केराकाे बाेटबाट कागज उत्पादन, मन्त्री तामाङले लिइन् चासो
Tags: No Comments
मकवानपुर । पछिल्लो समयमा नेपाली युवाहरु बाध्यताले वा रहरले विदेशीने क्रम बढ्दो छ । आर्थिक अवस्था तथा विविध परिस्थितिले युवाहरु विदेशीने तथा उतै रमाउने गरेका समयमा मकवानपुरका एक जना युवा नेपाल मै सम्भावना देख्दै स्वदेश फर्किएर स्वरोजगार बन्दै छन् ।
केही गर्ने इच्छाशक्ति भए स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण मकवानपुरका प्रेम प्रसाद तिमल्सिना (कुवेर) ले दिएका छन् । सम्भावना देख्न र सदुपयोग गर्न सके स्वदेश मै श्रमकाे उपयोग गर्दै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण बनेका हुन् तिमम्सिना । १२ कक्षासम्म अध्ययन गरेर घरको आर्थिक अवस्थाका कारण रोजगारीको सिलसिलामा सन् २०११ मा विदेसिएका थिए उनी ।
८ वर्षकाे समय वैदेशिक रोजगारीमा बिताएर यहाँ गर्ने श्रमलाई स्वदेश मै लगाउन पाए केही गर्न पक्कै सकिन्छ भनि नेपाल फर्किएका मकवानपुरगढी गाउँपालिकाका तिमल्सिनाले केराको बाेटलाई उपयोग गर्दै कागज उत्पादन गर्दै आएका छन् । सन् २०११ देखि साउद अरबमा ड्राइभिङ गरेर ८ वर्ष बिताएर फर्किएका मकवानपुरगढी गाउँपालिका–३ का तिमल्सिनाले युट्युबमा हेरेकै भरमा नेपाली हाते कागज उद्योगबाट नेपाली कागज उत्पादन शुरु गरेका हुन्।
नेपालमै श्रम पसिना बगाएर केही गर्छु भन्ने हुटहुटी बोकेर फर्किएका तिमल्सिनाले काठमाडौंमा केही समय ट्याक्सी चलाए । आफैंले किनेर ५ वर्ष ट्याक्सी चलाए पनि कोरोना महामारीका कारण लकडाउन भयो । ‘नेपालमै केही गर्नु पर्छ सधैं विदेशी भूमिमा श्रम गरेर हुदैंन भनेर नेपाल फर्किएको कोरोनाकाे कारण भएकाे लकडाउनमा ट्याक्सी व्यवसाय पनि नराम्ररी प्रभावित भयो’ उनले भने ।
ट्याक्सी व्यवसाय प्रभावित भएपछि १८ महिने भेटेनरीसम्बन्धी अध्ययन गरेकाे बताउने उनले बाख्रापालन व्यवसाय थाले । बिचौलियाको हातबाट बिक्री गर्नुपर्दा उनलाई बाख्रापालनमा पनि चित्त नबुझेपछि उनलाई गाउँमै बसेर केही गर्नुपर्छ भन्ने लागेकाे बताउँछन् । ८ वर्ष विदेशमा बस्दा उनलाई आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने कुराले मन पिरोलिरहन्थ्यो। ‘विदेशमा मेरो काम राम्रै थियो तर मलाई आफ्नै देशमा केही गर्नुपर्छजस्तो लागेर ८ वर्षपछि स्वदेश फर्किए’ उनले भने ।
युट्युबमा हेर्दै जाँदा केराको थामबाट धागो, कागज, कपडालगायतकाे वस्तु उत्पादन गर्न सकिने थाहा पाएपछि केराको बोटबाट कागज उत्पादन शुरु गरेको उनी बताउँछन् । ‘ हाम्राे गाउँघरमा धेरै केराखेती हुन्छ। केराकाे घरी बेचिसकेपछि त्यसको बोट काटेर फाल्छौं तर यसलाई उपयोगमा ल्याउन सके धेरै कुरा बनाएर सदुपयोग गर्न सकिने रहेछ’ तिमल्सिनाले भने, ‘युट्युबमा हेरेर मैले थाहा पाएपछि यसलाई सदुपयोग गर्नुपर्छ भनेर उत्पादन गर्न थालेँ।’
