मकवानपुर । हातेमालो बचत तथा ऋण सहकारी संस्था हेटौंडा २ ले १८ औं स्थापना दिवसको अबसरमा २ जेठदेखि १४ सम्म सेयर सदस्य लक्ष्यित विभिन्न सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम गरि स्थापना दिवस रुपमा मनाएको छ ।
सहकारीले वार्षिक उत्सव कार्यक्रम अन्तरगत सेल्फ मेक अप कार्यक्रम, साँचो जीवन निर्माण अभियान कार्यक्रम, भान्सा सुधार तथा स्वस्थ्य रहने तरिका बारे कार्यक्रम, आर्थिक बर्ष २०८०/ २०८१ को प्रगति समिक्षा तथा आगामी वर्षको योजना तर्जुमा गोष्ठी, असल बचत कर्ता र असल ऋणी सदस्यहरु बिच अन्तर्कृया जस्ता कार्यक्रम गरिएकाे सचिव सिताराम दाहालले बताए ।
यसैगरी हातेमालो साकोसको १८ औं स्थापना दिवस र गणतन्त्र दिवसको सन्दर्भमा बागमती प्रदेश स्वास्थ मन्त्रालय , जु रे स मकवानपुर ,र सन्चो अस्पतालको प्राबिधिक सहयोगमा स्वास्थ्य परिक्षण गरि तथा रक्तदान कार्यक्रम गरेकाे थियाे । यसैगरी वेदविद्यालय हेटौंडा १० लाई आर्थिक सहयोग, सहकारी संस्था परिसरमा दिप प्रज्वलन कार्यक्रम समापन गरिएकाे दाहालले बताए ।
सहकारीकाे सप्ताहव्यापि कार्यक्रमहरुमा प्रदेश सरकारका स्वास्थ मन्त्री रामेश्वर श्रेष्ठ , बागमती प्रदेश सहकारी विकास बोर्ड कार्यकारी उपाध्यक्ष नारायण देवकोटा , हेटौंडा २ का वाडध्यक्ष बिष्णु गोपाल महर्जन , जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठ , हेउमनपा सहकारी महाशाखा प्रमुख हिम पौडेल , नेप्सकुन फिल्ड कार्यालय प्रमुख बिदुर खड्का तथा विभिन्न कार्यक्रमका प्रशिक्षक, सहभागी, कर्मचारी, समिति उपसमितिकाे सहभागीता तथा सुझाव प्राप्त भएकाे सचिव दाहालले बताए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेकाे हातोमालो बचत तथा ऋण सहकारी संस्थाले ४० जना सदस्यलाई सम्मान गरिएकाे छ । सहकारीकाे १८ औँ स्थापना दिवसको अवसरमा आइतबार असल ऋणी र असल बचतकर्ता गरी ४० जना सदस्यलाई सम्मानित गरिएकाे हाे ।
सहकारीमा उत्कृष्ट बचत र ऋणको कारोबार गर्ने ४० सदस्यलाई सम्मान गरिएको संस्थाका व्यवस्थापक रमला सापकोटाले बताईन् । कार्यक्रममा सदस्यसँग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा व्यवस्थापक सापकोटाले संस्थाको आर्थिक प्रगतिका साथै संस्थाले गरेका गतिविधिहरुबारे जानकारी गराएकी थिइन् ।
सहकारीले स्थापना दिवसको अवसरमा एक सातादेखी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सहकारीले पाँच दिने सेल्फ मेकअप तालिम, साँचो जीवन निर्माण अभियान कार्यक्रम,भान्छा सुधार अभियान तथा स्वस्थ्य रहने वैज्ञानिक सिद्धान्त कार्यक्रम गरेको थियो । सहकारीले शनिबार सञ्चालक समिति, संस्थापक समिति, विभिन्न उपसमिति, कर्मचारीबीच समीक्षा गर्दै भावी योजना निर्माण गरेको छ ।
यसैगरी सहकारीले सोमबार विहान बृहत रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम र दिउँसो हेटौंडा १० राप्तीतटमा अवस्थित संस्कृत वेद विद्यालयलाई सहयोग हस्तान्तरण गरी स्थापना दिवसकाे कार्यक्रम समापन गरिने संस्थाका अध्यक्ष हरिप्रसाद पौडलले बताए ।
