितेको थियो। दलित महिला सदस्य भने नेकपा माओवादीले जितेको थियो। तर, यसपटक १ जना सदस्यबाहेक सबै राप्रपाले जितेको छ। १ जना सदस्यमा भने नेपाली कांग्रेसले पद जोगाएको छ। माडीमा निकै कमजोर देखिएको नेपाली कांग्रेसले यसअघि पाएको वडा पनि गुमाएको छ ।
चितवनकाे स्थानीय तहकाे मतगणना जारी रहँदा अन्य वडाहरुकाे नतिजा कस्ताे आउने हाे त्याे भने हेर्न बाँकी छ ।