करिब डेढ महिना अघिबाट ३ लाख रुपैयाँको लगानीमा कागज उत्पादन गर्न थालेका तिमल्सिनाले हालसम्म उद्योगमा ७ लाख लगानी गरिसकेका छन्। छोटो समयमै कागज उत्पादन थालेको उनको नेपाली कागज गढी गाउँपालिकाले ५ हजार पिस खरिद गरिसकेको छ। वार्षिक ५० हजारसम्म नेपाली कागज खरिद गर्दै आइरहेको गाउँपालिकाले स्थानीयले उत्पादन गरेको कागज खरिद गर्ने आश्वासन दिएकाे उनले बताए। उनले हालसम्म १ लाख रुपैयाँको कागज बिक्री गरिसकेका छन् भने कागज खरिदका लागि अर्डर आउने थालेकाे तिमल्सिनाले बताए।
पहिलो प्रयासमै कागज उत्पादन गर्न सफल भएपछि यसलाई अझै व्यवस्थित ढंगले अघि बढाउने उनले बताए। केराको थामबाट रेशा निकाल्ने र त्यसलाई पकाएर सफा गरेर घाममा सुकाएपछि नेपाली कागज बन्ने उनले बताए। तिमल्सिना केराबाट बनेको कागजलाई ब्राण्ड बनाउने सोच रहेको बताउँछन्। केराबाट बन्ने वाइन, कपडा, चिप्स, धागो, ग्रिन पाउडरलगायत सबै उत्पादन गरेर खेर गएको केराको बोटको महत्व बुझाउन मेशिनसहितको ठूलो उद्योग स्थापना गरेर गाउँपालिकाका १५/२० जनालाई रोजगारी दिने उनको लक्ष्य छ।
‘नेपालमा केही पनि छैन भनेर युवाहरु विदेश जान्छन् तर गर्न जाने नेपालमा पैसै पैसा छ,’ उनी भन्छन् ‘नेपालमा जस्तो अवसर कहीँ छैन‚ मात्रै सम्भावना देख्न र सदुपयोग गर्न सक्नुपर्छ।’
तिमल्सिनाकाे उद्योगमा मन्त्रीकाे चासो

मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ३ मा अवस्थित रहेको तिमल्सिनाले सुरु गरेको नेपाली हाते कागज उद्योगकाे बागमती प्रदेशका एक जना मन्त्रीले चासो लिएकी छिन् । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकुमाया तामाङले उक्त उद्योगकाे अवलाेकन गर्दै चासो लिएकी हुन् । उद्योगमन्त्री तामाङ नेपाली हाते कागज उद्योगले कागज निर्माण गर्ने प्रक्रियासँगै उद्योगको अवस्था अवलोकन गरेकी हुन् ।
उनले कागज उद्योगको प्रवर्धन गर्दै, प्रदेश सरकारबाट आवश्यक सामग्री र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री तामाङले कागजको निर्माणलाई थप प्रोत्साहन गर्दै, नेपाली हाते कागजको प्रयोगलाई बढावा दिनका लागि मन्त्रीस्तरीय बैठकमा यस विषयमा छलफल गर्ने जानकारी दिइन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा आयोजना हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन संघीय गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ मकवानपुरकाे आयोजनामा १० वर्षपछि हुन लागेको महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने संघ अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए ।
६ फागुन ६ देखि १८ फागुनसम्म आयोजना हुने महोत्सव संघ मकवानपुरकाे भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गर्न लागिएकाे उनले बताए ।
महोत्सवमा ३५० स्टल रहने छन् । जसमा निर्माण उपकरण, औद्योगिक उत्पादन, हस्तकला, महिला उद्यमीका सामग्रीहरू प्रदर्शनी तथा बिक्री गरिने छ। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई स्टल भाडामा ५० प्रतिशत छुट दिइने संघ महासचिव राजेन्द्र चौलागाईंले जानकारी दिए ।महोत्सवले निर्माण सामग्री उत्पादक, बिक्रेता र उपभोक्ताबीच समन्वय बढाउने बताइएकाे छ। यसले गुणस्तरीय प्रतिस्पर्धा गर्दै व्यवसायीहरूबीच अन्तरक्रिया तथा चुनौतीबारे छलफलको अवसर समेत प्रदान गर्ने आयोजकले विश्वास लिएकाे छ ।
महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएकाे छ। गायन क्षेत्र प्रवर्द्धन गर्न ‘हेटौँडा आइडल’ प्रतियोगिता आयोजना हुनेछ । जसमा मकवानपुरका प्रतिभाहरूकाे प्रस्तुति रहनेछ।
महोत्सवका लागि २ सय ५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको संघले जनाएकाे छ । यस अघि संघले २०७१ सालमा महोत्सव आयोजना गरेको थियो ।
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ ।
निर्माण व्यवसायी महासंघको सहयोगमा आगामी फागुन महिनामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को आयोजना गर्न लागिएको संघले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । १० वर्षपछि हुन लागेको दोस्रो संस्करणको महोत्सव ६ फागुन देखि १८ फागुन २०८१ सम्म हुने निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए ।
महोत्सव तथा प्रदर्शनी निर्माण व्यवसायसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुऱ्याउने उद्देश्यका साथ आयोजना गर्न लागेको उनले बताए । महोत्सव निर्माण सामाग्री उद्योगी, विक्रेता र उपयोगकर्ताबीच सोझो सम्पर्कको स्थापना गराई व्यवसाय वृद्धि गर्ने, उत्पादित बस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, निर्माण उद्योगी र व्यवसायीहरुका वीच समस्या, अवसर र चुनौतीबारे अन्तक्रिया गर्ने र स्थानीय औद्योगिक, निर्माणलगायत उत्पादन तथा सेवाहरुको विशेष प्रवर्धनमा सहयोग पुऱ्याउने उद्देश्यले आयोजना गरिएको अध्यक्ष कडेलले बताए ।
महोत्सवमा निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौति, अवसरका बारेमा छलफल, गोष्ठीलगायतका अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना गरिने छ । नेपालमा क वर्गका निर्माण व्यवसायी सहभागी भई सरोकारवालासमेतको सहभागितामा हुने छलफल, गोष्ठीका निष्कर्षहरु बाट नीति निर्मातालाई ध्यानाकर्षण गराइने कंडेलले बताए । महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरणहरु र निर्माण सामाग्रीहरुको प्रदर्शनी, विक्री र प्रदर्शनीमा विशेष जोड दिइने अध्यक्ष कंडेलले जानकारी दिए ।
महोत्सव अवधिमा निर्माण उद्योग क्षेत्रका नयाँ सम्भावनाको खोजी, सान्दर्भिक गोष्ठी, अन्तक्रिया र कार्यशालालाई विशेष जोड दिइने छ भने निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरुका राय, सल्लाह तथा सुझावहरु संकलन गरिने बताइएको छ।
महोत्सवमा निर्माण उपकरण, निर्माण सामाग्री, औद्यौगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामाग्रीलगायत स्थानीय उत्पादन गरी ३५० स्टल रहने छन् । यस्तै गायन क्षेत्रको आइडल र मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति समेत रहने बताइएको छ ।
