फेन्चु लामा मकवानपुरका व्यवसायिक अगुवा कृषक अन्तरगत पर्दछन् । कृषिलाई पर्यटनसँग जोडेर अगाडि बढ्ने सोच सहित लागि परेका लामा र उनीकाे पत्नी सपनासँग सहीवार्ताको लागि गरेको कुराकानीको सारः
शिक्षण पेशा छाडेर किन कृषिमा आउनु भयो ?
शिक्षण पेशमा ६ वर्ष बिताए, कम्प्युटर विषयको शिक्षक । शिक्षण पेशा दीर्घकालिन भविष्य देखिन । निजामतिको जागिरे हुने भुत चढ्यो । काठामाडौ बसेर लोक सेवाको तयारी गरे । लोक सेवा आयोगको परीक्षा दिए, नाम निस्केन । बुबाले २७ वर्ष पहिले खुल्नु भएको एग्रोभेट पसल थियो । जहाँ म स्कुल पढ्दा देखि नै बुबालाई सघाउने क्रममा औषधिहरुबारे सतही ज्ञान हासिल गरिसकेको थिए । औषधिहरु चिन्थे, तिनीहरुको प्रयोगबारे पनि सतही जानकारी थियो ।
निजामतिमा नाम ननिस्केपछि बुबाको व्यवसाय सम्हाल्ने रुचि बढ्यो । यो बिचमा विवाह भइसेको थियो । बुबाको पसल श्रीमती (सपना) लाई जिम्मेवारी दिने हिसाबले श्रीमतीलाई कृषि तथा पशु भेटेरेनरी पढाउन सुरु गरिसकेको थिएँ । उनी जोड दुईसम्म वाणिज्य पढेको मान्छे । बाली तथा भेटेरेनरी पढ्न प्रोत्साहित गराएँ । उनले पनि रुचिका साथ पढीन् । कृषि तथा भेटेरेनरी पास गरेर पसलको जिम्मेवारी सम्हाल्ने भैसकेको थिइन् ।
निजामतीबाट सरकारी जागिरे हुन नसकेपछि म फर्केर फेरी बुबाकै व्यवसायमा आकर्षित भए । तर पुरानै ढर्रामा हैन, नयाँ शिराबाट कृषिमा केही गरौ भन्ने सोच आयो । बुबाले प्रसस्त जमिन जोड्नु भएको थियो । यसैबाट नयाँ कामको थालनी गरौं भन्ने सोच आयो ।
पढेको व्यक्तिले कृषि पेशा हत्तपत्त अवलम्बन गर्दैनन् तपाई पनि पहिले नोकरी कै खोजिमा हुनुहुँदो रहेछ, त्यही सोचाइले हो ?
पढेको छु किन कृषिमा लाग्नु भन्ने सोच त हैन, तर जागिर खाउँ भन्ने चाहि थियो त्यो बेला । तर, जागिर खाने सोच धेरै टिकेन । एक पटक नाम ननिस्केपछि फरक तरीकाले कृषिमा केही गर्न सकिन्छ भन्ने सपना सहित व्यवसायिक रुपमा कृषिमै लाग्ने सोच बनाएको हुँ । आफूले काम नगरी रियल किसानको पीडा के होला भन्ने भन्न सकिदैन । पहिले पनि हामीले ३० वटाभन्दा बढी बाख्रा पालेका थियौ ।

यसैलाई बढाएर ठुलो गरी बाख्रा फर्म खोल्ने तयारी ग-यौ । फार्मसँगै पसल गर्ने विचार आयो । कृषि पढ्दै नपढेको, अन्त जागिर नपाएपछि गर्ने पेशा हैन । भनेर अरुलाई पनि प्ररित गर्ने सोच आयो अहिले ७० वटा बाख्रा छन् । यसबाट वार्षिक रुपमा राम्रो आम्दानी छ । ड्रागन फुडको लागि झण्डै करोडको लगानी छ ।
गतसाल बाख्र फर्मसँगै मेवा खेती गरेको थिए राम्रो फाइदा बस्यो । यसबाट १ विगाहा भन्दा बढी जमिनमा ड्रागन फुड लगाएका छौ । वर्षमा वर्षैभरी दुख गर्नु नपर्ने कृषि खेतीको खोजिमा थिए । यसै बिचमा हामीले ड्रागन फुड खेतीले मन तान्यो । यो लगाएपछि २० वर्ष फल्छ, वर्षमा ३ पटक मल हाल्नुपर्छ, गोडमेल र सिचाइ दिनु पर्छ । अरु दुख छैन । राम्रो आम्दानी हुन्छ । ड्रागनमा अन्तरबालिको रुपमा मेवा, खोर्सानी, स्टोबेरी, खरबुजा पनि लगाउन सकिन्छ । यसपाली यस्तै भयो, अब ड्रागन फुड भित्र लोकल खुकुरा राख्ने सोच बनाएको छु ।
लगानी कति छ ड्रागनमा ?