संस्थाका हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएकाे सम्मान कार्यक्रमकाे सहजिकरण सचिव सिताराम दाहालले गरेका थिए ।
मकवानपुर । हातेमालाे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे शेयरपुँजी ६ करोड ३६ हजार १३ हजार ३ सय पुगेकाे छ । २ हजार ७२२ जना सदस्य आवद्ध रहेकाे सहकारीमा २०८१ काे बैशाख मसान्तसम्ममा ५० करोड २४ लाख ६३ हजार ९०२ रुपैयाँ बचत निक्षेप रहेको छ ।
संस्थाले सदस्यहरुलाई ५२ करोड ३४ लाख २७ हजार २६८ रुपैयाँ कर्जा लगानी गरेको सहकारीकाे व्यवस्थापक रमला सापकोटाले बताईन् । सहकारीले १८ औँ स्थापना दिवसको अवसरमा एक सातादेखि विविध कार्यक्रम गर्दै आएकाे छ । यसै अन्तरगत मंगलबार पत्रकारहरुसँग सहकारी कार्यक्रममा यस्ताे जानकारी सार्वजनिक गरिएकाे हाे ।
देशमा सहकारीभित्र हुने अपचलनकाे सवाल चरम भइरहेकाे बेला मकवानपुरकाे हेटाैडा २ मा रहेकाे हालेमालाे सहकारीले नियमित अपनाउँदै आएकाे पारदर्शीताले सहकारीलाई प्रगतीतर्फ डाेर्याएकाे सहकारीका सचिव सिताराम दाहालले बताए ।
सहकारीले सदस्यको सुझाव एवं गुनासो सम्बोधन सहितको सदस्य सेवा, संस्थामा सुचना पाटीको व्यावस्थापन, सदस्य गुनासो पुस्तिका सहित सुझावको व्यवस्था, मोबाईल बैकिङ कारोबारबाट सदस्यलाई नियमित सुचना दिईएको निशुल्क एनएमएस अलर्ट कारोबार बारे जानकारी गराउने गरेकाे छ । यसैगरी फेसबुक मार्फत सुचना तथा गतिविधिको जानकारी, वार्षिक प्रतिवेदन, भित्तेपात्री निशुल्क वितरण,मासिक विवरण फेसबुक, संस्थाको सुचना पाटीमा सार्वजनिक गर्ने गरिएको व्यवस्थापक सापकाेटाले बताइन् ।
सहकारीमा जोखिम, द्धन्द तथा विपद व्यवस्थापन सयंन्त्रको निर्माण, कारोबार डाटा क्लाउडमा व्यवस्थापन, ऋणका फाईलहरु स्क्यान कपी सुरक्षित, साकोसको भौतिक संरचना, उपकरण तथा काउन्टरको विमा,कार्यालयमा सि.सि. क्यामेरा व्यवस्था, कार्यालयमा अग्नि नियन्त्रण यन्त्र व्यवस्था, सम्पत्ति शुद्धिकरण कार्यविधि बनाई लागु गरिएको उपाध्यक्ष केशव धितालले बताए ।
कार्यक्रममा प्रदेश सहकारी विकास बाेर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीले समय सापेक्ष कार्यक्रम र योजनाहरू ल्याउदा लाभदायक हुने बताए ।
मंगलबार भएकाे कार्यक्रममा हेटाैडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, नेफ्स्कुन फिल्ड कार्यालय मकवानपुरका प्रमुख विदुर खड्का, संस्थाका कानुनी सल्लाहकार अरुण खतिवडा, लेखा समिति संयोजक नारायणप्रसाद रेग्मी, प्रशिक्षक यमकुमारी श्रेष्ठलगायतको उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा साताव्यापि कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएकाे थियाे । सहकारीले साताव्यापि कार्यक्रम अन्तरगत सेल्फ मेकअप तालिम,साँचो जीवन निर्माण अभियान कार्यक्रम,भान्छा सुधार अभियान तथा स्वस्थ रहने वैज्ञानिक सिद्धान्त, सञ्चालक समिति, उप समिति, कर्मचारी, संस्थापक तथा पूर्व सञ्चालक समिक्षा बैठक, असल बचतकर्ता र ऋणी सदस्यहरूसँग अन्तरक्रिया, सम्मान कार्यक्रम, रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम, संस्कृत वेद विद्यालयलाई सहयोग हस्तान्तरणलगायतकाे कार्यक्रम गरेकाे अध्यक्ष हरि पौडेलले बताए ।
