मकवानपुर । कोरोना महामारीका कारण खाद्यान्न अभाव झेलिरहेका मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको अति विपन्न परिवारलाइ विद्यार्थीहरुको पहलमा खाद्यान्न सहयोग गरिएकाे छ ।
हेटौडाको सिद्धार्थ शिशु सदन बोर्डिङ्ग स्कुलबाट २०५४ सालमा एसएलसी पास गर्ने विद्यार्थीहरुको समुह “पहल”को सक्रियतामा राक्सिराङ्ग ७ काकड़ा बेसीगाउँका अति विपन्न ४२ परिवारलाई राहत वितरण गरिएको हो । खाद्यान्न अभाव भएर जंगली कन्दमुल खान बाध्य उक्त गाउँमा केहिदिन अघि मात्रै विषालु च्याउ खाएर १ जनाको मृत्यू र २ जना बिरामी भएकाे समाचार प्रकाशित भएकाे थियाे । उक्त समाचारपछि आफुहरुले खाद्यान्न सहयोग गरेको “पहल” समुहले जनाएकाे छ ।
गाउँपालिकाको अनुमती पश्चात अति विपन्न ४२ परिवारलाई प्रति परिवार २० किलो चामल, ५ किलो पिठो, चना, नुन, तेल, मस्यौरा लगायतका खाद्यय सामग्री सहयोग गरिएकाे हाे । खाद्यान्न वितरणका लागि हेटौंडा, काठमाडौं, अमेरिका, अष्ट्रेलिया, क्यानडा, डेनमार्क लगायतका देशमा रहेका समुहका सदस्यहरुले आर्थिक सहयोग गरेका थिए ।

यसअघी निषेधाज्ञाकाे समयमा हेटौंडाका २८ जना एकल महिला परिवार, हेटौंडा ५ सिंचाईटोलमा रहेको “हाम्रो घर” अनाथालय एवं गौरीटार स्थित कोभिड आईसोलेशन केन्द्रमा खाध्यान्न सहयोग गरिसकेको “पहल” समुहले वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरीका लागि अति आवश्यक मास्क सेनिटाईजरको सहयोग समेत गरेको थियो ।