मकवानपुर । यातायात व्यवासायी उपभोक्ता सहकारी संस्थाले व्यवसाय बृद्धि गर्न बैकल्पिक व्यवस्था गर्ने भएकाे छ । सहकारीकाे शनिबार हेटौंडामा भएको १६ औं वार्षिक साधारणसभाले व्यवसाय बृद्धि गर्न बैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको हाे ।
साधारणसभा उद्घाटन गर्दै नारायणी यातायात व्यवसायी संघ तथा नेपाल ट्रक ब्यवसायी महासंघका अध्यक्ष हीरालाल श्रेष्ठले २०७५ पछिका दिनमा नेपालमा सबैखाले व्यवसायमा समस्या आएको बताउँदै सहकारीले मोटर पार्टस्, लुब्रिकेन्ट्स, टायर आदिको बजारमूल्य नियन्त्रण गर्न महत्वपूर्ण योगदान गरिरहेको दाबी गरे । सहकारीले सरल मूल्यमा पार्टस् तथा टायर सवारीधनी उपभोक्तालाई उपलब्ध गराएकै कारण बजारमूल्य नियन्त्रणमा रहेको भन्दै सहकारीका सल्लाहकार समेत रहेका श्रेष्ठले यातायात ब्यवसायी बचाउन पनि सहकारी सक्षम हुनुपर्ने बताए ।
सहकारीका अध्यक्ष किरण पौडेलले २०६ जना सेयर सदस्य मिलेर १६ वर्षअघि स्थापना गरेको सहकारीमा पछिल्ला वर्ष सदस्य छोड्ने प्रबृत्ति बढ्दै गएर हाल एक सय १५९ मात्रै कायम भएकाे बताए । यातायात व्यवसायीले आफ्नो सवारी साधनमा गुणस्तरीय पेट्रोलियम, टायर, लुब्रिकेन्टस् र स्पेयर पार्टस् प्रयोग गर्ने वातावरण सहकारीले उपलब्ध गराएको स्पष्ट पार्दै अध्यक्ष पौडेलले सहकारीका ५० भन्दा बढी सेयर सदस्यले ९५ लाख रुपैयाँ भन्दा बढी रकम लामो समयदेखि उधारो नतिरेका कारण चालुपूँजी नै अभाव भएको बताए ।
सहकारीका पूर्वअध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले यातायात व्यवसाय नै संकटमा परिरहेको अवस्थामा सहकारी संस्थामा समस्या आउनु सामान्य मान्दै संघसँग सहकार्य गरी आगामी दिनमा प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा सेयरसदस्य बद्रीप्रसाद चौलागाई, सहकारीका कोषाध्यक्ष कुमार बर्तौलाले सहकारीले सोचेअनुरुप लगानीको प्रतिफल प्रदान गर्न नसकेको गुनासो गरेका थिए ।
गत आर्थिक वर्षमा सहकारीले गोसाईकुण्ड आयल सेन्टरतर्फ २३ करोड ४४ लाख ८५ हजारको कारोबार गरी एक लाख ३८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यस्तै सहकारीले संचालन गरेको मोटरपार्टसबाट ३ करोड १८ लाख ९४ हजार रुपैयाँको कारोबार गरी ६ लाख ३५ हजार रुपैयाँ मुनाफा गरेको प्रतिबेदनमा छ । सहकारीमा हाल १० जना कर्मचारी रहेका छन् ।
सहकारीले मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष प्रमोदसिंह रानाभाट र सचिव कुलप्रसाद चौलागाईंलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेको थियो । साधारण सभामा सहकारीका सल्लाहकार सरोजकुमार खनाल, अर्जुन शर्मा कडेंल, नारायणी पेट्रोलियम बिक्रेता संघका अध्यक्ष उत्सव ईटेनी, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । प्रतिनिधि सभा सदस्य महेश बर्ताैलाले मुलुककाे औद्योगिकरणको लागि नीति निर्माण तहमा छलफल र बहस गर्न जरुरी भएको बताएका छन् । उद्योग संघ मकवानपुरकाे २३ ओैँ साधारण सभालाई सम्बोधन गर्दै नेकपा एमाले प्रमुख सचेतक समेत रहेका बर्तौलाले उक्त कुरा बताएका हुन् ।