मकवानपुर । बागमती प्रदेश सभाको लागि नयाँ भवन निमाणार्थ शिलान्यास गरिएको ३ वर्ष ६ महिना वित्यो । तर, अझै निर्माण जारी छ । पछिल्लो टेण्डरको म्याद अझै २ महिना बाँकी छ । यसपछि फर्निचरलगायतको लागि अर्को टेण्डर खोल्नै बाँकी छ ।
१८ महिनामा सम्पन्न गर्नको लागि सम्झौता गरेको निर्माण कम्पनीले ३ वर्ष समय गुजारेपछि भवन निर्माणको समय दोब्बर हुने भएको हो । भौतिक निर्माणको पाटोमा काम गर्नमा सम्झौता गरेको अर्घाखाँची–सगुन–पारामौउत जोइन्ट भेन्चरले झण्डै १५ महिना समय बढी गुजारेको थियो ।
यो कम्पनीले प्रदेशको प्रदेश सभा सचिवालय निर्माणको लागि ४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण पाटो जिम्मा लिएको थियो । वि.स २०७७ मङ्सिर १० गते प्रदेश सभा सचिवालय निर्माणको लागि तत्कालिन सभामुख सानुकुमार श्रेष्ठले भवनको शिलान्यास गरेका थिए। १८ महिनाभित्र अर्थात २०७९ जेठ ९ गते काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएकोमा पटक पटक गरी पछिल्लो पटक २०८० जेठ ३० गतेसम्म म्याद थपिएको थियो तर कम्पनीले २०८० भदौपछि मात्रै काम सकेको बताइएको छ ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार अहिले हलभित्र साउण्ड प्रुफ सिस्टम, टायल्स, मार्वल, विद्युतीकरणलगायतको कामको लागि ३ करोड ९ लाख ५७ हजार १५३ रुपैयाँमा हेटौंडा ११ को सिउँडी निर्माण सेवासँग सम्झौता गरिएको छ । २०८० फागुन २३ गते सम्झौता भए अनुसार हाल फिल्डमा काम जारी रहेको कार्यालयका सब इञ्जिनियर कृष्ण साहले बताए ।
यो भवन निर्माणको लागि हालसम्म कुल ८ करोड ३ लाख ६७ हजार लगानी भइसकेको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय मकवानपुरका सूचना अधिकारी टेकनाथ काफ्लेले बताए ।
बागमती प्रदेश सभाको सचिवालय हाल तत्कालिन क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सञ्चालन भइरहेको छ । अहिले भवनको भित्रीपाटोमा मार्बल विछ्याउने काम भइरहेको छ ।
हाल प्रदेश सभा सचिवालय तत्कालिन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको साँघुरो भवनमा सञ्चालन हुँदै आएको छ । जहाँ ११० सदस्यीय प्रदेश सांसदहरु सबै उपस्थित हुँदा कुर्सी अटाउन नै हम्मेहम्मे पर्छ । यही साँघुरो बैठक कक्षबाट प्रदेश सभाले पहिलो कार्यकाल पूरा गर्यो। भौतिक मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएकोमा हालसम्म उक्त भवन निर्माणको काम सम्पन्न हुन नसकेको हो।
२५० जना क्षमताको निर्माणाधीन बागमती प्रदेश सभा हल तोकिएको समयमा काम सम्पन्न गरेर २०८० वैशाखबाटै नयाँ भवनमा प्रदेश सभा सञ्चालन गर्ने लक्ष्य लिइएको थियो ।
यता, संसद हल नबन्दा बैठक सञ्चालन गर्न कठिन भैरहेको प्रदेश सभा सचिवालयले जनाएको छ । नयाँ भवन बन्नको लागि समय लाग्ने देखिएपछि पुरानो भवनमा मर्मत सुधारको नाममा लाखौं खर्च भइरहेको छ ।
हाल प्रयोगमा रहेको भवन पुरानो संरचनामा बनेको हुनाले यो अपाङ्गमैत्री समेत छैन । हाल रहेका ११० मध्ये १ सांसाद ह्वील चियर प्रयोगकर्ता भएको थाहा पाएपछि राताराता मर्मत गरेर र्याम राखिएको भएपनि रोस्ट्रममा जान सहज नभएको भन्दै सांसद लक्ष्मी घिमिरेले अपाङ्ग मैत्री संरचना नभएसम्म आफू रोस्ट्रममा नै नजाने भनेर सरकारको ध्यानाकर्षण गराउँदै आएकी छिन् ।