हामीले यहाँ ६ हजार बोट रोपेका छौं । प्रति पोल ५ हजार लगानी भएको छ । यसबाट लगभग ७५ लाख लगानी भैसकेको छ । पहिलो बर्ष गुज्रिएको छ दोस्रो बर्ष २० लाख र तेस्रो बर्षबाट ५० लाख आम्दानी हुने निश्चित छ ।
यसको खेतिबाट कसरी प्रेरित हुनुभयो ? खेती गर्ने तरीका कहाँ सिक्नुभयो ?
मैले यसबारे यु टुबमा हेरे सिकेको हुँ । यसको जरा कतिमा जान्छ, माटो हावा पानी कस्तो हुनुपर्छ, प्रतिवोटमा कति केजी फल्छ भन्ने जस्ता बारेमा लकडाउनमा अनलाइन क्लास पनि लिएँ ।
बजारीकरणको लागि समस्या के छ ?
अहिले छैन, अब धेरैतिर लगाउनु थाल्नु भयो । सायद विस्तारै बजारीकरणको लागि समस्या हुने पक्का छ । अहिले राम्रो छ सहज छ । अबको ५ वर्ष ड्रागन फुडको बजारीकरणको लागि चिन्ता हुदैन होला सायद । त्यसपछि भने समस्या हुनेछ । किनकी अहिलेको आकर्षण भनेको यत्रतत्र ड्रागन फुडकै छ । एउटै प्रकारको खेतीमा सबैको आकर्षण हुनु राम्रो हैन । नेपालमा यसै कारण कृषि क्षेत्र पछाडि छ ।
कृषिमा मार्केट यसैले छैन । मैले ड्रागन फुड लगाए भने अर्कोले यसको प्रशोधन गर्ने सेकेण्डरी उपादन गर्ने काम गर्ने हो भने एक अर्कालाई सहज हुनेथ्यो । यसको सेकेण्डरी उत्पादनमा पनि प्रयाप्त हुन्छ । यसको मुन्टाको तरकारी, चियापत्ति, फलको बोक्राहरु कस्मेष्टिक उत्पादनहरु बन्छ । यस तर्फको सोच कसैले नल्याएको कारण खेर गइरहेको छ अहिले । यहाँ आपसमा देखासिकी बढी, लगाब कम हुने गरेको छ ।
नेपालमा नै कृषि अनुसन्धान कार्यलाई प्राथमिकता दिन पाए किसानहरु विस्थापित हुनु पर्दैनथ्यो । धेरै किसानहरुले हामीलाई नै कृषिमा यति धेरै लगानी किन गरेको डुबिन्छ भनेर सल्लाह दिने गरेको छन् । हामी हिम्मत हारेका छौनौं भोली के होला हेर्दै जाउँ ।
एग्रो–पर्यटनको रुपमा विकास गर्ने लक्ष्य लिनु भएको रहेछ । यसबारे पनि बताइदिनु होस् न ।
हो, हामीले कृषिलाई पर्यटनसँग जोडेर अगाडि बढ्न चाहेका हौं । कृषि कर्मले पनि पर्यटनलाई आकर्षित गर्न सकिने छ । एग्रोमार्टको रुपमा अगाडि बढ्दा हामीले कृषिको विद्यार्थीहरुलाई पनि ओजिटी गर्ने अवसर दिने गरेका छौं । अहिले पनि ४ जना विद्यार्थीहरु हामीसँगै बस्नु भएको छ । जनप्रिय प्राविधिक शिक्षालय हेटौंडाका ४ विद्यार्थी हाम्रो परिवारसँगै बस्नुहुन्छ । ६ महिना ओजीटी यहाँ गर्नुहुन्छ । उहाँहरुले पढेको कुरा हामी सिक्छौ, हामीले गर्दै आएको उहाँहरुले सिक्नुहुन्छ ।