बर्तौलाले अर्थतन्त्र चलायमान, वित्तिय अनुशासन, राेजगारी सिर्जना लगायत उठान हुने सम्पूर्ण समस्या देशकै प्रमुख समस्या भएको बताए । ‘मकवानपुरमा हामी के के गर्नु पर्ने हाे, अर्थतन्त्र परिचालन, रोजगारी सिर्जना गराउनु पर्ने नीतिगत कुराहरु के के हुन भन्ने कुराकाे उठान गराै’ उनले भने ‘ सम्पूर्ण नेतृत्व तहमा साझा धाराणा बन्दैन ।’ ‘हेटौंडा केन्द्रीय राजधानीकाे नजिक तथा प्रदेशकाे राजधानी भएर पनि साझा दृष्टिकोण बनाउन नसक्नु मकवानपुरको दुर्भाग्य भएकाे उनले बताए ।
समस्याहरुलाई एकठाउँमा ल्याउँ, हेटौंडा सिमेन्ट उद्योग काेमामा छ, अनिवार्य दायित्वकाे हिसाबले ६५ कराेड सरकारले दिनुपर्ने अवस्था छ याे स्थितिमा किन आइपुग्याे ? उनले प्रश्न गरे । यसबारे बहस हुन जरुरी रहेको उनले बताए । ७२ सालमा उठेकाे मयुरधाप ओैधाेगिक क्षेत्रकाे बिषयमा कुरा उठ्याे तर हालसम्म पनि कुनै काम हुन सकेन किन त ? उनले प्रश्न गरे । ‘नाै बर्षपछि कार्यकाे अन्तिम तहमा पुग्ने बेलामा १३ दिन अघि वन सचिवले उक्त क्षेत्र मध्यवर्ती क्षेत्रमा पर्छ । हेटौंडा औद्योगिक क्षेत्र हुदा हुँदै किन चाहियाे भन्ने निर्णय भएको पत्र काटिएको छ’ उनले बताए ।
विजनेशकाे नेतृत्व प्रशासन संयन्त्रले गरेकाेले राजनितिक संयन्त्रले त नीतिगत कुरामा मात्र ध्यान दिने उनले बताए । ‘एउटै कारणले मध्यवर्ती क्षेत्रले मात्रै मयुरधाप औद्योगिकक्षेत्र निर्माणमा अवराेध सिर्जना गरेकाे छ’ उनले बताए । २०२८ सालबाट सुरु भएकाे मध्यवर्ती क्षेत्र भनेकाे आम नागरिकलाई वन पैदावरमा सहज पहुँच हाेस भनी सिर्जना गरिएकाे उनले बताए । ‘तर हेटौंडा १२, १३, १४ र १५ वडामा मध्यवर्तीकाे नाममा अनेक गतिविधि बढिरहेकाे प्रति मयुरधाप ओैधाेगिक क्षेत्र बन्द हुने अवस्था सिर्जना हुन नदिने उनले बताए ।
अस्थिर राजनीतिले सबैभन्दा धेरै मारमा उद्योग व्यवसाय परेको र लगानी डुबेको बताउँदै बर्तौलाले भने, लागनी मैत्री वातावरण बन्न सकेन, उद्योग व्यवसायी निराश छन् ।’ लगानी सुरक्षा सरकारले गर्न नसकेको बताउँदै प्रशासनिक झमेलाका कारण उद्योग खाेलेर उत्पादन गर्ने ठाउसम्म पुग्न समस्या रहेको उनले बताए ।
जनैतिक अस्थिरताका कारण नीति बनाउने, बजेट निर्माण गर्ने र कार्यान्वयन गर्ने बेला सरकार फरक फरक हुँदा हुँदा समस्या भएको उनले बताए । ‘मकवानपुरका उद्योग व्यावसायीकाे हकहितका आफूले सकेको काम गर्ने उनले बताए ।
उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रिनाथ शर्माकाे सभाध्यक्षता तथा नेकपा एमालेका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य महेश बर्ताैलाकाे प्रमुख आतिथ्यतामा भएको साधारण सभामा रास्वपा प्रतिनिसभा सदस्य बिन्दाबासिनी कसंकार, नेकपा एमालेका नेता संविधान सभा सदस्य अन्नत पाैडेल, मकवानपुर उद्योग संघका उपाध्यक्ष श्रीहरि मास्के, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कुमार गुप्ता, पत्रकार महासंघ मकवानपुर अध्यक्ष वालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।