रामेछाप जिल्लाबाट समानुपातिक संसदमा निर्वाचित भएकी राप्रपाकी सांसद लक्ष्मी घिमिरेले नीति निर्माण गर्ने तहमै अपाङ्मैत्री संरचनाप्रति चासो नहुनुमा दुख प्रकट गर्दै आएकी छिन् । अहिले बन्दै गरेको भवन भने अपाङ्तमैत्री छ ।
मर्मतको लागि लाखौ खर्च
मकवानपुर । प्रदेश सभाको नयाँ भवन निर्माण सम्पन्न नभएपछि हाल रहेको कार्यालयमा मर्मतको नाममा लाखौं खर्च भएको छ । अघिल्लो कार्याकाल बिताएका सांसदहरुलाई बिदाइ गरेपछि नयाँ सांसदको स्वागतताका सचिवालय हल पुरै नयाँ जस्तै रुप दिइएको थियो । त्यतिबेला अनावश्यक मर्मत कार्यमा १० लाख बढी खर्च गरिएको थियो ।
फेरि हालमा सभामुख भुवनकुमार पाठकले आफ्नो कर्यकक्ष मर्मत सुधारको नाममा झण्डै १० लाख रुपैया लाख खर्च गरेका छन् । प्रदेश सभाको दोस्रो सभामुखका रूपमा गत पुसमा निर्वाचित भएका पाठकले आफ्नो कार्यकक्षलाई अत्याधुनिक रुपमा मर्मत गर्न लगाए । फर्निचर, कार्पेट, वाल फिनिसिङदेखि गलैँचासम्म सुधारको नाममा उक्त खर्च भएको सचिवालयले जनाएको छ । सचिवालय भवनमा संरचना निर्माण तथा मर्मतसुधार शीर्षकको बजेटबाट ९ लाख ८८ हजार ११ सय रुपैयाँमा आर.बी.एस. कन्ट्रक्सनलाई ठेक्का दिइएको थियो। जसमा पुराना संरचना पुरै हटाएर नयाँ डेकोरेसन बनाएइको छ ।
यसैगरी आवासमा ४४ लाख खर्च भएको छ । पाठकले हेटौँडा–१०, राप्तीरोडमा रहेको सरकारी आवास मर्मतका लागि पनि झण्डै ४५ लाख रुपैयाँमा ठेक्का दिइसकेका छन् । कम्पाउन्ड वाल निर्माण, रंगरोगन तथा भित्री सजावट गर्न ४४ लाख ६२ हजार ३० रुपैयाँमा ठेक्का लगाएर काम सुरु भइसकेको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । आवास मर्मत पनि सचिवालय सभा भवनमा संरचना निर्माण तथा मर्मत सुधार शीर्षकको बजेटबाट भइरहेको हो ।
मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेशको आर्थिक कार्यविधि ऐन, २०७४ को दफा ९ मा भएको व्यवस्था बमोजिम विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकताका क्षेत्रहरुबारे सभामा प्रस्तुत गरेका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि प्रदेशको संस्थागत विकास र सबलीकरण, पूर्वाधार विकास, सामाजिक न्याय र मानव अधिकारकृषि क्षेत्रको विकास, सामाजिक क्षेत्र, पर्यटन र सहकारी क्षेत्र औद्योगिक विकास, निजी क्षेत्र प्रवर्धन र रोजगारी सिर्जनालगायतलाई विशेष प्राथमिकताको क्षेत्रको रुपमा बजेट विनियोजन गर्दा प्राथमिकतामा राखिने भएको छ ।
प्रदेशको संस्थागत विकास र सबलीकरण अन्त्रगत प्रदेश सरकारबाट स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण बमोजिमका बाँकी संरचनाहरु क्रमिक रुपमा स्थापना गरिने कार्यलाई प्राथमिकतामा राख्ने बताइएको छ । प्रदेश सरकारका भौतिक संरचनाहरुको निर्माण, जनशक्ति व्यवस्थापन तथा मानव संसाधनको क्षमता विकास गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री, चुस्त र प्रभावकारी बनाइनेछ ।