खेती कसरी गर्ने, पशुपालन कसरी गर्ने भन्ने कुराको सिकाइ गर्ने थलोको रुपमा विकास गर्ने लक्ष्य छ।
यो ड्रागन फुडको बिचमा आन्तरबालिको रुपमा हामीले स्टोबेरी, खरबुजालगायत लगाउँदै छौं । विद्यार्थीहरुलाई फिल्डमै गएर सिक्ने अवसर दिने र आन्तरीक पर्यटन गर्न चाहनेहरुलाई कृषिको हराभरा भूमिमा पुगेर आनन्द लिने वातावरण हामी बनाउने छौ । यसैको तयारी गर्दै छु अहिले चाँही। ड्रागन फुड लगाएको जग्गा पुरै हेर्न मिल्ने गरी स्टोशन टावर बनाएको छु । यसलाई व्यवस्थापन गर्न बाँकी छ । यहाँ बसेर फलफूलको स्वाद लिंदै आनन्द लिन सकिन्छ ।

विदेश जाने मन चाँही लागेन ?
लागेन । केही कारण छन् । जस्तो कि एक त मलाई घरमा अभाव थिएन विदेश नै गएर जीवन चलाउने बाध्याता भएन । अर्को कुरा मेरो ३ दिदीहरु हुनुहुन्छ । ३ जनै भिनाजुहरु बाहिर हुनुहुन्छ । उहाँहरुको परिवारीक विखण्डन, दुर हुँदाको न्यास्रोपना, विदेशमा गर्नुपरेको दुख कष्ट आम्दानी जस्ता सबै थाहा पाएको छु । त्यसैले पनि केही गर्छु यही गर्छु भन्ने लाग्यो ।
नयाँ पुस्तालाई के सुझाव छ ?
कृषि कर्ममा आउनुस् । यो नै सबैभन्दा आनन्दाको कर्म हो । देशले काँचुली फेर्नको लागि कृषि मै कान्ति हुनुपर्छ । यसको कुनै विकल्प छैन । र कृषिमा कान्ति ल्याउने भनेको युवाले हो, नयाँ नयाँ पुस्तको आकर्षणले हो । निर्वाहमुखी, परम्परागत शैली हैन, प्रविधिको प्रयोग गरेर कृषि कर्म गरौं । इजरायलमा २ प्रतिशतले कृषि पेशा अवलम्बन गरेका छन्, ९८ प्रतिशतलाई खान पुगेको छ, उहाँहरुले अन्य देशमा पनि निर्यात गर्नुहुन्छ । तर हामी ६५ प्रतिशतले उत्पादन गरेको भन्छौ, ९० प्रतिशतको हाराहारीमा आयात गर्छौ, यो लाजैमर्दा अवस्था छ । दलहन, तेलहन, फलफूलहरु बाहिरबाटै ल्याउनु पर्छ । यो विडम्बना छ । नयाँ पुस्ताहरु सँग म हातेमालो गर्न चाहन्छु, नयाँसँग सिक्न चाहन्छु । सकेसम्म अरुको सिको नगरौ । नयाँ नयाँ काम गरौं भन्न चाहन्छु ।
सरकारसँग केही अपेक्षा छ ?
