मकवानपुर । बागमती प्रदेश सभाको लागि नयाँ भवन निमाणार्थ शिलान्यास गरिएको ३ वर्ष ६ महिना वित्यो । तर, अझै निर्माण जारी छ । पछिल्लो टेण्डरको म्याद अझै २ महिना बाँकी छ । यसपछि फर्निचरलगायतको लागि अर्को टेण्डर खोल्नै बाँकी छ ।
१८ महिनामा सम्पन्न गर्नको लागि सम्झौता गरेको निर्माण कम्पनीले ३ वर्ष समय गुजारेपछि भवन निर्माणको समय दोब्बर हुने भएको हो । भौतिक निर्माणको पाटोमा काम गर्नमा सम्झौता गरेको अर्घाखाँची–सगुन–पारामौउत जोइन्ट भेन्चरले झण्डै १५ महिना समय बढी गुजारेको थियो ।
यो कम्पनीले प्रदेशको प्रदेश सभा सचिवालय निर्माणको लागि ४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण पाटो जिम्मा लिएको थियो । वि.स २०७७ मङ्सिर १० गते प्रदेश सभा सचिवालय निर्माणको लागि तत्कालिन सभामुख सानुकुमार श्रेष्ठले भवनको शिलान्यास गरेका थिए। १८ महिनाभित्र अर्थात २०७९ जेठ ९ गते काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएकोमा पटक पटक गरी पछिल्लो पटक २०८० जेठ ३० गतेसम्म म्याद थपिएको थियो तर कम्पनीले २०८० भदौपछि मात्रै काम सकेको बताइएको छ ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार अहिले हलभित्र साउण्ड प्रुफ सिस्टम, टायल्स, मार्वल, विद्युतीकरणलगायतको कामको लागि ३ करोड ९ लाख ५७ हजार १५३ रुपैयाँमा हेटौंडा ११ को सिउँडी निर्माण सेवासँग सम्झौता गरिएको छ । २०८० फागुन २३ गते सम्झौता भए अनुसार हाल फिल्डमा काम जारी रहेको कार्यालयका सब इञ्जिनियर कृष्ण साहले बताए ।
यो भवन निर्माणको लागि हालसम्म कुल ८ करोड ३ लाख ६७ हजार लगानी भइसकेको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय मकवानपुरका सूचना अधिकारी टेकनाथ काफ्लेले बताए ।
बागमती प्रदेश सभाको सचिवालय हाल तत्कालिन क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सञ्चालन भइरहेको छ । अहिले भवनको भित्रीपाटोमा मार्बल विछ्याउने काम भइरहेको छ ।
हाल प्रदेश सभा सचिवालय तत्कालिन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको साँघुरो भवनमा सञ्चालन हुँदै आएको छ । जहाँ ११० सदस्यीय प्रदेश सांसदहरु सबै उपस्थित हुँदा कुर्सी अटाउन नै हम्मेहम्मे पर्छ । यही साँघुरो बैठक कक्षबाट प्रदेश सभाले पहिलो कार्यकाल पूरा गर्यो। भौतिक मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएकोमा हालसम्म उक्त भवन निर्माणको काम सम्पन्न हुन नसकेको हो।
२५० जना क्षमताको निर्माणाधीन बागमती प्रदेश सभा हल तोकिएको समयमा काम सम्पन्न गरेर २०८० वैशाखबाटै नयाँ भवनमा प्रदेश सभा सञ्चालन गर्ने लक्ष्य लिइएको थियो ।
यता, संसद हल नबन्दा बैठक सञ्चालन गर्न कठिन भैरहेको प्रदेश सभा सचिवालयले जनाएको छ । नयाँ भवन बन्नको लागि समय लाग्ने देखिएपछि पुरानो भवनमा मर्मत सुधारको नाममा लाखौं खर्च भइरहेको छ ।
हाल प्रयोगमा रहेको भवन पुरानो संरचनामा बनेको हुनाले यो अपाङ्गमैत्री समेत छैन । हाल रहेका ११० मध्ये १ सांसाद ह्वील चियर प्रयोगकर्ता भएको थाहा पाएपछि राताराता मर्मत गरेर र्याम राखिएको भएपनि रोस्ट्रममा जान सहज नभएको भन्दै सांसद लक्ष्मी घिमिरेले अपाङ्ग मैत्री संरचना नभएसम्म आफू रोस्ट्रममा नै नजाने भनेर सरकारको ध्यानाकर्षण गराउँदै आएकी छिन् ।
रामेछाप जिल्लाबाट समानुपातिक संसदमा निर्वाचित भएकी राप्रपाकी सांसद लक्ष्मी घिमिरेले नीति निर्माण गर्ने तहमै अपाङ्मैत्री संरचनाप्रति चासो नहुनुमा दुख प्रकट गर्दै आएकी छिन् । अहिले बन्दै गरेको भवन भने अपाङ्तमैत्री छ ।
मर्मतको लागि लाखौ खर्च
मकवानपुर । प्रदेश सभाको नयाँ भवन निर्माण सम्पन्न नभएपछि हाल रहेको कार्यालयमा मर्मतको नाममा लाखौं खर्च भएको छ । अघिल्लो कार्याकाल बिताएका सांसदहरुलाई बिदाइ गरेपछि नयाँ सांसदको स्वागतताका सचिवालय हल पुरै नयाँ जस्तै रुप दिइएको थियो । त्यतिबेला अनावश्यक मर्मत कार्यमा १० लाख बढी खर्च गरिएको थियो ।
फेरि हालमा सभामुख भुवनकुमार पाठकले आफ्नो कर्यकक्ष मर्मत सुधारको नाममा झण्डै १० लाख रुपैया लाख खर्च गरेका छन् । प्रदेश सभाको दोस्रो सभामुखका रूपमा गत पुसमा निर्वाचित भएका पाठकले आफ्नो कार्यकक्षलाई अत्याधुनिक रुपमा मर्मत गर्न लगाए । फर्निचर, कार्पेट, वाल फिनिसिङदेखि गलैँचासम्म सुधारको नाममा उक्त खर्च भएको सचिवालयले जनाएको छ । सचिवालय भवनमा संरचना निर्माण तथा मर्मतसुधार शीर्षकको बजेटबाट ९ लाख ८८ हजार ११ सय रुपैयाँमा आर.बी.एस. कन्ट्रक्सनलाई ठेक्का दिइएको थियो। जसमा पुराना संरचना पुरै हटाएर नयाँ डेकोरेसन बनाएइको छ ।
यसैगरी आवासमा ४४ लाख खर्च भएको छ । पाठकले हेटौँडा–१०, राप्तीरोडमा रहेको सरकारी आवास मर्मतका लागि पनि झण्डै ४५ लाख रुपैयाँमा ठेक्का दिइसकेका छन् । कम्पाउन्ड वाल निर्माण, रंगरोगन तथा भित्री सजावट गर्न ४४ लाख ६२ हजार ३० रुपैयाँमा ठेक्का लगाएर काम सुरु भइसकेको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । आवास मर्मत पनि सचिवालय सभा भवनमा संरचना निर्माण तथा मर्मत सुधार शीर्षकको बजेटबाट भइरहेको हो ।