यसैगरी पूर्वाधार विकास अन्तरगत वस्तुगत आवश्यकता र भौगोलिक सन्तुलनका आधारमा प्रदेश भित्रका पूर्वाधारको विकास गरिनेछ । मन्त्री थपलियाका अनुसार प्रदेश गौरवका आयोजना, बहुवर्षीय आयोजना र अधुरा आयोजना निर्धारित समयमा सम्पन्न गर्न आवश्यक प्रवन्ध मिलाइनेछ । प्रदेश सडक गुरुयोजना स्वीकृत गरी सो अनुसार सडक तथा पुल निर्माण, प्रदेश लोक मार्गको स्तरोन्नति र निर्मित भौतिक संरचनाहरुको नियमित मर्मत सम्भार गर्ने व्यवस्था मिलाइनेछ ।
स्थानीय तहका केन्द्र एवं प्रदेश भित्रका उदीयमान सहरहरुलाई व्यवस्थित गर्न स्थानीय तहसँग सहकार्य तथा समन्वय गरिनेछ । स्थानीय जनताले प्रत्यक्ष लाभ प्राप्त गर्ने, उत्पादन प्रवर्धन हुने, रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना हुने गरी भौतिक पूर्वाधार विकास र स्थानीय आर्थिक क्रियाकलापवीच अन्तरआबद्धता कायम गरिनेछ ।
यसैगरी कृषि क्षेत्रको विकास अन्तरगत कृषि क्षेत्रमा आधुनिकीकरण तथा प्रविधिको प्रयोगमा कृषकको पहुँच बढाउँदै समुदायमा आधारित उत्पादन प्रणाली मार्फत कृषि उपजको उत्पादन वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गरिनेछ ।
माटोको उर्वराशक्ति अभिवृद्धिका लागि जैविक मलमा आधारित खेतीलाई प्रोत्साहित गर्दै लगिनेछ । जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग गरी व्यावसायिक खेतीको प्रवर्धन गरिनेछ । कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरिनेछ । रैथाने कृषि बालीको संरक्षण र उच्च मूल्ययुक्त कृषि उपजको उत्पादनमा लगानी बढाइनेछ । संघीय सरकार र स्थानीय तहसँग समन्वय र सहकार्य गरी कृषि उपजको उत्पादन, सुरक्षित भण्डारण, प्याकेजिङ, ब्राण्डिङ तथा बजारीकरण गरिनेछ । प्रदेशभित्र उपलब्ध युवा जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न कृषि उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी सिर्जना र आयवृद्धि गरिनेछ ।
प्रदेश सरकारले सामाजिक क्षेत्र अन्तरगत आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गरिने,स्वास्थ्य संस्थाहरुको सबलीकरण र प्रादेशिक अस्पतालहरुको सेवा विस्तार मार्फत गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गरिने, नागरिकको मानसिक स्वास्थ्यमा देखिएको बढ्दो समस्यालाई न्यूनीकरण गर्न आवश्यक व्यवस्था गरिने भनिएको छ ।
यसैगरी मातृ–शिशु मृत्युदर कम गर्न आवश्यक प्रबन्ध गरिने, सार्वजनिक विद्यालयहरुको संस्थागत क्षमता अभिवृद्धि मार्फत शैक्षिक गुणस्तर सुधार गर्न स्थानीय तहसँग समन्वय गरिने, प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिइने, आधारभूत तथा गुणस्तरीय खानेपानी सेवा विस्तार एवं सरसफाइ सेवामा लगानी बढाइने, साहित्य, कला, संस्कृति, युवा तथा खेलकुद क्षेत्रको विकास तथा प्रवर्धनमा प्राथमिकता दिइने भनिएको छ ।
यसैगरी पर्यटन र सहकारी क्षेत्र अन्तरगत गुणस्तरीय पर्यटन पूर्वाधार विकास र पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा निजी तथा सामुदायिक क्षेत्रलाई प्रोत्साहन गरिनेछ भनिएको छ । मूर्त एवं अमूर्त मौलिक कला, संस्कृति र ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्वर्धन गर्दै बागमती प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने, सहकारी क्षेत्रको प्रभावकारी नियमन, व्यवस्थापन र विकासको लागि आवश्यक प्रबन्ध गरिने कार्यलाई प्राथमिकता दिइनेछ ।