अरु त केही अपेक्षा छैन । सरकारले कृषिलाई पहिले जस्तो बेवास्ता गरेको छैन । अहिले अनुदान, सहुतियतमा ऋण जस्ता अवसरहरु पनि छन् । तर भन्नै पर्ने कुरो चाँही सरकारले कुन क्षेत्रमा कुन बाली कति लगाउने र कहाँ मार्केट गर्ने भन्ने निधो गरेन । यसले गर्दा उत्साही किसानहरु पनि केही समयमा विस्थापित हुनुपर्ने बाध्याता आउँछ । अब मैले ड्रागनमा करोड लगानी गरेको छु । अर्कोले यहीका यसैगरी लगानी गर्छ, अनि उस्को पनि मार्केट हुन्न मेरो पनि हुन्न । अन्नतः दुबै विस्थापित हुनुपर्छ । यस्तो नहोस् भनेर सरकारले आवश्यकता अनुसारको उत्पादनमा विविधिकरण र बजारीकरणमा सहयोग गरिदिए कृषकहरु विस्थापित हुने अवस्था आउने थिएन ।
काममा व्यस्त हुँदा त्यही रमाइलो लाग्छ: सपना लामा
बाख्रा फार्म तर्फ व्यस्त हुनुहुन्छ । कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
व्यक्तिगत रुपमा एकदम सन्तुष्ट छु । भन्नेहरुले, देख्नेहरुले दुख पाएको देख्छन्, दुख पाइस् भन्नुहुन्छ तर मलाई बाख्रासँगै रमाउने बानि परिसक्यो । ७० वटा बाख्रा छन् । यिनिहरुको उमेर समूह अनुसार छुट्टाछुट्टै खोरमा राखेर आहार दिने गरेको छौं । राम्रो उत्पादन हुन्छ । एक जनालाई रोजगारी दिएर राखेको थिएँ । अहिले उहाँ हुनुहुन्न र म अलि बढी व्यस्त हुनु परेको छ । तर मलाई त्यस्तो धेरै भ्याइ नभ्याइ छैन । एक दिन २÷३ जना मान्छे लगाएर घाँस काटेपछि एक सातालाई ढुक्क हुन्छ । झण्डै एक रोपनि जग्गा भाडामा लिएर घाँस लगाएका छौं ।

तपाई त कृषि, जेटिए नै पढेको मान्छे, भेटेरेनरी तर्फ सरकारी जागिरे हुने रहर जागेन ?
जागेन । आफ्नो एग्रोभेट छ । बिरामी पर्दा औषधिको के खुवाउने, कसरी स्याहार गर्ने भन्नेमा पनि चिन्ता हुन्न । आफूले पढेको विषयमा काम गर्न पाउँदा झनै राम्रो रमाइलो त हुन्छ नै । २ वर्ष युएसएडको कृषि परियोजनामा पनि काम गरे । अहिले यसैमा खुसी र व्यस्त छु । अब जीवनमा जागिरे हुने सपना छैन । मेरो लागि सबै थोक यही फार्म हो । परिवारसँगै बस्यो, परिवारसँगै काम ग¥यो, परिवारमै रमायो यही छ आनन्द ।

निर्वाहमुखि रुपमा कृषि गर्न रुचाउनेहरुलाई के भन्नु चाहनु हुन्छ ?
खासमा हाम्रो वरपरका दिदी बहिनीहरु चोकमा बसेर कुरा काट्नु हुन्छ । माइतीको एक्लो छोरी घरमा दुख पाई भन्नुहन्छ मलाई केही लाग्दैन । आफूले पहिले पनि यही गरेको भएर होला म खुसी छु । आफैंले केही गर्नुपर्छ । परिवारको भर परेर हात फैलाएर बस्नु हुदैन । कुल बाली लगाउने ? कुन प्रजातिको बाख्रा पाल्ने, कति पाल्ने भन्ने विषयमा हामी श्रमिान् श्रीमती मिलेर सल्लाह गर्छौ ।
हामीले जुन काम गरिरहेका छौ, त्यसैलाई अलि ठुलो परिमाणमा, अलि फरक ढंगले, प्रविधिको प्रयोग गरेर काम गर्दा नाफा हुन्छ । गुजारा चल्ने मात्रै हैन । उदारणीय पनि बन्न सकिन्छ भने किन नगर्ने त ? कुनै पनि काम ठुलो सानो हुदैन ।


