मकवानपुर । बागमती प्रदेश सभामा संसदीय विशेषाधिकार समितिको गठन भएकाे छ । प्रदेश सभाको शनिबार अपराह्न बसेको बैठकले उक्त समिति गठन गरेकाे हाे ।
विशेषाधिकार समितिमा कृष्णप्रसाद शर्मा खनाल, कृष्णप्रसाद सिलवाल, गिरबहादुर तामाङ, गोविन्द प्रसाद लम्साल, जयराम थापा, देवेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रभात तामाङ, बिन्दु श्रेष्ठ, मायादेवी शर्मा, रत्नप्रसाद ढकाल, राजु विष्ट, राकृष्ण चित्राकार, सुस्मा भुजेल न्यौपाने, सरिता खड्की, सुना परियार र सुरेन्द्रराज गोरसाईँ रहेका छन् ।
बैठकमा प्रदेश सभाका सदस्य रत्नप्रसाद ढकालले नेपालको संविधानको धारा १९३ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १६७ को उपनियम १ बमोजिम उक्त समितिको सदस्यहरुको नाम प्रस्तावित गरेका थिए । ढकालकाे प्रस्तावलाई सदस्यहरु गोविन्द्र प्रसाद लम्साल, मधुसुदन पौडेल, कुमारी तामाङ र कृष्णप्रसाद शर्मा खनालले समर्थन गरेका थिए । विशेषाधिकार समितिको अनुमोद गरेको सभामुख भुवनकुमार पाठकले घोषणा गरेका थिए ।
यस्तै, सभामुख पाठकले दुई वटा समितिको सदस्य हेरफेर गरेको घोषणा गरे । उनले प्रदेश मामिला समितिमा रहेका आनन्द कुमार श्रेष्ठलाई उद्योग, पर्यटन तथा वातारवण समितिमा र उद्यो, पर्यटन तथा वातावरणमा रहेका प्रेमभक्त महर्जनलाई प्रदेश मामिला समितिमा हेरफेर गरेको घोषणा गरेका हुन् । सभामुख पाठकले प्रदेश सभा नियमावली २०७४ को नियम १५० बमोजिम उनीहरुलाई समिति सदस्यमा हेरफेर गरे ।
बागमती प्रदेशमा दलहरु बिच भागवण्डा मिलाउन संसदीय समिति थप गरिएकाे थियाे । सत्तापक्ष र प्रतिपक्ष बीच संसदीय समितिकाे सभापति चयनमा सकस रहेकाे बेला पाँच वटा समिति रहेकाे प्रदेश सभामा १ थप गरी छ वटा बनाइएकाे हाे ।
४ वटा संसदीय समितिको सभापति चयन
बागमती प्रदेशसभामा रहेका ६ वटा मध्ये तीन वटा संसदीय समितिका लागि सभापति चयन भएका छन् । शनिवार भएको निर्वाचनबाट प्रदेश मामिला, सार्वजनिक लेखा र शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति सर्वसम्मत चयन भएकाे हाे ।
प्रदेशसभामा रहेका दलहरुबीचको भागबण्डा अनुसार प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका छिरिङ दोर्जे र सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसकै श्रीराम लामिछाने सर्वसम्मत रुपमा चयन भएका छन् । शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल चयन भएका छन् ।
यसैगरी अर्थ तथा विकास समिति सभापतिमा राप्रपाका नुरज बज्राचार्य सभापति चयन भएका छन् । शुक्रबार भएको मनोनयनमा उक्त समितिको सभापतिमा बज्राचार्यको मात्र उम्मेदवारी परे पछि उनी निर्विराेध भएका हुन् । एमालेको भागमा परेको उद्योग, पर्यटन तथा वातावरण समिति र शनिबार प्रदेश सभाले गठन गरेको विशेषाधिकार समितिको निर्वाचन भने सोमबार बिहान १० बजेका लागि तोकिएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । उक्त समितिकाे सभापति चयनका लागि उम्मेदवारी दर्ताकाे समय आइतबार अपरान्ह ३ देखि ५ बजेसम्म तोकिएको छ ।
उद्योग, पर्यटन तथा वातावरण समितिमा एमालेले रामेछापका आनन्दकुमार श्रेष्ठलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेकपा एकीकृत समाजवादीको भागमा परेको विशेषाधिकार समितिमा धादिङकि माया देवी शर्मा उम्मेद्वार बन्ने बताइएकाे छ । सात दलकाे प्रतिनिधित्व रहेकाे प्रदेश सभामा ३ सदस्य रहेकाे नेपाल मजदुर किसान पार्टी र १ सदस्य रहेकाे हाम्रो नेपाली पार्टीले भने संसदीय समितिमा सभापति नपाउने भएका छन् ।
पाँच वटा संसदीय समितिमा १ थप गरी छ वटा बनाइने गरी भएकाे सहमती अनुसार प्रदेश मामिला र सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसकाे भागमा परेकाे हाे । यस्तै राप्रपाले अर्थ तथा विकास समिति, एमालेले उद्योग बन तथा वातावरण समिति, एकीकृत समाजवादीले प्रदेश विशेषाधिकार समिति र माओवादी केन्द्रले शिक्षा, स्वास्थ्य तथा कृषि समिति समितिको नेतृत्व गर्नेछ ।