सामाजिक न्याय र मानव अधिकार तर्फ प्रदेशका स्रोत र साधनमा सीमान्तकृत समुदाय र समूहको पहुँच अभिवृद्धि गर्दै सामाजिक न्याय कायम गरिने,सबै प्रकारका विभेद, कुरीति र पछौटेपनको अन्त्य गरिने, बाल अधिकार, महिला सशक्तीकरण, श्रमको सम्मान र श्रमिकहरुको हकहित सुनिश्चित गरी मानव अधिकार प्रत्याभूत गरिने, आय असमानता न्यून गर्दै गरिबी न्यूनीकरण गर्न उत्पादन र वितरणका कार्यक्रमलाई प्रोत्साहन गरिने भएको छ ।
यसैगरी औद्योगिक विकास, निजी क्षेत्र प्रवर्धन र रोजगारी सिर्जना अन्तरगत औद्योगिक पूर्वाधार विकासमा लगानी अभिवृद्धि गरिने मन्त्री थपलियाले बताए । तहगत समन्वयमा सार्वजनिक जग्गामा आधारभूत औद्योगिक पूर्वाधार निर्माण गरी लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिने, निजी क्षेत्रसँग रहेको सीप, पूँजी र प्रविधिलाई उपयोग गरी घरेलु, साना तथा मझौला उद्योगहरु सञ्चालन गर्न प्रोत्साहन गरिने, स्थानीय तह र निजी क्षेत्रसँगको समन्वयमा स्थानीयस्तरमा उत्पादित वस्तुको प्रवर्धन र ब्राण्डिड्ड गर्दै बजारीकरण गरिने, दक्ष जनशक्ति उत्पादन गर्न व्यावसायिक तथा सीपमूलक तालिमको व्यवस्था र वित्तीय पहुँच विस्तार मार्फत स्वरोजगारीका अवसरहरु सिर्जना गरिनेछ ।
दिगो वन व्यवस्थापन, वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद् व्यवस्थापन कार्यलाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । दिगो वन व्यवस्थापन मार्फत काठ दाउरा उत्पादन, रोजगारीको सिर्जना र वनपैदावारको आयातलाई प्रतिस्थापनमा जोड दिँदै राजस्व अभिवृद्धि गरिने, नदी प्रणालीमा आधारित एकीकृत जलाधार व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ।
सूचना–सञ्चार, विज्ञान–प्रविधि, नवप्रवर्तन र अनुसन्धानमा सूचना तथा सञ्चार क्षेत्रको सन्तुलित विकास, क्षमता अभिवृद्धि र प्रोत्साहन मार्फत नागरिकको सूचनाको हक सुनिश्चित गरिने, सूचना प्रविधिको उपयोग गरी सार्वजनिक सेवा प्रवाहमा नागरिकको सहज पहुँच र गुणस्तर अभिवृद्धि गरिने, विज्ञान प्रविधिको भरपुर उपयोग गर्दै अनुसन्धान, आविष्कार र नवप्रवर्तनको प्रवर्धन गर्ने कार्यलाई पनि प्राथमिकतामा राखिने छ ।
प्रस्तुत सिद्धान्त र प्राथमिकताका आधारमा बजेट तर्जुमा गर्दा नागरिकका अपेक्षा, वस्तुगत आवश्यकता, भौगोलिक सन्तुलन र स्रोत साधनको उपलब्धतालाई मध्यनजर गरिएकोले प्रदेशको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा सघाउ पु¥याउने मन्त्री थपलियाले विश्वास व्यक्त गरे ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तय गर्न नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हक, निर्दिष्ट गरेका राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई मार्गदर्शनको रुपमा लिएको उनले बताए ।
