मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा संचालनमा रहेका सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरुको लागि स्वास्थ्य सामाग्री सहयोग गरिएकाे छ । थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाका सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरुको लागि नेपाल पत्रकार महासंघ मकवानपुरले स्वास्थ्य सामाग्री सहयोग गरेको हाे ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम सहितकाे टाेलीले शनिबार मास्क, सेनिटाइजर, फेस शिल्ड, ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो । थाहानगरपालिकामा संचालनमा रहेका विकास खबर पत्रिका, रेडियो पालुङ, रेडियो दामन, बाइरोड न्यूज अनलाईन, थाहा टाइम्स अनलाईन, थाहा पाटी अनलाईन र रेडियो इन्द्रसरोवरमा कार्यरत सञ्चारकर्मीलाई कार्यस्थलमै भेटेर १ हजार २ सय थान मास्क, १ सय थान सेनिटाइजर र ग्लोब्स सहयोग गरिएको हो ।
कोरोना भाइरसको महामारीकाबीच पनि समाचार संप्रेषणमा खटिएका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा अपनाएर काम गर्न आग्रह गर्दै स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए । मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोदसिं रानाभाटसमेतको सहयोग र सहभागितामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
सामाग्री ग्रहण गर्दै थाहा नगरपालिकाका सञ्चारकर्मीहरुले आफूहरुको अवस्था बुझ्दै कार्यस्थलमै आई स्वास्थ्य सामाग्री प्रदान गरिएको भन्दै आभार व्यक्त गरेका थिए । महासंघको सहयोगले आफूहरुलाई निरन्तर काममा खटिनको लागि हौसला प्राप्त भएको उनीहरुले बताए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव रानाभाट, नेपाल पत्रकार महासंघ मकवानपुरका सहसचिव एमपी शर्मा, कोषाध्यक्ष केशव समर्पणको सहभागिता रहेको थियो ।

