मकवानपुर / स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले लैङ्गिकताको आधारमा हुने हिंसा उन्मुलनको लागि सूचना प्रणाली व्यवस्थापन, गोपनियता व्यवस्थापन जस्ता सवालमा नेपाल सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।
पीडितको सुरक्षा र संरक्षणमा सरकारी दायित्व अपुग भएको आभास भएमा खबरदारी गर्न सरोकारवालालाई मन्त्री खतिवडाले आग्रह गरे । क्षेत्रीय स्तरको सम्बन्धित सरोकारवाला कार्यशाला महिला किशोरीहरू विरुद्ध हुने हिंसा अन्त्य गर्न प्रेषण प्रणाली तथा मार्ग सुदृढीकरण सम्बन्धि कार्यशालामा खतिवडाले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले घरैभित्रबाट अभिभावकले गर्ने विभेदित व्यवहारले महिला उत्पीडनमा पर्ने गरेको बताए । गरिब र कमजोर वर्गमा बढी हिंसा हुनेगरेको उनले बताए ।
यसैगरी प्रदेश सभा सदस्य मुनु सिग्देलले सामाजिक संस्कारको कारण किशोरीको स्वास्थ तथा मानसिक रूपमा असर पुग्ने गरेको बताइन् । मर्यादित महिनावारीको चलन नभएकोले समस्या भएको सिग्देलले बताइन् । धार्मिक रूपमा कतै पनि महिनावारीमा छुवाछूत बार्ने बारे उल्लेख नभएको तर सामाजिक संस्कारले किशोरील तथा महिलालाई समस्यामा पार्ने गरेको उनले बताइन् । महिनावारी बार्ने, यो बेलामा छुवाछूत गर्ने गर्नाले पनि हिंसा भएको उनले बताइन् । हिंसामा परेको व्यक्तिलाई हिंसाबाट उन्मुक्ति गराउनु तिनै तहको जिम्मेवारी सिग्देलले बताइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनीले हिंसा प्रभावित तथा पीडितलाई उद्वार तथा राहतका लागि एकद्वार संकट व्यवस्थापन प्रणाली धेरै प्रभावकारी भएको बताइन् । सबै स्थानीय तहमा यस्तो व्यवस्था हुनुपर्ने उनले बताइन् । पीडितहरू बिच पुनर्मिलनको कार्यक्रम पनि संगसंगै अगाडि बढाउन स्थानीय न्यायीक समितिले गर्नुपर्ने पुडासैनीले बताइन् ।
कार्यक्रममा हेउमपना सामाजिक विकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले लैङ्गिक समुदायमा आधारित घटना व्यवस्थापन तथा प्रेषण प्रमाणी बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा माडी नगरपालिका चितवन,
पर्सा जिल्ला पटेवा सुनौली गाउंपालिकालगायतका सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मकवानपुर, चितवन, पर्सालगायत ५ जिल्लाका सरोकारवालाहरूको उपस्थिति रहेको नगर स्तरीय महिला जागरण समूहको अध्यक्ष तारा ढुङ्गानाले बताइन् । हेटौंडा उपमहानगरपालिकाको समन्वय, एक्सन एड नेपालको आर्थिक सहयोग तथा नगर स्तरीय महिला जागरण समूहको आयोजना कार्यक्रम भएको नगर स्तरीय महिला जागरण सचिब निशा लामाले बताइन् । कार्यक्रममा मकवानपुर महिला समूह अध्यक्ष कमला सुबेदीले स्वागत गरेकी थिइन् ।