मन्त्री थपलियाले प्रदेश सरकारको आयको अधिकांश हिस्सा राजस्व बाँडफाँट र वित्तीय हस्तान्तरणमा मात्र निर्भर रहेकोले राजस्व संकलनका सम्भावना भएका क्षेत्रहरुको पहिचान, राजस्वका दरहरु समयानुकूल परिमार्जन र राजस्वको दायरा विस्तार गर्दै दिगो आन्तरिक आयमा वृद्धि गर्नु पर्ने बताए ।
स्रोत साधनको वितरण र उपयोगमा गरिब, सीमान्तकृत तथा पिछडिएका वर्गको पर्याप्त पहुँच नपुग्दा गरिबी र बेरोजगारीको समस्या समाधान हुन नसकिरहेको भन्दै मन्त्री थपलियाले प्रदेशमा उपलब्ध स्रोत र साधनको कुशल उपयोग र न्यायोचित वितरण गर्दै प्रदेश भित्र रोजगारी सिर्जना र सामाजिक क्षेत्रको विकास गरी गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर¥याउनु पर्ने औल्याएका छन् ।
विनियोजन विधेयक, २०८१ का सिद्धान्तहरु प्रस्तुत गर्दै मन्त्री थपलियाले संविधानले दिशानिर्देश गरे बमोजिम समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्न सघाउ पुग्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने बताए । यसका लागि सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको सहभागिता तथा सहकार्यमा उत्पादनशील तथा छिटो प्रतिफल दिने, रोजगारी सिर्जना गर्ने र पुँजी निर्माणका क्षेत्रमा लगानी केन्द्रीत गरिने, प्रदेशमा उपलब्ध स्रोत साधनको कुशल एवं दिगो उपयोगमार्फत प्रादेशिक अर्थतन्त्रलाई आत्मनिर्भर एवं गतिशील बनाउन आगामी आर्थिक वर्षको बजेट केन्द्रीत हुने बताए ।
यसैगरी आगामी आर्थिक वर्षको बजेट गुणस्तरीय सार्वजनिक सेवा प्रवाह तथा सुशासन प्रवर्धन, पूर्वाधार निर्माण र सामाजिक विकासका क्षेत्रमा केन्द्रीत हुने, सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम उपयोग गरी सार्वजनिक सेवालाई जनमुखी र नतिजामुखी बनाई सार्वजनिक सेवामा नागरिकको पहुँच अभिवृद्धि गरिने, प्रदेश सरकारको सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तुल्याउन संघीय सरकार र स्थानीय तहसँगको सहकार्य र समन्वयलाई मजबुत बनाइने भनिएका छ ।
यसैगरी समावेशी आर्थिक विकासको आधार तयार गर्न पछाडि परेका क्षेत्र, वर्ग र समुदायको आर्थिक गतिविधिमा सहभागिता सुनिश्चित गरिने, आर्थिक वृद्धि तथा आर्थिक विकासबाट प्राप्त लाभहरुको समन्यायिक वितरण र उत्पादनका साधनमा सीमान्तकृत समूह तथा समुदायको पहुँच अभिवृद्धि गर्दै प्रदेश भित्र आर्थिक असमानता न्यूनीकरण गरिने, कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषिको व्यवसायीकरणमा जोड दिइने बताइएको छ । समुदायमा आधारित कृषि उत्पादन प्रणाली लागू गर्न स्थानीय तह, निजी क्षेत्र र सहकारी क्षेत्रसँग समन्वय र सहकार्य गरिने,कृषिमा आधारित उद्योगको विकास र प्रवर्धन गर्दै कृषि आयमा अभिवृद्धि गरिनेछ भनिएको छ ।
निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास मार्फत रोजगारी सिर्जना गरी जनताको जीवनस्तर सुधार गर्ने तर्फ बजेट केन्द्रीत हुने,गुणस्तरीय र दिगो पर्यटन पूर्वाधारहरुको विकास र प्रवर्धन गरी प्रदेशलाई आन्तरिक एवं वाह्य पर्यटकका लागि एक आकर्षक एवं पहुँचयोग्य गन्तव्य स्थलको रुपमा स्थापित गरिने लक्ष्य लिइएको छ