मकवानपुर / बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले सरकारी निवास छाडेका छन् । बुधबार मुख्यमन्त्री पदबाट राजिनामा दिएका पौडेलले विहीबार अपरान्ह सरकारी निवास छाडेका हुन् ।
विहीबार विहान हेटौंडा–२ स्थित मुख्यमन्त्री सरकारी निवासमा पत्रकार सम्मेलन गर्दै अब हेटौंडाको विकासमा लाग्ने उद्घोष गरेका पौडेलले दिउँसो सरकारी निवास निस्कदै गर्दा पनि उही कुरा दोहो-याए । पौडेलले प्रतिकुलताबीच पनि साढे ३ वर्ष काम गर्दा असन्तुष्ट हुनुपर्ने कुनैपनि कारण नरहेको दावी गरे । “प्रदेशको सबै जिल्लामा धेरै राम्रा राम्रा काम भएका छन्” उनले भने “अब मेरो योगदान हेटौंडा र मकवानपुरमा सिमित हुने भएकोले झन् धेरै काम गरेर देखाउने अवसर छ ।”
आफूले धेरै मेहनत गरेर हेटौंडालाई प्रदेशको राजधानी बनाएको दाबि गर्दै पौडेलले अब जुनसुकै सरकार आएपनि हेटौंडाको विकास गर्ने बताए । प्रदेशको राजधानी भएकाले अब हेटौंडाको विकासलाई कसैले चाहेर पनि रोक्न नसक्ने पौडेलको तर्क छ । अहिलेसम्म आफ्नो नेतृत्वको सरकारले गरेका काम अत्यन्तै राम्रो रहेको उनले बताए । मकवानपुरमा हेटौंडाको अस्पताल, रंगशाला, सडक निर्माणलगायतका क्षेत्रमा धेरै विकास गरिएको उनले बताए ।
हेटौंडा ६ गौरिटारमा रहेको राष्ट्रिय खेलकुद प्रतिष्ठानामा खेलकुद विकासका विभिन्न कामहरु भईरहेको बताउदै उनले बताए “हेटौंडा प्रदेशको राजधानी भएको छ । अब यहाँको विकासलाई कसैले रोक्न सक्दैन ।”

“म सरकारमा भएपनि नभएपनि प्रदेशको राजधानी विकासको लागि प्रदेश सरकारले काम गर्नेछ, म हुँदा चाँडो हुँन्थो होला, नहुँदा ढिलो हुनसक्छ तर काम हुनबाट कसैले रोक्न सक्दैन् ।”
३ वर्षमा प्रदेशको १३ वटै जिल्लामा विकासका कामहरु भएको बताउँदै पौडेलले भने–“३ वर्ष मुख्यमन्त्रीको जिम्मेवारी समाल्दा प्रदेशको भौतिक पूर्वाधार, सामाजिक, स्वास्थ्य, शिक्षा, खेलकुद, शुसासनको क्षेत्रहरुमा महत्वपूर्ण कामहरु भएको छ ।
मुख्यमन्त्री पदबाट राजिनामा दिएका पौडेलले बिहिबार सरकारी निवास छोडेर हेटौंडा–११ नवलपुर स्थित निजी निवास सरेका हुन् । एमालेका केन्द्रीय सदस्य समेत रहेका पौडेललाई एमालेका भातृसंगठनका कार्यकर्ताहरुले मोटरसाईकल तथा कार -याली गर्दै निजी निवाससम्म स्कर्टिङ गरेका थिए । निवासमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले अबको समय पार्टी र जनताको हितमा खर्चिने बताए ।

मुख्यमन्त्री पदमा रहँदा पार्टीको कार्यक्रमहरुमा सक्रिय हुन नपाएको बताउँदै अबको दिनहरुमा अधिकाशं समय पार्टी कामहरुमा रहने बताए । उनले आफुले प्रदेशको नेतृत्व र पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशकै नेतृत्व पाउँदा ७० वर्षमा हुन नसकेको विकास निमार्णका कामहरु ३ वर्ष भएको दाबी गरेका थिए । पौडेलले नेकपा एमलोमा अब कुनै पनि गुट, उपगुट नरहेको बताएका छन् । पार्टीलाई जोगाउनका लागि आफूले राजीनामा दिएको बताउँदै उनले भने “मलाई पद छोड्नुपर्दा कुनै दुख लागेको छैन,जसरी पनि १५ महिनापछि त पद् छोड्नै पथ्र्यो, अहिले छोड्दा पार्टीको ठुलो फुट हुनबाट जोगाएको छु । पार्टी भित्र हिजो गुट थियो, अब हुने छैन ।”

