मकवानपुर । बागमती प्रदेशको प्रदेश सभा बैठक आज शानिबार ३ बजे बस्ने भएको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको लागि प्रदेश सभा बस्ने निर्णय गरेको हो ।
भर्चुअल प्रविधिको माध्ययमबाट बसेको बैठकले शनिवार दिउँसो ३ बजे प्रदेशसभाको बैठक संचालन गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सचेतक बुद्धिमान माझी, प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामालगायत अन्य दलका नेताहरुको सहभागिता रहेको थियो ।
विपक्षी दलहरुले परामर्श समिमितको बैठकमा भोली आइतबारको लागि मात्रै प्रदेशसभाको बैठक सञ्चालन गर्न सुझाव दिएको भएपनि आज शनिबार नै बैठक राख्ने निर्णय गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र विपक्षी दल कांग्रेसले विपद् व्यवस्थापनको बजेट जिल्ला प्रशासनलाई पठाउनु संघीयता विपरित भएकोले सिधै स्थानीय तहलाई पठाउनुपर्ने, ससर्ततर्फको अनुदान रकममा विभेद बन्द गरिनुपर्ने, विद्युतीय बस खरिद प्रक्रिया, सुरुङमार्ग निर्माण र सरकार मातहतको संचार गृह संचालनको निर्णय खारेज हुनुपर्ने माग गर्दै १९ जेठदेखि सदन अवरुद्ध गराउँदै आएका थिए ।

